
– लीलबहादुर क्षेत्री
“जोसेफ पुंग । तिमी त पुंग जातिका मानिस हौइनौ । तिमी मेरो बोली पनि नबिराई बोल्छौ । मैले तिमीलाई राम्ररी चिनें । चिउँडामा लागेको संगीनको खत र टाउकामा सिउरिएका दुईवटा गिद्दका प्वाँखले तिमीलाई जोसेफ पुंग पार्ला तर चानमारीको पुछारमा बस्ने गगनबहादुर घलेलाई त्यो खत र प्वाँखले मेरो नजरबाट ओझेल गर्न सक्तै सक्तैनन् ।”
जोसेफ पुंगले आफ्नो वरिपरि पल्याकपुलुक हेर्यो । छेउछाउमा कसैलाई नदेखेर त्यस व्यक्तिको चेहरातिर सोझै हेर्यो, हेरिरह्यो । निकै बेरपछि उसले भन्यो, “के साँच्चै नै तिमी दानवीर सुबेदार नै हो त ? ओहो ! हामीले अघि पनि त्यति बाक्लै एक–अर्कालाई देखेका होइनौं तर कसरी यति सजिलै एक–अर्कालाई चिन्न सक्यौं ? रगतले रगतलाई चिन्ने नै रहेछ क्यार ?”
“तर हेर सुबेदार ! म त अब जोसेफ पुंग नै हुँ । घले त म¥यो र त्यसैको चिहानबाट पलाएको म पुंग । तर, यहाँ धेरै बेर कुरा गर्न ठीक छैन । इनले देख्लान् भन्ने डर छ । जाऔं ऊ त्यो झाडीमा । त्यहाँ बस्नलाई हरियो चउर छ । मुटु पोख्न सकिने ठाउँ हो त्यो ।”
दुबैजना लालफूल घारीभित्र पसे औ एउटा कुइनेटो परेको ठाउँमा गएर बसे । सुबेदारले भन्यो, “अनि कसरी तिमी पुंग भयौ त ? तिमी त विद्रोही पुंगहरूसित मिसिएका थियौ रे ? आज ती गुप्ती पुंगहरूमध्ये धेरैले आत्मसमर्पण गरिसकेका छन् । आत्मसमर्पण गर्ने साथै धेरैले धेरैधेरै थोक पाए । धन पाए, मान पाए, ऐश कमाए । तिमी पनि पुंग भएर निस्किसकेपछि केही त फेला पर्यो होला ?”
जोसेफले लामो सास तानेर भन्यो, “हो । फेला पर्यो । जीवनको भीख पाएँ । बाँचेकै छु, त्यो के कम र ?”
सुबेदारले बीचैमा अर्को प्रश्न राख्यो, “होइन, हाम्रा गोर्खा जवान पनि निकै जसो विद्रोहमा लागेका थिए नि ! तिनले त आत्मसमर्पण गरेको पनि थाहा पाइएन, के भो ?”
“विद्रोहमा लागेका थिएनन्, विद्रोहमा लाग्न बाध्य भएका थिए, मैजस्तो,” जोसेफ निकै उत्तेजित भयो ।
“नाथु ! आफैंलाई कनिका खान नपुग्ने चार ठाउँ बसेको चोक्टो लिएर ठूलो हुकुमसित अलगिन खोज्ने विद्रोहमा हामी के देखेर हामफाल्ने ? ठूलो रुखको आड लागे एक झरी ओतिन्छ । ठूलोबाट चुँडिएर, मैले स्वराज पाएँ भन्नु समुद्रको विस्तृत घेराबाट कुवाँमा हामफाली, यसको सेरोफेरो मेरो भनेर रमाउनुजस्तै हो । त्यो जानेर पनि हामी आफ्नै साजे दरबार भत्काएर सानो कठरीभित्र छिर्ने विद्रोह गर्न बाध्य भयौं ।”
“तिम्रा कुरामा निकै रहस्य भएझैं लाग्छ घले ! तिम्रो हृदय खोलेर राख । मसित डराउनु पर्ने केही पनि छैन,” सुुबेदार गम्भीर बन्यो ।
जोसेफले भन्यो—
“खोल्छु, हृदय खोल्न नै तिमीलाई यहाँ ल्याएको हो । मुटुभरि सास तान्न मन छ मलाई । मुटुको व्यथा अलि कम्ती हुन्छ कि ? सुबेदार ! तिमीलाई त थाहा नै छ, घरैको छेउमा विद्रोही पुंगहरूका घर अखडाहरूमध्ये एउटाचाहिँ अखडा थियो । उनीहरू रातिराति गाउँमा आउँथे । हामीसित रुपियाँ, पैसा, अन्न जे पनि उनीहरूलाई चाहिन्थ्यो, माग्थे, अथवा भनौं लुटेर लान्थे । हामीलाई उनीहरूसित सामेल हुन उक्साउँथे ।
उनीहरू मलाई भन्थे, ‘हाम्रो स्वराजको विद्रोहमा तिमी मिस । हुकुमविरुद्ध लड्न हाम्रो सेनामा भर्ना होऊ । तिम्रा जहान, बालबच्चा हेरचाह गर्ने हामी जिम्मा लिन्छौं । स्वराज पाएपछि हाम्रो आफ्नै हुकुम हुनेछ, आफ्नै गद्दी हुनेछ । तिमीलाई हामीले यही भूमिको मान्छे सम्झेका छौं । स्वराज पाएपछि तिमीलाई समान अधिकार मिल्नेछ, हाम्रैसरह ।”
जोसेफ एकछिन थामियो ।
“त्यसपछि ?” सुबेदारले आफ्नो जिज्ञासा व्यक्त ग¥यो ।
“एक रात म छोराछोरीलाई सुताएर आफू पहरा बसेको थिएँ । कुनै समय यी विद्रोहीहरूले घरमा आगो झोस्न पनि सक्छन् । त्यसैले म आधी रात गएमात्र सुुत्ने गर्थें । गाउँमा जगजगी थियो । बाहिर खस्राक–खुस्रुक सुनियो । मैले दैलोको प्वालबाट चियाएँ । ती विद्रोही पुंग थिए, सधैं आउने गरेका थिए । चारजनाको हातमा चुप्पी थियो, दुईजनाको हातमा पिस्तोल ।
एकजनाले भन्यो, ‘तिमी आजै हामीसित मिसिनु पर्छ । हाम्रो लडाइँ निकै मच्चिएको छ । हिजो राति हाम्रा ठूलो केप्टेन मारिए । हाम्रा राष्ट्रपति पनि हिजोदेखि बेपत्ता भएका छन् । तिमीहरू यही भूमिमा बस्छौ भने हामीलाई सघाऊ । होइन भने तिम्रो परिवारसहित हामी तिमीलाई यही माटोमा मिलाउन आएका छौं ।’
मैले भनें, ‘हामी स्वाधीन देशको नागरिक । फेरि कस्तो स्वराज हामीले लिने ? कसबाट लिने ? म पनि यही धर्तीको सन्तान हुँ र यो देशको निम्ति जुनसुकै राम्रो काममा सघाउनमात्र होइन, बलिदान हुन पनि तत्पर छु । तर, मलाई त यो विद्रोहले हामी पथभ्रष्ट हुन्छौं जस्तो लाग्छ ।’
पुंगको नेता गज्र्यो, ‘तिमीमा पुंगको रगत नभएकोले यस्ता लुते कुरा गर्छौ । हामी पुंग जाति कसैको अधीनमा रहन सक्तैनौं । हुकुमबाट अलग्गै हामी आफ्नो राज्य बनाउन चाहन्छौं । अब कुरा गर्ने समय छैन । तिमी हिँड्न तयार हौ ।’
‘मेरा जहान, छोराछोरी ?’
‘तिनलाई सुरक्षित टुँगोमा पुर्याएर तिनको हेरचाह हाम्रो जिम्मा । हामी पुंग विश्वासघात गर्दैनौं, त्यो तिमीलाई थाहा छ !’
‘तिमीहरूभन्दा निर्दयी पनि अरू कोही हुँदैन,’ मैले मनमनै भनें ।
“यसरी म विद्रोहीहरूको पछि लाग्न बाध्य भएँ, सुबेदार । हुकुमको त्यत्रो शक्तिसित हाम्रो के लाग्थ्यो र ! सधैं जंगलको बास । लुकेर हिँड्नु पर्ने तर पनि हामी लड्यौं । मजस्ता अरु पनि धेरै गोर्खेहरू पुंगको विद्रोहमा सामेल थिए । जुनसुकै भिडन्तमा उनीहरू हामीलाई नै अघि लाउँथे । हामी हुकुमका सेना, पुलिस तथा अन्य कर्मचारीहरूलाई जहाँ भेट्यो, उहीँ समाप्त पाथ्र्यौं । हाम्रो विद्रोह दमन गर्न हुकुमले एकचोटि निकै ठूलो फौज पठायो । हामी पहाडको टिलामा बसेका थियौं । पुंगहरूले फेला पारेको मसिनगन र केही राइफल हामीसित थिए । हुकुमको फौज पहाडी टिलातिर बढ्दै आएको थियो । हामीले मसिनगनको पर्रा छोड्न थाल्यौं । रातिको बेला थियो । बगुन्द्रो हुकुमका सेना सोत्तर परे । उनीहरू आफ्नो सुरक्षा खोज्दै त्यहाँबाट हटे । उनीहरू गइसकेपछि हामी तल फेदीमा झर्यौं, जहाँ हुकुमका सेनाका लाशहरू पसारो परेका थिए । बिहानको मिरमिरे उज्यालो, ती बेसमार पल्टेका तालीमे सेनाहरूको मुखमा पर्न थालेको थियो । कहाँका यी, कहाँको माटोले तानेर ल्याएको थियो इनीहरूलाई ! मैले केही मृतकका चेहरामा आँखा गाडें । यी डल्ला गोरो वर्णमा केही पहेंलो रंग मिसिएको मंगोली चेहरामा हाम्रा गोर्खा जवानकै थिए । लाहुरे हुन रमाएर आएका, साहुका ऋण निखन्न, स्वास्नीलाई चुरापोते किनिदिन, लाहुुरे भएर गाउँमा रवाफ देखाउँदै हिँड्ने आकांक्षा लिएर आएका, आफ्नो देशको शोषण प्रक्रियाबाट मुक्त हुनको निम्ति किञ्चित पसिना चुहाउन पनि नचाहेर मुग्लानतिर भौंतारिन आएका इनले, कुन हो कुन जातिको स्वराज आन्दोलन रोक्न ह्वालह्वाल्ती आफ्नो रगत बहाएका थिए । इनको रगत माटोमा ठाउँठाउँ जमिसकेको थियो । हामी अर्कातिर अज्ञातमै आफ्नै भाइको रगत बहाउने कार्यमा आफ्नो रगतको बाजी लगाइरहेका थियौं । यसरी हुकुमको सैन्यको इनले निकै खति पुर्याए । तर, हुकुमको शक्तिअगाडि इनीहरू कति दिन टिक्थे र के खाएर टिक्थे ? फेरि इनकै जातिको ठूलो भाग्यको हुकुमलाई मानी नै राखेको छ । हुकुमले दिएको स्वायत्त शासन व्यवस्था अँगालेर लाभ उठाइराखेका छन् । विद्रोहीहरू शिथिल हुँदै गए । आत्मसमर्पण गर्ने नयाँ–नयाँ प्रलोभन पाएर धेरैले आफूलाई हुकुमलाई हात सुम्पे । आज आत्मसमर्पणकारी प्रायः सबै सम्पन्न जीवन बिताइरहेका छन् । त्यो त तिमीले जानेकै कुरो हो, सुबेदार ।”
“अन्त हाम्रा गोर्खे जवानहरूले आत्मसमर्पण गरेको देखिएन त ?” सुबेदारले सोध्यो ।
“विद्रोहमा पस्न बाध्य भएका हाम्रा गोर्खाली कति थिए, म जान्दिनँ । तर, सातजना मेरा साथीहरूलाई आफूले आत्मसमर्पण गर्नुभन्दा अघि पुंगहरूले एउटा गुप्त स्थानमा लगेर निर्मम प्रकारले तिनको हत्या गरे । उनीहरूको आफ्नो आन्दोलनमा गोर्खेहरूलाई सामेल गरिएको थियो भन्ने कुरा प्रकाशमा ल्याउन चाहँदैनथे । अर्काको वीरतामा आफ्नो नाउँ जोड्न तम्सिएका थिए उनीहरू । त्यसैले सातैजनालाई गोली हानेर मारे । तिनको रगतको भलले त्यो पाखो नै रक्ताम्य बन्यो । मलाई आफ्ना जहान केटाकेटीको एकखेप मख हेर्ने ठूलो इच्छा थियो । तिनको मायाले म साह्रै काँतर बनें । आफ्नो जीवनको भिक्षा मागें । पुंगहरूको शरण परें । अनि उनीहरूले मेरो नयाँ नामकरण गरे । गगनबहादुर घले म¥यो र जोसेफ पुंगको जन्म भयो ।”
सुबेदारले ठूलो सास फेर्दै भन्यो, “कति सस्तो रगत नेपालीको ? जहाँ पनि बगेको छ । जसको निम्ति पनि बगेको छ । जुनसुकैले किनेको छ, जुनसुकैले आफ्नो रगत पानीसरह बगाएको छ । यता पुंगले आफ्नो आन्दोलनमा सामेल गराएर गोर्खालीकै रगत बहाए । उता पुंगको विद्रोह दमन गर्ने हुकुमको फौजमध्ये मर्ने गोर्खाली नै भए । आफ्नो अथक परिश्रमद्वारा जीविका गरेर यस भूमिको गाउँ बस्तीमा बस्ने गोर्खालीलाई पुंगहरूले नै विदेशीको संज्ञा दिएर उत्तिकै मारे । त्यतिले पनि नपुगेर विद्रोहबाट उम्केका गोर्खे पनि बाँच्न पाएनन् । तिनको रगत सित्तै नै गुप्तवेशीहरूले आफ्नो क्षणिक स्थार्थ रक्षामा बहाए । हाम्रो रगतको मोल नै के छ र ? जे जति अलिकति छ भने पनि त्यसलाई बेचेर एउटा विशेष सत्ताधारी, एउटा विशेष शोषकवर्गले नै चयन लुटेको छ । हामीलाई देउताले देउताको थान पुज्न बनाएका । देवथानका हामी बलि हुने बोका हौं । हाम्रो रगत जिउँदो देउतामा समर्पित छ ।”
“अन्त तिम्रा जहान छोराछोरी भेट्यौ ?”
जोसेफले गम्भीर हुँदै बसेको ठाउँबाट उठेर भन्यो, “भेटेको छैन । खोज्दै छु । त्यसैले त पुंग भएर पनि बाँचेको छु । के ठेगान भो र ? तिनको रगतले पनि कसैको तिर्खा पो मेटिसक्यो कि ? पानीभन्दा त हाम्रो रगत अलि सस्तै पर्छ ।”
सुबेदार पनि आफ्ना दुबै घुँडा मुसार्दै उभियो र भन्यो, “हाम्रो मात्र के भन्नु घले, यहाँ एकथरीको रगत सस्तो भएको छ, अर्कोथरीको निम्ति । एक श्रेणीका मानिसको रगत पानीभन्दा पातलो भएको छ, र अर्को श्रेणीको रगत गैंडाको छालाभन्दा बाक्लो र कडा पनि । सानालाई ठूलाले निलेर बाँचेको छ यो संसार । बलियोले निर्धाको काँध लिस्नो पारेको छ, उँभो लाग्ने जसले पनि ।”
“सृष्टिको नियमै यस्तो रहेछ क्यार !” जोसेफले बिस्तारै पाइला चाल्यो ।
‘त्यसै भनेर चित्त बुझाउनुपर्छ,” सुबेदार पनि उसको पछि लाग्यो ।
(पीएम खनालद्वारा सम्पादित ‘कथा–विम्ब’बाट साभार)
प्रतिक्रिया
-
४