– अमृत

जुठेल्नो देखि अलि पर
गिदरीको बूढो रुखमा
जुरेलीले बच्चा जन्माएकी छे

एक साँझ
गुँडमा चारो खुवाउदै गरेको जुरेली देखाउदै
तोतेबोलीमा अचानक छोरीले सोधिन
बाबा ! चराले जस्तै आमाले मलाई दुध चुसाउन कहिले आउनुहुन्छ ?

पुर्लुक्क छोरीको अनुहार हेर्छु र भाउन्नमा पर्छु
र झस्कदै भन्छु
भोलि … पर्सि …
छोरी दौडेर आँगन तिर कुखुराका चल्लाहरुसँग रमाउन थाल्छिन

बुढी ! तिमीले साहारालाइ धर्तिमा बेसाहारा बनाइ छोडेको
छ बर्ष लागेछ
यो भत्केको बेहोसी मन लिएर
कसरी भनुँ चल्ला जस्ती यो छोरीलाई तिमी कहिल्यै आउदिनौ भनी

आउदिनौं भनुँ भने छोरीले पत्याउने छैन
आउछौं भनुँ भने तिमी फर्किने छैनौ
उफ !
बुढी म फेरि आज छोरीको प्रश्नले बिक्षिप्त भएको छु

यहि रात उसले अर्को प्रश्न गरि
बाबा !
भोलि बिहान उठ्दा आमा आउनुहुन्छ नि ?

बुढी ! छोरीको प्रश्न
मेरो घाटीमा पासो बनेर अल्झेको छ
रुवाइको आवाज दबाएको आँसु झनै दर्कदो रहेछ
सिरानी भिजेर सिरानी रोएको छ

म छोरीलाई थपथपाउदै सुताउन खोजिरहेछु
किन किन आज उसले तिमीलाई खोजिरहेकी छ
सायद मलाई जस्तै हिक्क
उसको गलाको पासो बनेको पो छ कि
कसरी बुझुँ
यो चिचिलोको क्रन्दनको भाका ?

बुढी ! छोरीको तोतेबोलीले सम्झनाका डोबहरुलाइ
पछ्याइ रहेछन
खोजिरहेछन
पर्खिरहेछन

आमा खोज्दा खोज्दै निदाएकी छोरीको निर्दोष मुहार हेर्छु
र आफै भक्कानिन्छु
मनभरी पैह्रो खसिरहेछ
आँखा बलेसी भएकोछ

सुनसान लाग्ने रात उस्तै चित्कारले भरिएको छ
भ्यागुताहरुको ट्यार ट्यार पट्यार लाग्दो छ
पर पर देखि आएका कुकुरका आवाजहरु ज्याद्रा छन
आकाश भित्र लुकेकी तिमी लाई हेरुँ भन्छु
बादलले छेकेको आकाश उदास देख्छु
जीवनको यो रित्तो भूगोलमा
म आमा बन्न चाहान्छु

तर बुढी !
किन बाउहरु आमा बन्न सक्दैनन ?

***

प्रतिक्रिया

सम्बन्धित खवर