– सुदन लुइटेल

गजल १,

दु:ख हटाउन पनि दु:खै गर्नु पर्छ
सुन भेट्न कैयौँ खानी कोतर्नु पर्छ

दरबारकालाई पनि छोडाइएको छ
उचाइमा पुगे पछि तल झर्नु पर्छ

ठूलाको घमण्ड पनि चकनाचुर हुन्छ
बाटो बनाउदा ठूलो ढुङ्गा फोर्नु पर्छ

लुटी खानेका पनि दुर्दिन आउनेछ
भोलि गरिखानेकै शरण पर्नु पर्छ

सहरमा बाटो काट्न पनि पुल चाहिन्छ
गाउँमा अस्पताल पुग्न नदि तर्नु पर्छ

माग्ने मन्दिर पुग्न केबलकार चढ्छ
र विद्यार्थी तुइनबाट झरेर मर्नु पर्छ

गजल २,

मैले जति सुन्न सक्छु तेति मात्र बोल्नु
मैले सुन्न नसक्ने कुनै पनि कुरा नबोल्नु

निरङ्कुश शासनमा हामीले जे गरे पनि मिल्छ
आफ्ना भारदार जोगाउदै बिरोधिका फाइल खोल्नु

हाम्रा ठूला काण्डहरू कानुन बनाएरै मिलाउँला
अरुले सियो चोरे पनि सुन चोरमा पोल्नु

हाम्रो आश्रम छिरेपछि भ्रष्ट पनि दानवीर बन्ने
पापमोचन केन्द्र बनाउन बल्खु खोला छेउ खोतल्नु

तिमीहरूले धेरै कमाएर धेरै दान दिन्छौ भने
दुधमा पानी होइन अब पानीमा दुध घोल्नु

***

प्रतिक्रिया

सम्बन्धित खवर