
– दीप प्रदीपकुमार
गजल १,
भन्थ्यौ नि हेर् चरित्र, केही त बाँकी रैछ
बुझ्दैछु बल्ल मित्र केही त बाँकी रैछ
फर्केर आउँदैछ, कुल्चेर जाने मान्छे
मनले सोच्यो मभित्र केही त बाँकी रैछ
छोडेर जाने मान्छे,केही थिएन भन्थ्यो
हेरिरहेछ चित्र, केही त बाँकी रैछ
कस्तो हुँदो रहेछ, माया भनेर सोध्दा
भन्दैन ऊ पवित्र, केही त बाँकी रैछ
ऊ यादमा नआउन सबथोक जलाएँ मैले
कस्तो हो यो विचित्र, केही त बाँकी रैछ
गजल २,
सोचेका थे घाउलाई चाहिँ चलाए दुख्छ होला
यो सोचेनन्, ऊ बरू दुख्नै नपाए दुख्छ होला
चोट के हो? यसको व्याख्या हर किसिमले गर्नेलाई
”प्रेम के हो?”भन्ने प्रश्न सोध्न आए दुख्छ होला
बच्चादेखि दु: ख भोग्दै हुर्किएको व्यक्तिलाई
कोही आई प्रेमपूर्वक सुम्सुम्याए दुख्छ होला
भेद जम्मै खोली उसले, चैनको निद्रा लिँदैछ
फेरि ती भेद,होश आएपछि सुनाए दुख्छ होला
जिन्दगीले चोट खाई हाँसिहाँसी यात्रा गर्छ
चोटलाई सम्झिसम्झी मन दुखाए दुख्छ होला
***
प्रतिक्रिया
-
४