– सृष्टि मल्ल

प्रेम गर्न कोमल हृदय मात्र होइन
दह्रो मुटु पनि चाहिन्छ
के तिमी सँग छ ?

पल पल मरेर बाच्न सक्नुपर्छ
हजारौं रात रोएर
एक पल खुशी आउनसक्छ
के थाम्न सक्छौ ती रातहरूलाई ?

तिमीले समेट्न नसक्ने गरि टुक्रिन सक्छौ
सम्हालिन नसक्ने गरि बिखेरिन सक्छौ
मन आफ्नो रहन्न
तन आफ्नो रहन्न
जीवन आफ्नो रहन्न
के त्यसरी प्रेम गर्न सक्छौं कसैलाई
आफ्नो अस्तित्व बिर्सिएर ?

ओइलाएका फूलहरूलाई तिमी
मन पर्ने फक्रदै गरेको गुलाफ मात्रै देख्न सक्छौ
नदीको किनारालाई तिमी
कलकल बगिरहेको झर्ना देख्न सक्छौ
पूर्णिमामा लागेको ग्रहणलाई
उज्यालो जून देख्न सक्छौं
के तयार छौ तिमी त्यसरी पागल बन्न ?

होइन भने तिमी प्रेम नगर्नु

प्रेममा
हजारौं पटक मरेर बाच्नु पर्छ,
बिना गीत संगीत पागल जसरी
नाँच्नुपर्छ ,
प्रकृति जसरी हजारौं पीडा सहेर
हाँस्नुपर्छ,
जुनकीरी जसरी अध्यारोमा
उज्यालोको दिप बाल्नुपर्छ

हिमाल सरी अटल
समुद्र जसरी निश्छल
फूल सरि कोमल
गगन जसरी फराक हुनुपर्छ

ल भन अब के तिमी प्रेम गर्न सक्छौं ?

प्रेम समर्पण हो
प्रेम त्याग हो
प्रेम तपस्या हो
प्रेम भोक हो र रोग हो
के तयार छौं तिमी सबै सबैका लागि ?

तिमीसँग
प्रेमको उज्यालो जवाफ छ छैन?
छैन भने
नसल्काउनु परालमा प्रेम

***
प्रेमका बारेमा कवि सृष्टी मल्ला बताउनु हुन्छ, -“प्रेम त्याग हो, समर्पण हो, तपस्या हो र हो भोक । यसलाई दुवै प्रेमी जोडीले समान तरिकाले निभाउनु पर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर