– विपना भुर्तेल
यादहरू थिए
यतै आँखा अगाडि
पहिरोले पिठ्युँमा बाेकेर लैजाँदैछ भीरैभीर
सुर्यका किरणहरू बगिरहन्थे
माेतिझैँ टल्किँदै सङ्लो नदीकाे छातीमा
बग्दै कल्कलाउँथे चैतन्यमय भुल्काहरू
सत्यका लहर र छालहरू उराल्दै
गाउँदै टप्पा र साकेला
मुर्चुङ्गाकाे मधुर धुनमा
काेकिल आवाजमा गाउने त्याे मैनाचरी
कहाँ हाेला यतिबेला ?
के गर्दै हाेलान् टुहुरा चराहरू
गाउँथे गाउँहरूमा घाँसे गीत
गाउँथे असार साउनमा राेपारहरू असारे गीत
बाउसेहरू आलि लगाउनमै ब्यस्त हुन्थे पहिले पहिले
खुब रमाइलाे हुन्थ्याे गाउँमा
रत्याैलीमा मारुनी नाचेर झुमिन्थे साेल्टीहरू
राेधि गाइन्थ्याे चाडपर्वमा
बहुत रमाइलाे हुन्थ्याे कुनै समय गाउँमा
अचानक-
समय फेरियाे ‘उहिलेका कुरा’ भए
जमना फेरिएको छ
सत्य ‘रूप’ बदलिरहन्छ हेलिएर समयसँगै
कोलाहलको ज्यालामा डढेका छन् घामका किरणहरू
लाग्छ अझैँ पनि –
ती ज्वालामुक्त भए भने
रमाउँदै खेल्ने थिए फूलकाे वरिपरि बच्चाहरू
जसरी बगैँचाहरूमा खेलिरहेन्थे पुतलीहरू
र झुम्मिरहन्थेँ फूलकाे पुङ्केसरमा माैरीहरू
मनलाई फकाउँदैछु म
आँखा र मन दुवैलाई पुर्याएर पारीका बिरौटाहरूमा
अड्याएको छु कान्लाको आडैमा केहीबेरलाई मेराे शिर
यता छेवैमा छरिँदैछन् झिल्काहरू
बग्रेल्ती आँगनमा पटका पड्काएझैँ
क्या रमिता छ उन्मत्त ध्वनिहरूको
झुल्किँदैछन् सम्झनामा पुराना झझल्काहरू
घरको खोपामा जतनले राखेको एउटा पुरानो कागजलाई
कतै खोसेर उडायो कि बतासले !
कतै अनायास जलाइदियो कि निर्दयी किरणले
बात मार्दैछु आफ्नै मनसँग–
बार्दलीमा बसेर उही कागज सुम्सुम्याउँदै गुन्गुनाउँला
देउराली उक्लिँदा उही साेरठी भाखामा गाउँदै चँढाैँला उकालाे
मनलाई फकाउँदैछु म –
छिनछिनमा माथि हेर्दैछु खुला आकाशमण्डलमा
ओहो ! कहाँ बतासिएका होलान्
चौदिशा भेट्नाबिहीन पातहरू !
जरा, बोट सुकेर ती एकएक गर्दै चुँडिएका छन् !
खेलाउँदै गरेका सुनौला तीरहरूले आफैँलाई घाइते पारेर
आफ्नै अन्तःस्करणको डाह मेट्न
व्योमारोहण गरे हुन् पातहरूले
तिनलाई पछ्याउँदै दौडेका आँखाहरू ओर्लिएर
ठोक्किएका छन् छानामा टल्केको शीताग्निमा
तिर्खाएको छ आँत
शीताग्नि भेल सङ्लिएर तिर्खा मेट्न कहिले पाइएला !
म साेचिरहेछु –
भाेलि बिहान हुन्छ कि हुँदैन ?
***
प्रतिक्रिया
-
४
