– दामोदर श्रेष्ठ

सविनले उमालाई भगायो  ।
उमा गरिव मगर परिवारकी चेली । अति राम्री । भर्खर ११ कक्षामा पढ्दै थिई, सविनले १२ मा  । सविन गाउँको हुने खाने ब्राह्मण परिवारको छोरा । सविनका बाबु गाउँमा नाम चलेका पण्डित । सविन र उमाको अन्तरजातीय विवाहलाई परिवारले स्विकार गरेनन् ।
सविन र उमा भागेको थाहा पाएर सविनकी आमा मुर्छित भईन । उनलाई धर्ती भासिए झै भयो, आफ्नै जातको सुसंस्कारी कन्यालाई बुहारीको रुपमा धुमधाम संग बाजागाजा सहित भित्र्याउने धोको उमारुपको सुनामीले ह्वार्रै बगाईदियो । उनले आफ्ना अगाडीको वस्तु देखिनन्, संसार खाली जस्तो लाग्यो । केही सोच्नै सकिनन् उनले, डाँको छोडेर रोईन्, दाँत बाधिन्, मानौ सविन बिहे गरेर भागेको होईन संसार छोडेको हो । पण्डित बा ले सविन आफू र आफ्नो परिवारको लागी मर्‍यो भनेर घोषणा नै गरे ।

सविनले एसएलसी सम्म संगै पढेको साथी सन्तोषले बुटवलमा बसेर पढ्थ्यो । सविनले उमालाई सन्तोषकै कोठामा राख्यो केही दिन ।  पछि सन्तोषले छुट्टै कोठाको खोजिदियो ।  बाउको बाकस फोरेर ४० हजार चोरेको रहेछ सविनले । त्यही रकमबाट कोठामा चाहिने न्युनतम आवश्यक सामानको प्रबन्ध मिलायो ।
उनीहरुको माया झनझन् प्रगाढ हुँदै थियो साथ साथै बाँच्नका लागी संघर्ष । उनीहरुको मायाको वीचमा अभावको खाडल थियो । उमाले बेलुका सुत्ने बेला मायालु पारामा बोली “सविन…”
“ह्मम्म्”
“सानो  सानो भए पनि जागिर खोज न”
“तिम्रो हराएको छ र खोज्नु?”
“…….” उमा चुप । एक छिन पछि सविन बोल्यो “खोजीराछु के….., कहीँ पाईंदैन, कोही भनसुन गर्दिने मान्छे पनि छैन”
“अब त पढ्न पनि नपाईने भयो है” उमाले गुनासो गरी । ‘खान त नपाउने अवस्था आउन थाल्यो, पढ्ने कुरा गर्छे’ भन्न मन लागेथ्यो सविनलाई तर भनेन ।
“ चिन्ता नगर न, काम खोजिराछु, जे जस्तो गरेर भए पनि तिमीलाई पढाउछु के…….” सविनले सान्त्वना भावले उमालाई थुमथुमायो ।

सविनको साथी सन्तोषको अङ्कलले सविनलाई एउटा गैरसरकारी संस्थामा सहयोगीको जागिर मिलाईदिए । थाोरै तलव भए पनि जीवन गुजाराको लागी सविनलाई ठुलै राहत प्राप्त भयो, तिर्खा लागेको बेलाको एक घुट्को पानी जस्तै सन्तुष्टी मिलेको थियो ।

सविन अफिसबाट कोठामा फर्केपछि दुवैजना बसेर चिया पिउदै थिए । यत्तिकैमा सविनले उमालाई आग्रहभावमा भन्यो “उमा अब तिमी कलेज जाऊ न त”
“यति बेला……? ढिला भईसक्यो अहिले त भोली जाउँला नि, हुन्न…?” उमा ठट्यौली पारामा बोली ।
“साँच्ची भन्या के उमा, अव पढाईलाई निरन्तरता दिनुपर्छ” सविन केही गम्भिर भयो ।
“दुवै जना कलेज जाने ल सविन, हात समाउदै जानुपर्छ” उमा पुलकित भई ।
“होइन, तिमी मात्र जाने हो म त जान्न, खर्चले धान्नु पर्यो नि”
“म पनि काम गर्छु नि” उमाले जिम्मेवारीपन देखाई ।
“अहिले तिमी काममा होईन कलेज जान शुरु गर, पढाई र काम दुवै संगसङ्गै गर्न गाह्रो हुन्छ । पढेपछि त अलि राम्रो संग पढ्नु पर्यो नि काम लाग्ने गरी । अहिले म काम गर्छु तिमी राम्रो संग पढ, पढाइ राम्रो पनि छ तिम्रो, पछि समय मिल्यो भने म पनि जाउला नि हुन्न” सविन चियाको कप रित्याउदै बोल्यो ।
“हवस्…….” भन्दै उमाले सविनलाई अङ्गालो हाली । सविनले उमालाई चुम्यो । सविनको चुमाईले उनको मन कुतकुतायो, शरिरमा अनौठो तरङ्ग प्रवाहित भयो । दुवै एकअर्कामाथि समर्पित भए, दुई ज्यान एक भयो, आनन्दानुभुतीमा चुर्लुम्म डुबेर निथ्रुक्क भिजे, समयको प्रवाह नगरी ।
……………
श्रीमान कमाउने श्रीमती कलेज पढ्ने, परम्परागत मान्यताको क्रमभङ्गता थियो, परिवर्तनको कर्ता बनेका थिए सविन र उमा । नयाँ जीवनको शुरुवात उत्साहजनक र रमाईलो थियो । भोलीको मिठो प्रतिफलका लागी आजको संघर्षपूर्ण जीवन पनि अनुपम थियो, रमाईलो थियो उनीहरुको लागी ।

एक दिन उमाले भनी “सविन तिमी पनि कलेज भर्ना होऊ न”
“भर्ना त हुनुहुन्थ्यो नि उमा, तर पढाईको खर्च केल्ले धान्ने नि” सविनले बाध्यता सुनायो । “अनि म मात्रै पढ्ने त”
“तिमी भन्नु नै म हो, म भन्नु नै तिमी । तिमी पढ मेरो लागी म कमाउछु तिम्रो लागी । तिमी अध्ययनमा सङ्घर्ष गर, म खर्चको जोहो गर्ने संघर्ष गर्छु । भोली हेर न तिमिलाई गाँउमा सबैले सम्मान गर्न लायक बनाएर लैजान्छु” सविन अलि भावुक बन्यो ।
“धेरै माया नदेखाउ है” उमाले आँखामा आँसु टिलपिलाउदै लाडे स्वरमा भनी ।
“तिम्रो लागी जन्मदिने बाउआमा त्यागेर आएँ, बाँकी जीवन तिम्रै नाममा राजीनामा भयो”
“म पनि त छोडेर आएँ नि बाआमा” उमाले आँखामा छचल्किएको आँसु पुछ्दै सविनको काखमा घोप्टी । कोठाको माहोल निकै भावुक बन्यो ।

उमाको पढाई संगै खर्च बढ्दै गयो । शैक्षिक सामग्री, कोठाको दैनिक उपभोग्य सामान, कोठाभाडा, अन्य आकस्मिक खर्चको लागी सविनको पाँच/छ हजार तलवले थेग्न हम्मेहम्मे हुन्थ्यो । उमाले १२ कक्षा पास गरेर स्नातक तहको अध्ययन शुरु गरेकी थिई । सविनलाई थप आर्थिक श्रोतको व्यवस्था गर्न नैतिक रुपमा व्यापक दवाव थियो । सविनको एक जना साथीले नेपाल प्रहरीको सिपाहीमा जागिर खुलेकोले भर्ना हुन जाऊँ भन्यो । साथीको आफ्नो मान्छे थिए प्रहरीमा, दुवैजना प्रहरीको जागिरे भए ।
ठुलो आम्दानीको श्रोत नभए पनि सरकारी जागिरमा स्थायित्व हुने, देश छाडेर धेरै टाढा जानु पनि नपर्ने, सविन र उमा दुवैजना सन्तुष्ट थिए सविनको जागिरमा । जागिरको कमाईबाट भविष्यको लागी बचत नभए पनि उमाको पढाई खर्च र सामान्य जीवन गुजारा गर्न पर्याप्त थियो । तर उमा शहरिया जीवनमा घुल्दै गएकी थिई, उसका आवश्यकताका प्राथमिताहरु बदलिँदै थिए । साथीहरुको संगतले उसले प्रयोग गर्ने प्रसाधनहरुमा पनि विविधता आईरहेको थियो, संगसंगै सविनको खल्तीले बोझ धान्न मुस्किल परिरहेको थियो । तर पनि सविन सके सम्म उमालाई निरास बनाउन चाहदैनथ्यो । उमाका आवश्यकताहरु क्रमश: मागमा परिणत हुदै गए, सविन आफ्ना ईच्छा, आकांक्षालाई तिलाञ्जली दिदै, आवश्यकताहरुलाई पाखा लगाउदै उमाको नियमित आपुर्तीकर्ता बनिरहेको थियो । आफु संग नहुँदा साथीहरु संग सापटी लिएर भए पनि उमालाई चाहिने खर्च पठाउँथ्यो, उसले  कुशल अभिभावकको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेको थियो । उमाले पनि सविनको अभिभावकत्व र योगदानको उचित कदर गर्दै उत्कृष्ट नतिजा दिएकी थिई । उमाले प्रथम श्रेणीमा स्नातक सकाईसकेकी थिई ।
सविनले साथीहरुसंग सापटी माग्दा साथीहरु उसलाई जिस्काउथे । ‘ख्याल गर है सविन, धेरै मल नराख,  धेरै फुल्यो भने त रस अर्कै भमराले चुस्देला, त घर जान पाउदिनस’ भन्थे । ‘पाकेको आँपमा बटुवाले ढुङ्गा हानेर झार्देलान नि सविन’ अर्कोले थप्थ्यो । “बगैचामा तारबार पनि छैन कसो गर्ने होला?” सविन पनि जिस्कन्थ्यो । ‘एउटा खसाल्दे न त, अनि नाक छेडेको राँगो जस्तो भईहाल्छन नि’ अर्कोले सुझाव  दिन्थ्यो । ‘सविनको त हाईब्रिड हुन्छ होला हौ’ अर्को साथी बोल्थ्यो ।
साथीहरु के भन्छन उसलाई मतलव थिएन । उसलाई विश्वास थियो उसकी उमा प्रति, भरोषा थियो आफ्नो मायामा । त्यसैले जीवन सुम्पिएको थियो । अध्ययनमा अवरोध नहोस् भनेर उमाको पढाई नसकिँदा सम्म बच्चा नजन्माउने पारिवारिक  योजना बुनेको थियो ।

सविन विदामा थियो श्रीमती उमाको साथमा । “उमा, अब बच्चा पाउँ न है हामी” सविनले भन्यो । “अहिल्यै बनाउने र ? अझै एक दुई वर्ष नबनाउँ न, हुन्न?” उमाले आग्रह गरी ।
“बिहे गरेको पनि यत्तिका वर्ष भयो, साथीहरु तेरो त छैन कि क्या हो भन्छन”
“अरुले जे सुकै भनुन, तिम्रो छ कि छैन भनेर अरुलाई देखाउदै हिड्ने हो र, मलाई थाहा छँदैछ क्यारे”
“हामिलाई बच्चा पनि त चाहियो नि, चाँडो जन्माए चाँडै हुर्कन्छन हैन र?” सविनले भन्यो ।
“आयोग दिने भनेको, डिस्टर्व हुन्छ के सविन, एक दुई वर्ष धैर्य गर न, नाम निकाल्न सकिन भने त्यसपछि म नाँई भन्दिन नि है”
“खै म के भनूँ, मैले पाउने हैन पाउने तिमि हो” सविनले नैराश्यता देखायो । सविन उमाको अगाडी सजिलै गल्थ्यो उसका ईच्छा आकांक्षाहरुको सामु आफ्ना आकांक्षालाई तिलाञ्जली दिन कुनै हिच्किचावट देखाउदैनथ्यो ।
आयोग खुल्यो । उमाले आफ्नो तर्फबाट गर्नुपर्ने तयारीमा कुनै कसर बाँकी राखिन । सविनले तयारी कक्षा लिनको लागी संचयकोषबाट विशेष सापटी लिएर खर्चको जोहो गरिदियो । तयारी कक्षाले उमाको तयारी चुस्त बन्यो । तयारी अनुसार परिक्षा पनि क्रमशः राम्रो भयो । नतिजा आयो । उमा नेपाल सरकारको शाखा अधिकृत पदमा नियुक्त भई ।
सविनलाई खुसीको सीमा थिएन । खबर सुन्ने बित्तिकै उ झण्डै उफ्रेको थियो । उसले सोच्यो अब सुखका दिन शुरु भए, आज सम्म गरेको त्याग र मेहनतको फल हो यो, दुख पछि सुख अवश्य आउँछ । उसले भगवानलाई सम्झ्यो मनमनै धन्यवाद भन्यो । बाआमाले अब त उमालाई बुहारी स्वीकार गर्लान् नि भन्ने आशा गर्यो ।
सरकारी अधिकारीको रुपमा पदस्थापना भएसंगै उमाका दिन चर्या बदलिँदै आयो ।  व्यवहार, रहनसहन, लवाईखवाई, संगत इत्यादि बदलिँदै गए ।

त्यो दिन उमा र सविन कोठा अगाडीको कौसीमा घाम ताप्दै थिए, दुवै जना बिदा लिएर बसेका  । कुरै कुरामा उमाले भनी “सविन तिमी जागिर छोड न है”
“होईन के भन्छ्यौ तिमी, किन छाड्ने जागिर” सविनले आश्चर्यभाव दर्शायो ।
“त्यसै….., अब मेरो पालो नि तिम्लाई पाल्ने”
“किन चाहियो पालो….? म आफै पाल्लिन सकिराछु त, थोरधेर पैसा पनि बचत हुन्छ । अब पैसा बचत गरेर घडेरी किन्नु पर्छ बुझ्यौ….?” सविनले भविष्य सोच्यो ।
“प्लिज के सविन, बरु पसल गरौला नि हुन्न…” उमाले कर गरी । तर सविन दुःखको बेला साथ दिएर उद्वार गरेको जागिर छोड्ने पक्षमा थिएन । तर हरेक भेटमा उमाले जागिर छोड्न दवाब दिन थाली ।
वास्तवमा उमा बदलिएकी थी । अधिकृत उमाले सिपाही सविनलाई साथीहरुमाझ श्रीमानका रुपमा चिनाउन चाहँदैन थी, लज्जा बोध हुन्थ्यो उसलाई । उसलाई सविन तल्लो स्तरको लाग्न थालेको थियो । तर स्पष्ट रुपमा तिम्रो र मेरो स्तर मिलेन भन्न उमालाई अफ्ठेरो थियो किनकि सविनको त्यही पेशाले आर्जेको धनले उसको प्वाँख पलाएको थियो र त करियरको यो उचाई सम्म उड्न सकेकी थिई । अरु बहाना बनाएर जागिर छोडेर अरु नै केही ‘पेशा’ अंगाल्न गरेको पटक पटकको आग्रहलाई सविनले लत्याईदिएको थियो । कुनै बेला त्यही पेशा उसको बैसाखी थियो, बाँच्ने आधार थियो, आज किन छोड्थ्यो उ । अहँ पटक्कै मानेन उसले । यही कुरालाई लिएर कति पटक झगडा पनि पर्यो उनीहरुको ।
उनीहरुको भेट पातलिँदै थियो । उमा सविनलाई भेट्न आउन छाडिसकेकी थिई । सविन जान्थ्यो तर पहिले भन्दा धेरै कम मात्र ।

उनीहरुको सम्बन्धको दुरी फराकिलो बन्दै गयो । यसले सविनलाई सोच्न बाध्य बनायो । सोच्यो ‘उमा भन्दा बाहेक आफ्नो भन्नु कोही अर्को छैन, उ संगको सम्बन्धको बिचमा आफ्नो जागिर  तगारो नै बन्छ भने त्यो तगारो किन नहटाउने?’ अब उसले निर्णय लियो जागिर बाट राजीनामा दिने, उपदान स्वरुप पाउने रकमले अन्य पेशा गर्ने । साथीहरु संग सल्लाह गरेर राजीनामा पेश गर्यो । स्वीकृत भयो । नोकरी राजीनामा स्वीकृत पत्र बोकेर हिड्यो उमालाई भेट्न ।
सविनले उमालाई भगाएको सात वर्ष पुरा भएछ, अथवा आठौ विवाह वार्षिकी थियो त्यो दिन । उमालाई सरप्राईज दिने उद्धेश्यका साथ कुनै पुर्व सुचना नदिई सिधै कोठामा पुग्यो सविन । झिसमिस साँझ परिसकेको थियो । साँझको बेला भए पनि कोठामा ताला लगाएको थियो । मोबाइलमा उमाको नंम्बर डायल गर्यो स्विच अफ थियो । पल्लो कोठाकी दिदिलाई उमाको बारेमा सोध्दा थाहा पायो उमा त एक हप्ता देखी कोठामा आएकै छैन रैछ । नोकरी छोड्ने कि नछोड्ने भन्ने मनोविवादमा उ चुर्लुम्मै डुबेको रहेछ, उमालाई फोन नगरेको एक हप्ता भन्दा बढि भईसकेको बल्ल चाल पायो । सविन संग कोठाको अर्को चाबी थियो । ढोका खोलेर भित्र पसेर बत्ती अन गर्दा उ चकित पर्यो, कोठाको अधिकांश सामानहरु थिएनन्, टेबलमा सानो कागजको टुक्रामा यस्तो लेखिएको थियो –
“सविन,
मलाई माफ गर । तिमीले मेरो लागी धेरै ठूलो त्याग गर्यौ । आफ्ना खुसीहरुको बलिदानी दियौ । मलाई यहाँसम्म डोर्यायौ, म ऋणी रहेँ जिन्दगीभरको लागि । तर तिमीले मलाई पंक्षी बनाएर उडायौ, म जमिनमा हिड्न लायक रहिन । म तिमीलाई पनि संगै हावामा सयर गराउन चाहन्थें तर तिमीले जमिन छोड्न चाहेनौ । तिमी उड्न नचाहने म जमिनमा हिड्न नसक्ने परिस्थितिको सिर्जना भयो । तिमीलाई जमिन र आकाशको भिन्नता बोध गराउन सकिन मैले । लामो जिन्दगीको उडानमा मलाई साथ दिने अर्कै पंक्षी भेट्टाएँ र मैले उसैको गुँडमा बास बस्ने निधो गरिसकेँ  । साँच्चै सविन, म अर्कैकी भईसकेँ । अवउप्रान्त मलाई सम्पर्क गर्ने  प्रयास नगर्नु ।
-उमा
१० फागुन २०७३

सविनलाई हुरीले ह्युईय उडायो र फेरि जमिनमा पछारे जस्तै भयो । अगाडि कालो भएर आयो । वरिपरिबाट हिंस्रक बन्यजन्तुले चिथोरे जस्तो लाग्यो । गला अबरुद्ध भयो, आँखाभरी आँसु भरिएर आयो, आँखा चिम्म गर्यो, केही थोपा आँसु कागजमा परेर भिजायो अक्षरहरु लत्तपत्त भए । उसलाई डाँको छोडेर क्वाँक्वाँ  रुन मन लाग्यो तर त्यसो गरेन । जीवन समाप्त भएको आभाष भयो । जीवन कागजमा मसिले लेखेका अक्षरहरु जस्तै रहेछ  दुई थोपा आँसुले लतपत्याउने,  क्षतविक्षत बनाउने । कागज गुटमुटायो मुठ्ठीले चरप्प कस्यो । कागज मुठ्ठीमा थियो तर जीन्दगी आफ्नो मुठ्ठीबाट बाहिर गएको थियो । उ बर्बाद भएको थियो । बिल्कुल एक्लो,  घर न घाटको भएको थियो ।
सविनले चालै नपाई उनीहरु बीच बनेको भिन्न जीवन स्तरको कारण उसका जीवनका खम्बाहरु गर्ल्याम्म गुर्लुम ढलेका थिए । हिजोको बैसाखी पनि भाँचिएको थियो, आफुले सहारा दिन्छु भनेर उमाले भाँच्न लगाई अनि भुईमा पछारेर गएकी थिई ।  सविनलाई आत्महत्या गर्ने सोच पनि नआएको होईन तर गरेन । सोच्यो निष्ठुरीको नाममा किन जीवन उत्सर्ग गर्नु, किन मर्नु, उसले छोड्न सक्छे भने उ बिना बाँच्न किन नसक्ने? बाँच्ने आधार हरायको थियो तर मेटिएको थिएन, हिम्मत उसको साथमै थियो ।
उमाको भेलले उसलाई बगाउन सकेन । सविन पागल बनेर सडकमा हिँडेन । कसैको सामु डाँको छोडेर रोएन, चोट हृदयमा थियो बाहिर देखाउदै हिँडेन उ, हेर्ने नै को थियो र उसको । उ कठोर बन्न जानेको रहेछ, फौजले उसलाई कठोर बन्न पनि सिकाएको रहेछ । सविन सम्हालिदैछ अहिले, चिरिएको मन सिउने  प्रयास गर्दैछ अहिले पुर्ख्यौली घर फर्किएर बृद्ध  बा आमाको काखमा  ।

***

प्रतिक्रिया

सम्बन्धित खवर