– सम्पदा
एक छाया निस्किन्छ त्यो भग्न भवनवाट
आइतबार,
त्यो मौसुफको दरबारअघि नाङ्गै उभिन्छ
र इतिहासभरीका निलडाम देखाउँछ।
सोमबार,
त्यो आकाश छेड्ने महलतिर फर्किन्छ
र अँध्यारो कुनाबाट नियाल्छ,
बत्तिको चहकमा टल्किएका डमी
मंगलबार,
जिउभरी इन्द्रेणी पोतेर निस्किन्छ
र शिशिरका उजाड रुखहरुमा धस्रीन्छ।
बुधवार,
शिरमा कफन बाँधेर निस्किन्छ
र भित्ताहरुमा ‘अश्लिल’ नारा लेखेर फर्किन्छ।
बिहिबार,
नानी बाबुहरुको तस्वीर टाँसेर आउँछ छातीमा
र आकाशै गर्जिने गरि रोइबस्छ।
शुक्रवार,
उ आउँछ र आफ्नो कंकाल झुण्डाएर जान्छ,
पुस्तकालय अघि विणा लिएर बसेकि सरस्वतीको मन्दिरअघि।
कहिलेकाहिँ उ आउँदैन
झिप.. झिप..बत्ती देखिन्छ झ्यालमा,
त्यहीँ मुनि देखिन्छ सिल्भियाको मधुरो फोटो।
जीवनभरिको दु:खले जोगाएको सपना
भित्तामा कोरेको छ उसले
पिंजडाबाट पुतलीहरु उडाएर एउटा पुतली पछ्याइरहेकी युवती,
खुट्टानीर थप्यो आज एउटा बडेमानको ढुंगा
र यो संयोग होइन
कि त्यो ढुंगाको नक्सा सिंहदरबारसँग दुरुस्तै मिल्छ।
साँझ परेपछि
विश्वविद्यालयको भग्न कोठाबाट निस्केर नाचिरहने
यो व्याकुल छाया के तिम्रो हो?
***
प्रतिक्रिया
-
४