कवि जुनू राना बाग्लुङमा जन्मिएर हाल एकदशक बढी हङकङलाई कर्मथलो बनाएर बसेकी छिन् । निबन्ध र संस्मरणमा समेत कलम चलाउँदै आईरहेकी राना हङकङमा नेपाली संघ संस्थामा आवद्ध रही समाजसेवा समेत तलेलिन छिन । उनको भर्खरै रातो नदी नामक कविता सङ्ग्रह प्रकाशित भएको छ । यसैको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीले कवि रानासँग गरेको पाँच प्रश्न र कविको जवाफ;

१, रातो नदी कृतिको बारेमा छोटकरीमा परिचय गराईदिनुहोस् न साथै पानीको त रङनै नहुने भन्छन वैज्ञानिकहरू, नदीलाई तपाईँले रातो देख्नुभयो । किन?

-जुनू राना कृत ६८ वटा कविताको संग्रह हो “रातो नदी” । बिषयगत हिसाबले यसमा नारी अस्मिता सम्बन्धी कविताहरूको बाहुल्यता छ । त्यसपछि सामाजिक बिषयहरू छन् । अस्तित्व छ, देशप्रेम छ र प्रणय छन् । आफू धेरै जस्तो बिदेशमा बसेर पनि जन्मभूमिप्रतिको प्रेम कविता संग्रह मार्फत समर्पण जताउन चाहेको हुँ । कविता संग्रह रातो नदी पढेर पाठकहरुले यो भाव पक्कै अनुभुति गर्न सक्नुहुनेछ भन्ने लागेको छ ।

‘रातो नदी’ लाई झट्ट हेर्दा कसैले कम्युनिस्ट दस्ताबेज जस्तो सम्झे । तपाइले सोचे जस्तो नदी पनि रातो हुन्छ र भन्ने पनि देखिए । वास्तवमा यो नारीहरुको निजात्मकता या अस्तित्व दर्साउने बिम्बको रुपमा आएको नाम हो । या हाम्रो समाजको संरचना जसरी निर्माण भएको छ त्यो संरचनामा धेरै असमानताहरु छन् । जन्मदिने आमाको अस्तित्वलाई ओझेल पारिएको छ । हो त्यही ओझेलमा परेको गर्भको अस्तित्वलाई सम्मान गरिनुपर्छ भन्ने आह्वान पनि हो । एक अर्थमा यो महिलाहरू आफ्नो अस्तित्व स्थापनाको निमित्त चलिरहेको आन्दोलनको हिस्सा जनाउँ गर्दछ ।

२, एउटा कविलाई कविता कृतिको आवश्यकता महशुस किन हुँदो रहेछ?

– नेपाली भाषा साहित्य प्रतिको अनौठो लगाव र देश समाज प्रतिको गहिरो चासो राख्ने बानी छ । यसैले नेपाली भाषामा लेखिएका साहित्य तथा विविध लेख रचना पढ्ने पनि बानी छ । र पढ्दा पढ्दै लेख्ने आइडियाहरु पनि बिकास हुँदैजादो रहेछ । यहि आइडियाहरुको प्रभावले लेख्न थालेको थिएँ । सुरुमा त छोटा लेखहरुबाट लेखन सुरु गरेको थिएँ । निबन्ध र संस्मरणहरु लेख्दा लेख्दै बिचमा कविताहरु पनि लेख्न थालेको थिएँ । फुटकर रुपमा पनि कविताहरू त प्रकाशित भैरहेका थिए । तर पछि लाग्यो कि कृति प्रकाशन गर्नु आफ्नै लेखनहरुलाई या आफुले लेखिरहेको समयलाई दस्तावेजको रुपमा सुरक्षित गरेर राख्नु पनि हो । र कृति प्रकाशन भएपछि यसले कविलाई समाजमा अझ चिनाउने रहेछ । र कृति प्रकाशन पछी कविले आफुलाई आफू बाँचिरहेको समाज प्रति थप जिम्मेवार बन्न पनि सिकाउछ । यसर्थ पनि कृतिको महत्व पर्दोरहेछ ।

३, तपाईँ लामो समयदेखि हङकङमा रहँदै आउनु भएको छ । परदेशमा बसेर पनि कविता लेख्दै हुनुहुन्छ । खासमा कविता के रहेछ? तपाईँको कविता प्रेमबारे पाठकले पनि जानुन न ।

– कविता लेख्नु मनको भाषा हो । विवेकको प्रयोग या आत्मचिन्तनको एक मार्ग हो भन्दा फरक नपर्ला । किनभने कविले लेख्ने कविता आफु बाँचिरहेको समाजको दर्पण हो । तर स्वचिन्तनको निमित्त समय निकाल्न हम्मेहम्मे हुने यो परदेशमा बसेर पनि कविता लेख्न चाहिँ एक प्रकारको जागरुकता र चासोको जरुरत हुन्छ । तर जटिलताबाट नै संघर्षहरुबाट नै वास्तविक रचनाहरु जन्मिने हुन । कविले यति बुझ्नुपर्छ जस्तो लाग्छ ।

४, पुस्तककै रुपमा कृति प्रकाशन भएपछि यो बिक्रीका लागि पनि हुन्छ । तर नेपाली साहित्य बजारमा त आख्यान बिक्री हुन्छ भनिन्छ । यहाँको कृतिले बजार र पाठकको मनमा स्थापित हुने आधारहरू के के होलान्?

-नेपालमा साहित्यलाई सबै साहित्यकारको निमित्त फुलटाइम जब बनाउन सकिन्छ भन्ने अवस्था भैसकेको जस्तो लाग्दैनँ । त्येसमा पनि कविता संग्रह त कमै मात्रै बिक्री हुन्छ तर हामीले सकेसम्म पाठकसम्म आफ्ना कविता पुर्याउन कोसिस गर्न छोड्नु भएन । र म मेरो कृति उत्कृष्ट छ किनेर पढ्नुस भन्दिन बस् एक पटक पढिदिनुस र सुझावको साथै हौसला प्रदान गरिदिनुस् भन्ने अपेक्षा रहन्छ । र कुनैपनि कवि या लेखकको निमित्त सहि अर्थमा कमाई तब हुन्छ जब पाठकले कविको रचनामा आफूलाई भेट्न सक्छ ।

५, रातो नदी नपढ्दा पाठकले के चिज छुटाउला? जसको कारण यो काव्य पाठकले पढ्न मन गरोस् । कविका नाताले पाठकलाई भनिदिनुहोस् न ।

-रातो नदी पढ्दै गर्दा पाठकले बिदेशमा कस्ता कविता लेखिन्छन भन्ने जिज्ञासा राख्नुहुनेछ भन्ने लाग्छ । बिदेशमा बसेर देशको कविता लेख्न कोशिस गरेको छु । बिदेशको समाज बारे जान्न इच्छुक पाठकहरुलाई निरासा हात लाग्ने पो होकि भन्ने मलाई चिन्ता त छ । तर यो प्रथम कृति जन्मेको देशको निमित्त समर्पित कृति हो । हो कृतिमा सबै कविताहरु उत्कृष्ट छन् भनेर भन्न त सक्दिनँ । तर सबै कविता प्रेमले लेखेको छु । संग्रह पढ्न छुटेमा बिदेशमा बस्ने नेपालीहरुले देशलाई गर्ने प्रेम र समाज चासो चासो या दुख गर्दागर्दै पनि पलपल घरदेश सम्झने नेपालीपन छुट्न सक्छ । त्येसैले पनि यो रातो नदी कविता संग्रह पढ्नुपर्छ जस्तोलाग्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर