– लक्ष्मण थापा
नारायणप्रसाद पाध्या गाउँका प्रसिद्ध पण्डितको नाम हो । गाउँमा मात्र नभै छिमेकी गाउँमा पनि पुरोहित्याइँका लागि उनलाई बोलाउँछन् ।
श्राद्ध, न्वारन, सत्यनारायणको पूजा, मृत्युसंस्कारदेखि सप्ताह र नवाहका लागि उनकै नाम लिइन्छ ।
एक बिहान उनलाई फुर्सद थियो र काखे नातीलाई च्यापेर गाउँको बीचमा रहेको चौतारातिर निस्केका थिए ।
‘आहा ! कति राम्रो, गोरो र पोटिलो रहेछ, नाती त ! के हो बाबुको नाम ?’ रहर लाग्दो बालक देखेर चौतारामा उपस्थित गाउँलेहरुको प्रशंसा गरे ।
वडाध्यक्ष काँशीनाथले त काखमा पनि लिइहाले !
‘ज्याक्सन !’ पण्डितले नाती वडाध्यक्षलाई दिंदै भने ।
‘ वा ! कति गज्जबको नाम ज्याक्सनप्रसाद पाध्या ! हाम्रो पण्डितजी त पुरानो जमानाकै मान्छे भए पनि नातिको नामाकरणमा कति आधुनिकता देखाउँनु भएको , हगी !”
सबैले प्रशंसा गर्दा पण्डितजी मुसुमुसु हाँसिरहे ।
केहीबेर भलाकुसारी गरी पण्डितजी नाति च्यापेर फर्कंदै थिए ।
“एऽऽऽ ज्याक्सन ! घर आइजा ! तँलाई खान पर्दैन ?”
पण्डितजीले पछाडि फर्केर हेरे । टेकनसिंहकी सात वर्षीया छोरीले आँगनको डिलमा उभिएर बाटोमा भएको फुच्चे कुकुरको छाउरोलाई बोलाईरहेकी थिई ।
पण्डितजीलाई कस्तो कस्तो लाग्यो ।
घर पुग्ने बित्तिकै सबैले सुन्ने गरी चर्को स्वरमा भने “ आजदेखि यस्को नाम जयकृष्ण हो । खवरदार ! कसैले भुलेर पनि ज्याक्सन फ्याक्सन भन्यौ भनें ठिक हुनें छैन !”
***
प्रतिक्रिया
-
४
