– शिशिर भट्टराई

गजल १
म नेपालभन्दै सँधै गीत गाऊँ,
यही स्वर्ग मेरो यहीँ मर्न पाऊँ

गए प्राण जाओस् छँदै छैन चिन्ता,
युगौँसम्म टिक्ने सिमाना बनाऊँ

सके बाँढ्न पाऊँ नमागूँ  कसैको,
खनी खेत बारी म बाला झुलाऊँ

तिमी छौ र साथी छ यो जिन्दगानी,
भुली साथ तिम्रो म टाढा नजाऊँ

बनूँ यो धराको म सन्तान सच्चा
हसाई धरा यो म आफैँ रमाऊँ

गजल २,
जानेहरू गए हुन्छ, मन अन्तै ढल्काएर,
म बस्दिन आँखाभरि अब आसुँ छल्काएर!

साथी न हो साथ दियो, भट्टीछिर्न सिकाइदियो,
आज पालो थियो उसको साथ छोड्यो पल्काएर

छिमेकी हो दु:ख देख्यो,  पानी बोकी आएको छ,
गएकोथ्यो अघिमात्रै मेरै घर सल्काएर

समयलाई नचिनेर त्यो गालाको  डिम्पल गयो,
के गर्छ्यौ खै ? नयाँ घडी देब्रे हातमा टल्काएर ।

बाहिरबाट देखे जस्तो भित्र छैन यो दुनियाँ,
बसेको छ मुहारमा कुटिल हाँसो झल्काएर

***

प्रतिक्रिया

सम्बन्धित खवर