– डायलन थोमस
अनुवाद  – अनमोल कँडेल

त्यसरी सजिलै नमर्नु तपाईं,
हलुका भएर होइन,
जल्नुपर्छ तपाईंको बुढ्यौली
— चिच्याएर!

बरु
लडिरहनुहोस् प्रकाशसँग,
जबसम्म निभ्दैन
तपाईंको हृदयको दियो ..

यस संसारमा
कुनै पनि महान पुरुषको
शब्दले
चम्काउन सक्दैन
अमर बिजुली,
र यद्यपि
उनीहरूलाई अन्त्यमा थाहा हुन्छ
कि सधैं जित
अन्धकारकै हुनेछ
निभ्नुअघि
धिपधिप गरिरहन्छन् उनीहरू,
तर सजिलै निदाउँदैनन् ..

राम्रा मानिसहरू
अन्तिम छाल उठ्दा पनि
विलौना गरिरहन्छन्,
शायद उनीहरूले गर्न सक्थे
अझ उज्यालो कर्महरू,
जसले हरियाली छर्दै
जीवनलाई मृत्युको किनारसम्मै सजाउन सक्थ्यो ..

त्यसैले
उनीहरू पनि
प्रतिरोध गरिरहन्छन्
निभ्दै गरेको उज्यालोको ..

जङ्गली मानिसहरू,
जसले युवा हुँदा
हत्केलामा उठाउँथे सूर्य,
उनीहरू पनि पछुताउँछन्
किन गरे त्यस्तो घमण्ड,
जब अन्त्यमा डुब्नै पर्ने रहेछ
गहिरो अन्धकारमा ..

तर, उनीहरू पनि
सजिलै निदाउन मान्दैनन् ..

चिहानमा पुग्न लागेका
मानिसहरू,
जसका आँखाहरू
धमिलिइसकेका छन्,
उनीहरूको नदेख्ने आँखापनि
उल्का जसरी जल्छन् ..

उनीहरू पनि
सजिलै मान्दैनन् निदाउन,
निभ्दै गएको प्रकाशको
प्रतिरोध गरिरहन्छन् ..

त्यसैले, बुवा,
उदास भिर अगाडि उभिएर
सजिलै नखस्नुस्
तपाईं अन्धकारको सागरमा ..

बरु मलाई श्राप दिनुहोस्,
वा आशिर्वाद दिनुहोस्,
तर मेरो एउटै प्रार्थना छ:
तपाईंको मुटुको प्रकाश
जुधिरहोस्,
लडिरहोस्
निभ्न लागेको आगोसँग ..

बुवा,
मृत्यु पनि
संघर्षमै उत्तम हुन्छ,
त्यसैले, सजिलै
मृत्युलाई अङ्गाल्न हुन्न ..

त्यसरी कोमल भएर ननिदाउनु तपाईं ।

***

प्रतिक्रिया

सम्बन्धित खवर