– मौन आवाज
ए मुर्ख आइमाई !
ट्वाल्ल परेर नबस
संसार आफ्नै सुरमा कुदिरहेको छ ।
उसको आफ्नै वेग छ
उसको आफ्नै वेद छ ।
यसो गरौं
आऊ ओछ्यान मिलाउँ !
हावामा हावासँग हावा हुँदै
आगोमा आगोसँग आगो हुँदै
ग्रामीण बस्तीको चौतारी
देवालय – शौचालय भत्काउँदै जोसुकै हिँडोस् ।
जोसुकै हिँडोस्
बहुरंगी नाराका उत्तेजनाहरू फलाक्दै
आऊ
हामी यो एकान्तमा निर्विचार – निर्वस्त्र उभिउँ !
ए निरक्षर आइमाई !
कूटनीतिको कुनै स्पष्ट भाषा हुँदैन ।
राजनीतिको कुनै प्रष्ट व्याकरण हुँदैन ।
आऊ
तन्ना ओछ्याउँ !
हिंस्रक विचारको अघिपछि पछिअघि गरिरहन
हामीसँग फुर्सद नै कहाँ छ र ?
हामी त
यो युगको अन्तिम जोडी हौं ।
हामीसँग
गर्भाशयमैं मरेका शिशुहरू छन्
वृद्ध पृथ्वी
रोगी सभ्यता
र प्रशस्त अपूरणीय क्षतिहरू छन् ।
हामीसँग
कुहिएका फूल
डढेका सपना
र प्रशस्त अवर्णनीय पीडाहरू छन् ।
हामीसँग
फुटेका आँखा
भाँचिएका खुट्टा
छिनालिएका टाउका
र टुक्राटुक्रा शरिरहरू छन् ।
हामीसँग एउटा अर्थहीन उपस्थिति छ
हामीसँग एउटा अर्थपूर्ण अनुपस्थिति छ !
हामीलाई
आकाशका अवशेषहरू बटुल्दै
निर्माण गर्नु छैन अर्को आकाश
तारापुञ्जहरूमा नियोजित प्रकाश छरेर
थप्नु छैन अर्को तारा ।
बितेर गएको इतिहासको छातीमा लेख्नु छैन
विघटित समयको आधुनिक कथा !
हामी त
नदीका अविरल सन्तानहरू हौं ।
किनारामा जीवन पर्खेर किनारा मैं खरानी हुनु
हामीलाई किमार्थ स्वीकार्य छैन ।
मत्स्य – जुनीको काल्पनिक पोखरीमा
लास जस्तो तैरिएर कति छचल्किनू ?
हामीलाई पुग्नुछ सत्यको – शान्त चिहान !
ए दिग्भ्रमित स्त्री !
आऊ
यो आदिम जंगलमा कामदेवको प्रार्थना गरौं
आऊ
तिम्रो सनातन योनीको अनुष्ठान गरौं
आऊ
मेरो प्राचीन लिंगको आराधना गरौं ।
ए लाटी !
यो भीडले कुल्चेर गएको बहुल पाइतालाहरूमा
कति बाटाहरु पुरिएका छन् ?
कति यात्राहरु पुरिएका छन् ?
कति यात्रीहरु पुरिएका छन् ?
अंकहरुको अन्तिम गन्तव्य शून्यता हो
आऊ
मौनताको अनन्त गहिराइमा समाधिस्थ हौं !
आऊ
हामी नसुने जस्तो गरौं
आऊ
हामी नदेखे जस्तो गरौं
आऊ
हामी नबोले जस्तो गरौं
आऊ
हामी नभए जस्तो गरौं ।
यो ब्रम्हाण्डमा अस्तित्वका असंख्य विरोधाभासहरू छन्
असंख्य ईश्वरहरू छन्
असंख्य धर्म र व्याख्याहरू छन्
असंख्य वाद र सिद्धान्तहरू छन्
असंख्य भ्रम र रहस्यहरू छन् ।
आऊ
प्रेम बिर्सेर आऊ
आऊ
कुण्ठा बिर्सेर आऊ
आऊ
सम्पूर्ण आगत / विगत र जगत बिर्सेर आऊ ।
ए पतित नारी !
आऊ
यो पतित पुरुषको अंगालोमा आऊ
जिब्रो चाटौं
कान टोकौं
शरीरमाथि शरीर घिसारौं ।
हामी ठीक त्यसरी नै स्खलित होउँ
जसरी
ईश्वर आफ्नो धर्मबाट स्खलित हुन्छ
जसरी
प्रकृति आफ्नो नियमबाट स्खलित हुन्छ
जसरी
सरकारहरू आफ्नो दायित्वबाट स्खलित हुन्छन् !
ए पवित्र नारी !
आऊ हामी सम्भोग गरौं !
***
प्रतिक्रिया
-
४
