– प्रमुना पाैडेल

गजल १
दुखेर मुटु खस्दा आँसु पुछिदिने तिम्रो मन यति भए पुग्छ
जीवनका हरेक पल खुसी दिने तिमी झन यति भए पुग्छ

खरको झुप्रो बिर्साउने महल चाहिन्न याद राख मलाई
मेरा दु:खहरु हाँसखेल गर्ने आँगन होस् यति भए पुग्छ

धेरै गार्‍हो हुने रहेछ आमा चोट सहन घरीघरी यहाँ
सक्छाै भने फर्काइदेउ भगवान् बचपन यति भए पुग्छ

पिरै पिर सहेर बाच्न सक्दिन अब त अत्ति भयो
मृत्यु देउ आगो लाउन सलाई र बन यति भए पुग्छ

किन हरेक दिन पलपल मरेर पनि जिउँदो रहिरहनु
जलाइदेउ तिम्रा यादले मुटु दनदन यति भए पुग्छ
गजल २
हिजो तिमीले समाएको हात बदलिन सक्छ
रुख उही भए पनि हाँगा पात बदलिन सक्छ

जान त गयाै यो दिलबाट फर्किन ढिला नगर्नु
भोलि तिमी फर्किदा मेरो जात बदलिन सक्छ

कसैलाई भुलेर निदाउन त्यति सजिलो कहाँ छ र?
आउँछ मनमा परेड खेलिरहन्छ रात बदलिन सक्छ

यसकारण रहेछ यी आँखामा आँसु कहिल्यै नरित्तिने
जानीजानी मुटु दुखाइ जानेको जमात बदलिन सक्छ

हेर!दिन जस्तै सदा गाैरवशाली रात कहाँ रहन्छ र?
कुनै दिन “प्रमुनाको”पनि औकात बदलिन सक्छ

प्रतिक्रिया

सम्बन्धित खवर