– उमेश अकिञ्चन

धर्ती र आकाश जोडेर
उभिएको इन्द्रेणी

चट्टानसँगै जुध्दै हिँडीरहेको
एक लहर

को हौ तिमी ?

प्रत्येक मानिसको आँखा आँखामा
प्रिय फूलको पत्र पत्रमा बस्ने

कहाँ हो तिम्रो ठेगाना ?

हामीलाई थाहा छ
सबैभन्दा खतरनाक हुन्छ आगो

आगोलाई पनि खरानी बनाउने

सबैभन्दा अग्लो हुन्छ आकाश
आकाश भन्दा पनि माथि माथि बादलसँग डुल्ने

के हो तिम्रो शक्ति ?

रकेट भन्दा उग्र गतिमा दौड्ने खहरे
ध्यानमग्न कुनै भिक्षुजस्तो शान्त अति शान्त समुद्र

कुन हो तिम्रो असली रुप ?

पानी
मलाई बग्न मन छ
जीवनका तिम्रै आयामहरू

पानी मलाई मन छ
रंगविहिन, स्वादविहिन तिम्रो कायामा
अमृत अस्तित्व बाँचिरहन

के
तिमीलाई मञ्जुर छ ?

***

प्रतिक्रिया

सम्बन्धित खवर