– यल्जी विवश

गजल १
लासको सास कसरी चल्छ, हामीलाई थाहै हुँदैन !
र हाम्रै लास कसरी जल्छ, हामीलाई थाहै हुँदैन !!

हामी यसरी नै बच्चाजस्तै,खेलीरहन्छौ भीरमाथि,
यो भीरको ढाड कति गल्छ, हामीलाई थाहै हुँदैन !!

यो फूलको जवानी फक्रीएछ,कतिखेर मुस्कुराउँदै,
फूलेको लाली कसरी फल्छ, हामीलाई थाहै हुँदैन !!

सगरमाथा,  ताजमहल, अनि  देउराली मायाको,
लौ एकैचोटी कसरी ढल्छ, हामिलाई थाहै हुँदैन !!

एउटा अन्तिम क्यानभास  रंगाउने  सपना छँदै-
यमराजले  कसरी छल्छ,  हामीलाई  थाहै हुँदैन !!!

गजल २,
जमानामा डुलेको हो, त्यो डाँडा पहिलोपल्ट
छुँदाछुदैँ गुलाबलाई, बिझ्यो काँडा पहिलोपल्ट !

नदि बनी बग्छ जीवन, बगर बनी फँस्छ जीवन
एक्कासी बगरसँगै बस्यो माया पहिलोपल्ट  !

बशन्तको हरियाली लाग्थ्यो सँधै साथ पनि,
शिशिरको एक बिहाँन टुट्यो बाचा पहिलोपल्ट !

न्यानो दिने घाम थियो,शितल दिने जून थियो
पन्चर भए, उनिहरु निस्क्यो हावा पहिलोपल्ट !

औँलामै घुम्छ जगत बलवान  छु म त साह्रै-
रुन्नँ-रुन्नँ भन्दाभन्दै भिज्यो आँखा पहिलोपल्ट !

***

प्रतिक्रिया

सम्बन्धित खवर