– प्रचण्ड गौतम

१,
टुक्राटुक्रा हुने, फेरि पूर्ण हुने प्रेमको के मान गर्नु
यथार्थ थाँती राखेर विचारविहिन भ्रम भान गर्नु
हृदयको दाग लुकाएर चाँदको दागलाई गिजाउनेसँग
आफ्नैँ रागले चाउरिने मरिचको के बखान गर्नु !

२,
मलाई देखेर उसको अनुहार खुम्चिन सक्छ
अविश्वासको आगोले जीवन सल्किन सक्छ
जिन्दगी बर्वाद हुनेगरी कसैलाई झूट नबोल्नू
लुकाउँदालुकाउँदै झूट स्वयम् देखिन सक्छ !

३,
बलेको आगो खान्छु भन्छ, रीस मार्न चाहँदैन
निर्दोषको दोष देख्छ, आफू तल पार्न चाहँदैन
विचार गर्दैन गल्ती गरिरहेको हुन्छ सधैंभरि
ऊ यति झूटो बोल्छ, झूटलाई सुधार्न चाहँदैन !

४,
यहाँ लास पनि नक्कली कात्रोमा बिक्छ
टिक्नुपर्छ सरकार जसरी भए पनि टिक्छ
देशको लागि बर्बराउनुमा स्वाद के हुनु
बोल्नुभन्दा चुपचाप मौनता नै ठिक छ !

५,
आफू बाहेक अरुले बोलेको झर्को मान्छ
टर्रो छ आफूलाई नुन जतिकै चर्को मान्छ
गरीबको बस्तीमा जो पस्दैन लिएर टालो
उसैले आज आफूले आफैंलाई बर्को मान्छ!

***

प्रतिक्रिया

सम्बन्धित खवर