– नेत्र एटम

शून्यतालाई समेटेर
धर्तीमा पोखिन्छु
आफैंभित्र रित्तिन्छु
अनि खाली खाली भएर बग्छु !
ओरालोमा जमिनलाई गति दिन्छु
उकालोमा उक्लिंदै उक्लिंदै
सतह समतल पार्छु
ढुङ्गाको जोर्नी छुट्ट्याउँछु
बालुवाको छाती छेडेर
मुटुको ढुकढुकी समाउँछु
जराबाट हाँगा हाँगामा पस्छु
बाफ बनेर पात पातबाट निस्किन्छु
आकाशमा डुल्छु
विपरीत आवेशसित प्रतिस्पर्धा गर्छु
आगोलाई आमन्त्रण गर्छु
आफ्नासितै लड्छु
अर्कासित मिल्छु
उचालिन्छु, मक्ख पर्छु
जम्छु, गौरव गर्छु
आफ्नै स्वभावले हुत्तिंदै
आफ्नै आवाजले काप्दै
सहोदरसित ठोक्किन्छु
अत्तालिन्छु, पखालिन्छु
फुट्छु, पातलिन्छु
अनि विवश भई
थोपा थोपामा तल झर्छु
कहालिन्छु, चिच्याउँछु
पछारिन्छु जमिनमा
फेरि असरल्ल पर्छु
कलुषको कठोर पोखरीमा पौडिरन्छु
जहाँ जाऊँ, जस्तो होऊँ, जे गरूँ
अरूलाई भुमरीमा पारेर मात्र
म मग्नमस्त हुन्छु !

पानी हुँ तर पनि,
पानी हुन हरसम्भव इन्कार गरिरहन्छु !

***

प्रतिक्रिया

सम्बन्धित खवर