
– डि जि शर्मा
ऊ चाहँदैन कि
म शिखरमा पुगुँ
त्यसैले त ऊ
मेरो खुट्टा समाइरहन खोज्छ
कहिले मालिस गर्ने बाहानामा त
कहिले धोइदिने बाहानामा
ऊ मेरो खुट्टा सुम्सुम्याइरहन्छ
मानौँ ऊ मेरो नोकर हो
कतै ठेस लागेर
म लडिहालेँ भने पनि
सबैभन्दा पहिले
उठाउन उही आइपुग्छ
ऊ चाहँदैन कि
म आफैँ उठुँ
उसलाई थाहा छ
म आफैँ उठेर दौडिएँ भने
ऊ पछाडि छोडिने छ
त्यसैले
मलाई उठाउन पनि
उही आइपुग्छ
जहाँ म लड्नुमा पनि
उसैको हात छ
हरपल ऊ मेरै साथमा रहन चाहन्छ
ताकी म पुगेको ठाउँमा
ऊ पनि पुग्न सकोस्
मैसँग उठ्छ मैसँग बस्छ
दौडिनु परे पनि मैसँग दौडिन्छ
उसलाई सिरानी पनि
मेरै भागको आधा चाहिन्छ
मानौँ ऊ मेरो श्रीमती हो
ऊ चाहँदैन कि
म कतै पुगुँ
त्यसैले त ऊ
मेरो बाटोमा तगारो बनेर उभिरहन्छ
ऊ चाहँदैन कि
म कतै यात्रामा निस्किऊँ
उसलाई पटक्कै मन पर्दैन
म एक्लै हिँडेको
उसलाई थाहा छ
एक्लै हिँड्नेहरु छिटो पुग्छन
त्यसैले त
अनेक उपाय लगाइरहन्छ
मेरो अवरोधका लागि
मनौँ ऊ मेरो दुश्मन हो
उसको एक्लो प्रतिस्पर्धी मैँ हुँ
कहिले घरको छत नाप्छ
र मेरो भन्दा एक इन्च अग्लो
आफ्नो देखाउँछ
कहिले श्रीमतीको अनुहार देखाउँछ
र राम्री भएकोमा मख्ख पर्छ
कहिले छोराछोरीको प्रगति सुनाउँछ र दङ्ग पर्छ
तर आफू कसैको सन्तान भएको कर्तव्य बिर्सन्छ
कहिले मेरो छातीको आकार नाप्छ
र आफ्नो छाती फुलाउँछ
कहिले मेरो उचाइ नापेर
आफू अग्लो भएकोमा गर्व गर्छ
उसलाई थाहा छ
आफू अग्लो हुन
अरु होचो देखिनु पर्छ
त्यसैले त
ऊ चाहँदैन कि
म शिखरमा पुगुँ
***
प्रतिक्रिया
-
४