– डिइबी सिकारु

जीवनमा आउने जाने क्रम चलिरहन्छ र चल्नु जरुरी पनि छ। कोही आउनकै लागि आउँछन् भने कोही केही न केहीका लागि मात्र आउँछन्। परदेशको काम आफ्नो शरिरलाई भन्दा कामलाई माया गरेर काम गर्नु पर्ने हुन्छ।

मध्य दिउँसोको समय सात सूर्य निधारमा बज्रि रहेको बेला ब्रेक टाइमको मौका छोपेर मोबाइलमा डाटा अनमात्र के गरेको थिएँ, ‘ट्रिङ्ग’ नोटिफिकेसन रन्क्यो । यसो हेरेको फेसबुक मेसेन्जरमा स्कुल पढ्दाको साथी मौसमको मेसेज देखा पऱ्यो । लेखिएको थियो ‘बाईक किन्न लाको एक लाख जति पैसा लगाइदेन यार।’

म मुखमा कुबिन्डो अड्किएको बोकोझैँ भै गएँ । भनौँ, मुर्ति भै गएँ । अवाक अवाक । रिप्लाईमा लेख्न मन थियो ‘पहिला गाँस, बास, कपासको व्यवस्था गर अनि बल्ल बाईक किन् । काठमाण्डुमा कोठा भाडामा बसेर के को बाईक? मुखलाई माड छैन खै के जातिलाई के भनेको जस्तो’ तर लेखिन । हुन त मान्छेको आ-आफ्नो सोच, प्लान हुन्छ । उसको व्यक्तिगत कुरामा म किन छुच्चो बन्नु ।

यता म भने आफ्नै आर्थिक व्यवहारमा लहराले जेलिएको रूखझैँ भएको छु । कहिल्यै नसम्झिने साथी मौसम आज सम्झेर आएछ बेमौसममा। तै पनि साथी हो केहि त उपाय निकाल्न सकिन्छ कि भनि म माछा कुरिरहेको बकुल्लो भएँ । अन्तमा उसले भने जति नसके नि थोरै भए पनि सहयोग गर्न पऱ्यो जस्तै भए पनि साथी हो भनेर अर्को दिन बिहानै मेसेन्जरमा छिरेको खै के बुझ्यो कुन्नी ब्लक हानेर गायब भै सकेछ ।

यतिबेला मौसमलाई सम्झेर मनमा अनेक तर्कना खेलिरहेछन् ।

***

प्रतिक्रिया

सम्बन्धित खवर