साहित्य लेखनमा नयाँ-नयाँ कुरामा जोखिम उठाउन रुचाउने सिजन श्रेष्ठ मूलत: कवि हुन् । कविता बाहेक गीत, गजल र निबन्धमा समेत कलम चलाउने यिनका कवितामा प्रयुक्त कल्पना र यथार्थताको संयोजनकारी भाषा जादुयी र चित्ताकर्षक छ । कविताप्रति नवीन चिन्तन गर्ने उनी २०७२ सालमा तनहुँको देवघाटधाममा आयोजना भएको राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम, २०८० सालमा गण्डकी वाङ्‍मय प्रतिष्ठानद्वारा तनहुँको दमौलीमा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा द्वितीय, २०८० सालमै राप्रपाद्वारा काठमाडौंमा आयोजना भएको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगितामा तृतीय हुनुका साथै अन्य थुप्रै राष्ट्रियस्तरका कविता प्रतियोगिताहरूमा समेत पुरस्कृत भइसकेका छन् । सामयिक विषय र राजनीतिभन्दा पर यिनका कवितामा बेग्लै आलाप र ध्वनि गुन्जायस हुन्छ । सङ्खुवासभाको वानामा वि.सं. २०४९ सालमा जन्मिएका उनले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक, वित्तीय व्यवस्थापनमा स्नातकोत्तरका साथै जनप्रशासनमा समेत स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । साहित्य सिर्जनाका अलावा कला, सङ्गीत, फोटोग्राफी र खेलकुदमा ज्यादा रुचि राख्ने उनी हाल सरकारी सेवामा आबद्ध छन् । विभिन्न साहित्यिक पत्रिका र साहित्यिक कृतिहरूको सम्पादन समेत गरिसकेका र अनुवाद साहित्यमा समेत रुचि राख्ने उनको वि.सं. २०६७ सालदेखि २०७६ सालसम्मको समयावधिमा रचित कविताहरू समाविष्ट ‘हावामा अल्झिएको स्वर’ पहिलो कवितासङ्ग्रह भर्खरै प्रकाशित भएको छ । यसै कृतिभित्र रहेर सम्पादक जीवन खत्रीले श्रेष्ठलाई गरेका पाँच प्रश्न र उनको जवाफ :

१. ‘हावामा अल्झिएको स्वर’ कृतिको बारेमा छोटकरीमा परिचय गराइदिनुहोस् न, जुन पढेर पाठकलाई यस पुस्तक छनोटका लागि आफ्नो धारणा बनाउन सकुन् ।

– ‘हावामा अल्झिएको स्वर’ कल्पनाको विशिष्टता र सौन्दर्य चेतनाले भरिएका कविताहरूको सङ्ग्रह हो । यसमा मैले गाउँ र प्रकृतिका नवीन बिम्ब र प्रतीकहरूको प्रयोग गरी वि.सं. २०६७ सालदेखि २०७६ सालसम्म सिर्जना गरेका संरचनागत हिसाबले लामा छोटा ५३ वटा कविताहरू समावेश गरेको छु । भाव र लयको सङ्गति सहित सुन्दर अन्तर्वस्तु समेटेर अभिव्यञ्जनात्मक भाषाशैलीमा लेखिएका कविताहरू यसमा समाविष्ट छन् । हावामा अल्झिएका स्वरहरू मार्फत मैले कवितामा अनुभूति र संवेदनाको गहिराइ, जीवन र जगतको गहिरो बोध र चिन्तनद्वारा प्रकृति, जीवन र प्रेमका रहस्यहरूको उद्‍घाटन गर्ने प्रयत्न गरेको छु । स्वैरकल्पनाको अत्यन्तै लामो र असीमित उडान भरेर पनि यथार्थतामा सुरक्षित तवरले पुनः धरतीमा अवतरित गराउन सक्ने सामर्थ्यवान् कविताहरू पाठकहरूले यो सङ्ग्रहमा पढ्न पाउनुहुनेछ ।

२. एउटा कविलाई कविता कृतिको आवश्यकता महसुस किन हुँदो रहेछ ?

– कविले आफ्नो मस्तिष्कीय श्रम र समय खर्चेर लेखेका आफ्ना कविताहरू कुनै डायरीको पानामा वा कम्प्युटरको फाइलमा सीमित राख्यो भने कसैको स्मृतिमा समेत नरहने गरी त्यो एक दिन यसै हराएर जान्छ । सीमित सङ्ख्यामै किन नहोस् तर कविताका आम पाठक, आलोचक, बौद्धिकहरूमाझ पुग्न र टङ्कण गरिएका कविताहरू मार्फत आफूलाई अक्षरहरूमा लिपिबद्ध र अभिलिखित गराउन पनि एउटा कविको लागि कविता कृतिको प्रकाशन हुनु जरुरी छ ।

३. पुस्तककै रूपमा कृति प्रकाशन भएपछि यो बिक्रीका लागि पनि हुन्छ । तर नेपाली साहित्य बजारमा त आख्यान बिक्री हुन्छ भनिन्छ । यहाँको कृतिले बजार र पाठकको मनमा स्थापित हुने आधारहरू के के होलान् ?

– पहिलो कुरा त बिक्रीको हिसाबले होस् वा विषयवस्तुको हिसाबले होस् वा होस् तिनीहरूको वैशिष्ठ्यताको हिसाबले नै । कविता र आख्यान एकआपसमा तुलनीय हुनै सक्दैन । कहाँ कविता जस्तो कलाको उच्चतम अभिव्यक्ति, कहाँ सामान्य संवादहरूले समेत भरिएको आख्यान । ज्ञान र कलाको सवालमा फेरि म के कुरामा विश्वस्त छु भने बजारमा जे कुरा बिक्दै बिक्दैन वा कम बिक्छ त्यो नै ज्यादा मूल्यवान् हुने गर्दछ । यो मेरो विश्वास मात्रै होइन । यही कुरामा सत्यता कहीँकतै लुकिछिपी हिँडिरहेको छ । यसको मतलब मैले आख्यानको महत्त्व, विशिष्टता र गरिमालाई पूर्णतया नकार्न खोजेको भने कदापि होइन ।

मैले सानै उमेरदेखि कविता लेखें । कविता लेखन यात्राको यतिका लामो समयपछि (करिब २१ वर्षपछि) पहिलो कवितासङ्ग्रह प्रकाशन गर्नुको मेरो उद्देश्य के हो भने म मेरा कविताहरूमा स्पष्ट चेत र नवीन काव्यिक चिन्तनको दाबी सहित उपस्थित भएको छु । मेरा कविताहरूमा प्रयुक्त कल्पना र यथार्थताको संयोजनकारी र जादुयी भाषा, नवीन बिम्ब र शैलीहरूको प्रयोगद्वारा सिर्जित काव्यका झङ्कारयुक्त लयदार बिसौनीहरू, प्रकृति, प्रेम र प्रकृतिप्रेम बीचको सम्बन्धको सम्मिलनले भरिपूर्ण स्वैरकाल्पनिक उडान र पुनः सुरक्षित तवरले अवतरित हुने त्यसको धरातल नै मेरो कृति बजार र पाठकहरूमाझ स्थापित हुने आधारहरू हुन् ।

४. विशेषत तपाईं प्रकृतिलाई बिम्ब बनाएर कविता लेख्ने कवि भनेर चिनिनुहुन्छ । प्रकृतिप्रतिको लगाव किन यस्तो ? प्रकृति बाहिर पनि थुप्रै विषयहरू छन् नि हैन ?

– ३६ वर्षको उमेरमै निधन भएका १८ औं शताब्दीका रोमान्टिक धाराका प्रसिद्ध बेलायती कवि लर्ड बाइरनले आफ्नो कवितामा “म मानिसलाई कम होइन, प्रकृतिलाई ज्यादा प्रेम गर्छु” भनेर लेखे । उनको कविताको जम्मा यो एक हरफ मेरो मस्तिष्कीय ब्रह्माण्डमा हरदम घुमिरहन्छ । पछिल्लो समय मानिसले विज्ञान र प्रविधिको क्षेत्रमा यति तीव्र गतिमा विकास गर्‍यो कि जसका कारण अहिले यो संसार कृत्रिम बौद्धिकताको युगमा प्रवेश गरिसकेको छ । यी र यस्ता अन्य थुप्रै भौतिक विकास र प्रगतिले गर्दा ‘हामीले यतिका कृत्रिम विकास त गरिसक्यौं । त्यसो हुँदा प्रकृति बिना पनि मानिसको जीवन सम्भव छ’ भन्ने भ्रमको सिर्जना मानिसहरूको मानसपटलमा आउन थालेको हो कि भन्ने मलाई लाग्न थालेको छ । सत्य कुरा चाहिँ के हो भने यदि प्रकृति छ त हामी मानिस पनि अस्तित्वमा छौं र यदि प्रकृति छैन त हामी मानिसको पनि अस्तित्व सम्भव छैन । जस्तो प्रकृति र अधिकारकै कुरा गरौं न । प्रकृतिका कारण मानिसहरू छन् । मानिसहरू भएकै कारण अधिकारको कुरा आएको हो । प्रकृति नभएको भए मानिसको अस्तित्व नै हुने थिएन । मानिस नभएपछि अधिकारको सवाल उठ्ने कुरै भएन । त्यसैले प्रकृति प्रधान र अन्य कुराहरू गौण हुन् । कविता लेखनको क्रममा मैले सधैं प्रधान र विश्वव्यापी विषयवस्तुलाई केन्द्रमा राखें । मेरा कविताहरूमा प्रकृति बाहेक अन्य कुराहरू चाहिँ हुँदै नभएका भने होइनन् तर ती तपसिलमा रहे ।

५. ‘हावामा अल्झिएको स्वर’ नपढ्दा पाठकले के चिज छुटाउला ? जसको कारण यो काव्य पाठकले पढ्न मन गरोस् । कविका नाताले पाठकलाई भनिदिनुहोस् न ।

– मेरो अनुभव र रुचिको विषय भएर पनि हो मेरा कविताहरूमा प्रेम, सपना, सम्बन्ध, गाउँ, प्रकृति र ईश्वरका कुराहरू ज्यादातर मुखर भएर आएका छन् । मेरो काव्यकारिताको ध्येय भनेको यी सबै कुराहरूलाई ‘स्वैरकल्पना’ नामको जहाजमा राखेर पाठकलाई कल्पनाको अनन्त आकाशमा उडान भराउनु हो । विसङ्गत राजनीति, बिग्रँदो अर्थव्यवस्था, जातीय, वर्गीय, धार्मिक र लैङ्गिक आन्दोलनका चर्का अभिव्यक्तिहरूभन्दा पर प्रेमिल र हराभरा प्राकृतिक छटाहरूले भरिपूर्ण अक्षरहरूको कलात्मक संयोजनद्वारा निर्माण भएको प्रेममय र प्रकृतिमय विचरणस्थलमा क्षणभर भए पनि सुस्ताउन चाहनुहुने पाठकहरूका लागि सायद मेरो कृति ज्यादा रुचिकर होला । तर कविताको पारखी भएर पनि ज-जसले मेरो कविताकृति पढ्नुहुने छैन उहाँहरूले मेरो किताब नपढेर पक्कै पनि धेरै कुराहरू छुटाउनुहुनेछ । मैले अघि नै भनिसकें कि म कविता लेखनको क्षेत्रमा निश्चित दाबीहरू सहित उपस्थित भएको हुँ । मेरा कविताहरूमा गाउँ र प्रकृतिका तरोताजा र नवीन बिम्बहरू छन् । स्वयम् मानिसभित्रको प्रकृति र मानिस बाहिरको विशाल प्रकृति, विश्वव्यापी विषयवस्तुहरू र आदिसत्यहरू छन् । अक्षरका आँचलहरूले ढाकिएका सौन्दर्यका केही आदिम र ज्यादातर सौन्दर्यका नवीन झिल्काहरू छन् । किशोरवयका असङ्ख्य सपना, प्रेम र नोस्टाल्जियाहरू छन् । एकान्तमा समेत एक्लै रमाउने बनाउन सक्ने बेग्लै आलाप र ध्वनिको गुन्जायस गराउने गहिरो बोध, चिन्तन र अनुभूतिहरू छन् । मेरा कविताहरूको पोखरीमा डुबुल्की मार्दै गर्दा क्षणभर नै किन नहोस् तर पाठकहरूले आफूलाई वटवृक्षको फेदमुनि ध्यान वा तपस्यामा लीन ऋषिमुनिझैँ महसुस गर्न सक्नुहुनेछ । हिजोआज ब्रोडसिटका पत्रपत्रिका र साहित्यिक कृतिहरूमा छापिने गरेका धेरैजसो कविको नाम छोपेर पढ्दा प्रायश: उही र उस्तै लाग्ने कविताहरू पढ्दा पढ्दा वा सुन्दा सुन्दा आजित हुनुभएका पाठकहरूले त झन् मेरा कविताहरू पढ्नैपर्छ । ज-जसले मेरो कवितासङ्ग्रह मिहिन ढङ्गले पढ्नुहुनेछ उहाँहरूले कम्तीमा पनि आफ्नो समय र पैसा यत्तिकै खर्च भएर गएको रत्तिभर पनि महसुस गर्नुहुने छैन भन्ने मेरो दाबी रहेको छ । ज-जसले मेरो कवितासङ्ग्रह पढ्नुहुने छैन उहाँहरूले हाल बजारमा उपलब्ध प्रचारको अत्याधिक मोह र बढ्दो उपभोक्तावादी बजार संस्कृतिको अनुकरण गरिएका कविताहरूभन्दा बिल्कुल फरक स्वाद र शैलीका कविताहरूको रसास्वादन गरी काव्यको भरपुर आनन्द लिन छुटाउनुहुनेछ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर