
– मानुषी मनु
मुक्तक १
चलिरहन्छ मनमा एउटै मात्र हुटहुटी खान नपरोस्
स्वाभिमानमा आँच पुग्ने लालचको बुटी खान नपरोस्
पसिनाको सिँचाइमा मेहनतको फल फलाउने श्रमिक सही,
तर कोही कसैलाई झुक्काई धम्काई लुटी खान नपरोस्
मुक्तक २
घाइते बनायौ तिमीले छुरा चलायौ तिमीले
जब अञ्जान हुँदै बिस्तारै कुरा चलायौ तिमीले
यो दिल वसमा छैन अचेल ज्यान होसमा छैन,
भन कस्ताे प्रेमको नशा पुरा चलायौं तिमीले?
मुक्तक ३
लुकीछिपी कति भेट्ने अँगाल्ने आँट छ कि छैन ?
जिन्दगी भर तिम्रै हुन्छु सँगाल्ने आँट छ कि छैन?
आत्म सम्मानले बाँधिएको कडा चट्टानझैँ छु म,
वर्षाएर प्रेमको बर्षा पगाल्ने आँट छ कि छैन?
मुक्तक ४
लाखौँ ताराहरू बीचको एउटा ध्रुवतारा तिमी हौ
हासोँ खुसी रोदन जे भने नि मेरो सारा तिमी हौ
करोडौंको भीडमा छानी, मैले दिलमा सजाएको,
जिन्दगीको हरेकपल साथ रहने प्यारा तिमी हौ
मुक्तक ५
कोपिला मै चुँडिनु पर्छ कोही कोख मै मारिनु पर्छ
कुरीति र कुसंस्कारको नाउँमा छाउगोठ सारिनु पर्छ
देवी, दुर्गा र कुमारीको रुपमा पुजिने तिनै नारी,
प्राकृतिक कुरामा अछुत भनि किन बारिनु पर्छ?
***
प्रतिक्रिया
-
४