– शान्ति अर्याल अधिकारी

१,
रहर लाग्दो सुन्दर बस्तीलाई जलाएर हिँड्नेको
आफूले टेकेको धर्ती आफै गलाएर हिँड्नेको
पश्चातापको गहिराईमा नराम्रोसँग डुब्ने छ जीवन
समाजमा भ्रम छर्दै अफवाह चलाएर हिँड्नेको

२,
दुख्दा मुटु आँखाबाट, बर्बर  आँशु  झर्ने  रहेछ
कोमल हृदय पनि, दुखेपछि कठोर भई मर्ने रहेछ
पैताला नभिजाई समुन्द्र पार गर्न सकिएला बरु
परेली नभिजाई जिन्दगी, पार गर्न गाह्रै पर्ने रहेछ

३,
मपाईत्व देखाउँछ मान्छे, हदै सम्म गिर्दो रहेछ
स्वार्थ पुरा गर्नैका खातिर, मुसो बनि छिर्दो रहेछ
अफसोच स्वार्थ पूरा भएपछि हात्ति बन्छ उही
के को देखोस गुण बरै, आफैँलाई पिर्दो रहेछ

४,
गर्ने रैछन रिस र डाह खोज्ने छन् ढलाउन
नगल्नु तिमी  कसैगरी खोज्ने छन् गलाउन
घुटुक्क आँशु पिएर पनि मुस्काउनु मुसुक्क,
काफी हुन्छ एउटै मुस्कान, दुश्मनलाई जलाउन

५,
तिमीलाई जस्तै अरूलाई पनि माया चाहिन्छ
छहारी बनिदिनु शितलताको छत्र छायाँ चाहिन्छ
अरे को छ र साथ सहयोग समर्थन नचाहिने यहाँ ?
भन्छन्, आफू बायाँ हुँदा साथ दिने कोहि दायाँ चाहिन्छ

***

प्रतिक्रिया

सम्बन्धित खवर