-बिनिता बेलबासे

सबैले भन्छन् नयाँ वर्ष नयाँ यो कहाँ छ
कुनै हर्ष छैन नयाँ भन्ने जोश कहाँ छ
उही पुरानो भ्रष्टाचार पुरानै भ्रष्टाचारी
उही पुरानो कालो बजार उनै कालाबजारी
लुट, मारपिट, तस्करी, घुसखोरी नारी हिंसा,
विभेद उस्तै जताततै न हिजो न्याय बोल्यो
न आज नै कुरा चल्यो नयाँ वर्ष कहाँ ।

हजारौं निर्मला यहाँ दिनदिनै लुटिन्छ्न्
बलात्कारी शिर ठाडो पारेर डुलिरहन्छ्न्
पात्रो पल्टिएको मात्र हो दिन मात्र बदलिएको ह‍ो
उही घडी, उही सुई मितिमा अंक मात्र थपिएको हो
पुराना मान्छे, नयाँ अठोट गर्छन् अरे केही छैन नयाँ,
नयाँ वर्ष भन्छन् सबैले भन्छन् नयाँ, त्यो नयाँ कहाँ छ?
छैन उमंग यो वर्ष पनि नयाँ भन्ने उत्साह कहाँ ।

उही चुरोट, उही गाँजा, उही रक्सी, उही छ कुलत
उही लागुपदार्थ, उही दुर्व्यसनी उही सडक दुर्घटना
अकाल मृत्यु उस्तै अरे केही छैन नयाँ, नयाँ वर्ष भन्छन्!
धनीको धन कहिल्यै नसकिने गरिब सधैंको गरिब
उही रामेश्यामे, उही गाउँघर उस्तै ठूला दुर्गन्धित सहर
छैन स्वरोजगारी उस्तै बेरोजगार बाध्यता वैदेशिक
रोजगारी फेरिए धेरै तिथिमिति, उस्तै छ कुर्सीमोह
उस्तै राजनीति राज्यको ढुकुटीमा राज उस्तै बिरामी पर्दा
विदेश जान्छन् भ्रष्टाचारी पुरानै छ सोच, के नयाँ कुरा थप्छन्?
छैन केही नयाँ, नयाँ वर्ष भन्छन् सबैले भन्छन् नयाँ त्यो नयाँ खै कहाँ ।

कुलतमा सुस्तता कहाँ छ
उही पुरानो मपाईंको हालीमुहाली
उस्तै पुराना तपाईंका सुन्निएका आँखा
उही खोक्रो आडम्बर, रिसराग, वैमनश्यता
काम परे हाइहाइ, नत्र उस्तै छ बाइबाई
नयाँ वर्ष कहाँ ।

छोरोको पर्खाइमा आमा पिंढीको पिंढीमै
विचरी! सकिन्छ जीवन सिंडी र बिंडीमै
टन्नै छोराछोरी, टन्नै नातीनातिना हजुरआमाका
टेक्नोलोजीको सामीप्यता, भावनामा दूरी
के कुरा गर्ने जमानाको।

नयाँनयाँ एसिड प्रहार भइरहन्छन्
केही छैन नयाँ, तैपनि नयाँ वर्ष भन्छन्!
डाक्टर कुटिइरहन्छ्न्, माफिया बढिरहन्छन्
उही पुरानो झाडापखाला, उही दीर्घरोग
उही धामीझाँक्री, उही रुढीवादी समाज
छैन भरपर्दो सरकार छैन सिटामोल।

मर्छन् बिना उपचार उस्तै छ मजदुरी, उस्तै
छ मजबुरी हासो नयाँ बन्ने हो कि, उही आँसु गहभरि
पुरानै भोकमरी, नयाँ त नयाँ मात्र महामारी
यही रहेछ नयाँ, अझै नयाँ वर्ष भन्छ्न् त्यो नयाँ खै कहाँ छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर