– सृजना ढकाल

गजल १
रैछ पैसाको अहम तिम्रो सहरमा
हुन्छ को भन्दा को कम तिम्रो सहरमा

बिर्सियौ डाँडाको चौतारी र गाउँ
चल्छ हावा पनि गरम तिम्रो सहरमा

बन्छ पानी माथि घर आँगन र बाटो
फुल्छ कसरी खै पदम तिम्रो सहरमा!

लाग्छ चर्को घाम पानी छैन पिउने
प्यास भो अधुरो कसम तिम्रो सहरमा

गर्छ  कसले  प्रेम  कसले गर्छ चासो!
भर्छ कसले खै जखम तिम्र‍ो सहरमा!

गजल २,
एक्लो छ मौनता यो थर्किन्छ बात तिम्रो
कालो छ रात मेरोेे झलमल प्रभात तिम्रो

एक्लो छ जून घाम एक्लै छ मन मेरो नि
थाप्छौ र के को जाल,हुन्छन् जमात तिम्रो!

आउ कुल्चेर जाऊ धर्ती फुलेर हाँस्ला
शिरमा लगाउँला बरु बर्सेको  लात तिम्रो

कस्तो रहर हो यो खै के खोज्छ मनले कुन्नि
डाँडा चढौँ चढौँ भो थामेर हात तिम्रो

सबले मेरो हो भन्छन् आखिर हो जून कसको!
निद्राले  नै भुलेको  बरु हो यो रात तिम्रो

***

प्रतिक्रिया

सम्बन्धित खवर