– अस्मिता पौडेल

जबजब आँखामा पट्टि बाँधिदियौ
मैले अदृश्य बनाएर लुकाइरहेँ बिगतका दृश्यहरु

जबजब पोथी भनेर आवाज खोसिदिएउ
मैले मौन बसेर सहिरहेँ आगोका मुस्लाहरु

जबजब सङ्घार नाघ्नुहुदैँन भनेर पैताला चिरिदिएउ
सानो कुनामा सगाँलिरहेँ ठूलो संसार हिँड्ने पैताला

यसरी घटित हुन्छ कुनै घटना
जसले निर्माण सुरु नहुदैँ निधारमा
टाँसिदिन सक्छ भत्किएको सुचना

यसरी फुट्न सक्छ भित्ताको घडी
जसले बिगारिदिन्छ समयको सुन्दर चेहेरा

यसरी खोलिदिन्छौ बोत्तलको बिर्को
प्रेम भित्रबाट निस्किन्छ तेजावको थोपा

यसरी जुधाइदिन्छौ आँखामा आँखा
पलभरमै दृष्टीहरु बलात्कृत हुन्छ्न

पितृसत्ताको आड लिएर यसरी उभिन्छौ कि!
लाग्छ त्यहाँ भन्दा बलियो अरु पर्खाल छैन

अहम र अहंकारले यसरी प्रहार गर्छौ कि!
लाग्छ त्यहाँ भन्दा धारिलो कुनै हतियार छैन

सिथिल तराजु झुन्डिएको छ
कानुनको किल्लामा
जो चाहेर पनि दायाँबायाँ समान देखाउनै सक्दैन
जो चाहेर पनि दायाँबायाँ समान बनाउनै सक्दैन

अहङ्कारी पुरुषार्थको नुन खादै
हिंडिरहेछ कलम
जसले सधैं मेरो मात्रै गल्ती लेखिरहन्छ

ए !म बाँचेको युग
तिमी यति त सजग हुनु कि
यस्तो समय कहिल्यै नआओस्

जहाँ समयको सन्दुक भित्र मातृत्व लुकाएर
बन्जर बनाउनुपरोस आमाको हृदय
उत्रिनु परोस् बिद्रोहको महायुद्दमा

जहाँ पैताला काटेर समय
हिँड्नुपरोस खोच्याउदै खोच्याउदै
जस्तो कि हिँडिरहेछ
मेरो देशको वर्तमान !
***

प्रतिक्रिया

सम्बन्धित खवर