– बासु सापकोटा
१.
बितेका दिन रात हप्ता महिना  कयौँ साल छ
ती र यी मन भित्र उब्जेका  अनेकौँ सवाल छ
अहिले आएर यसरी कोल्टे फेर्न पाउन्नौ प्रिया
साक्षी_त्यो पल छ_ एकान्तमा अङ्कमाल छ।
२.
माया बाहिर मात्र नहोस् गढिलो भित्र होस्
मेटेर नमेटिने खालको  मुटु भित्र चित्र होस्
मैले यही नै प्रार्थना गर्ने गर्दछु  भगवानसँग
तिम्रो सदैव तारिफ होस्  योग्य चरित्र होस्।
३.
ठिक्क हैन तिव्र गतिमा चलेको छ अचेल
बिमार भयो  यो मन,  गलेको  छ  अचेल
बाहिरबाट  हेर्दा त  ठिकठाक  देखिन्छ नै
भित्र भित्रै  दनदन मुटु  जलेको छ  अचेल।
४.
टेकेको मात्र थिएँ उमेरले, सोह्रबाट  सत्र
लेखेर  पठाएकी  थियौ, पहिलो  प्रेमपत्र
सानैदेखि मायाको जग  दह्रो भएर होला
गरि रहेकी छ्यौ राज,यो दिलमा एकछत्र।
५.
तिमीले, दिनहुँ बोक्ने घाँस दाउरा, डोको बनेर
सँगै रहन  मन छ औधी, मायाको  पोको  बनेर
तिम्रो यो माया-प्रेमले यति आकर्षण गरायोकी
तिनै हातले खुवाएको खान मन छ,भोको बनेर।

  1. ***

प्रतिक्रिया

सम्बन्धित खवर