समकालिन नेपाली कवितामा चिनिएका कवि छविरमण सिलवालको  सहृदयी स्वरहरू‘ (संयुक्त कवितासङ्ग्रह२०५९) मनकोशिविरबाट‘ (२०६७) दुई कवितासङ्ग्रह प्रकाशित छन् ।शैली भावका दृष्टिले सरल कविता लेख्ने सिलवाल सुनकोसि साहित्यप्रतिष्ठान , काभ्रेली साहित्य समाज लगायत दर्जनौ साहित्यिक संस्थाहरूमा आबद्द छन्

सिलवालको डोरम्याट कवितासङ्ग्रह भर्खरै बजारमा आएको यसै सङ्ग्रहको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीले कविसँगसोधेको पाँच प्रश्न जवाफ :

१, डोरक्याट कविता सङ्ग्रहको बारेमा छोटकरीमा परिचय गराईदिनुहोसन्, जुन पढेर पाठकलाई यस पुस्तक छनोटका लागि आफ्नो धारणा बनाउन सकुन ।

डोरम्याट’ भित्र विविध सन्दर्भका कविताहरु छन् । सार्वभौम मानवीय जीवनलाई अभिव्यक्त गर्ने वैयक्तिक जीवनका विशेष सन्दर्भदेखि  बेमेल र विभेदपूर्ण समाजको चित्र तथा राजनीतिक वृत्तभित्रका विकृितका साथै मैले भोगेको समाज र समयको यथार्थलाई कवितामार्फत् प्रस्तुत गर्न खोजेको छु । विद्यमान समाजमा रहेका कतिपय मान्छेका भोगाइहरु साझा हुनसक्छन्, अनुभवहरु पनि साझा हुन सक्छन् । तर त्यसलाई अभिव्यक्त गर्ने शैली फरक हुन्छ ।  म कल्पना भन्दा यथार्थमा विश्वास गर्छु ।  यो सत्य हो आज मैले भोगेको समाज र समयलाई मेरा सन्ततीले परक ढङ्गले भोग्नेछ । मैले अक्षरमा कोरेको मेरो समयको चित्र हेरेर भोलि मेरो सन्ततिले मेरो भोगाइलाई बुझ्न सक्नेछ ।  त्यसकारण पनि मैले मेरो समयको यथार्थ चित्र कोर्नुपर्छ भन्ने लाग्छ । यसैको फल हो ‘डोरम्याट’ ।

२, बि.सं. ५९  सालमै संयुक्त कविता संग्रह सहृदयी स्वरहरू प्रकाशन गरी २०६७ सालमा एकल कविता संग्रह मनको शिविरबाट प्रकाशन गरिसक्नु भएको कवि । ६७ सालदेखि हालसम्मबीचमा लामो अन्तराल रह्यो कविता पुस्तक आउन । यो अन्तराल किन?  यतिका अन्तराल पछि पुस्तककार रुपमा आउँदा लेखनमा र आफ्नो विचारमा के फरक पर्दो रहेछ?

पुस्तक प्रकाशन गर्नको लागि धेरै समय लागे पनि लेखन कर्मसँँग भने निरन्तर जोडिएकै छु । यसै विचमा ग्रिनविचको साँझ नियात्रासङ्ग्रह प्रकाशन भएको छ । बालसाहित्यका तिन पुस्तकहरु प्रकाशन भएका छन् । कविता लेखनमा केही कमि आएको भएतापनि अन्य विधामा भने निरन्तरता दिएकै छु । पहिलेका दिनहरु भन्दा अहिले आफुले आफैलाई लेखन र विचारमा परिपक्क बनाएको भने पक्कै छु ।
३, यहाँ एक कुशल पत्रकार, व्यावसायि, समीक्षक, निबन्धकार, र कवि अन्य व्यावहारिक जिन्दगी त छदैँछ । खासमा कविता के रहेछ? डोरम्याटले यसअघिका कृतिहरूसँग कस्तो सम्बन्ध राख्छ?  के फरकपन छ यो कृतिमा?

कविताको परिभाषा तथा कविताको बारेमा भन्नु पर्दा हामीले कविताका इतिहास तथा स्वरुपका बारेमा बुझ्नु जरुरी देखिन्छ, अहिले त्यो सम्भव देख्दिन, थोरै शब्दमा भन्नु पर्दा कविता हाम्रो समाजका सङ्गत–विसङ्गत पाटाहरुलाई शुष्म रुपमा केलाएर निकालिएको अमृतको रुपमा मैले लिन्छु, जो पिएर मान्छे सत्मार्गमा लाग्न सकोस् । समाज र मान्छेलाई सत्मार्गमा डोर्याउने एउटा असल मार्गनिर्देशक हो कविता भन्न चाहन्छु । मेरा यस अघिका कृतिहरु भन्दा डोरम्याट पक्कै फरक छ, जहाँ बुबाका स्मृति ताजा बन्छन् । प्रस्तुतिमा परिपक्क भएको छु, आधा सताब्दी उमेर पार गर्दै गर्दा समाजका धेरै उतारचढावहरुको साक्षी बसेको छु, जीवनको उकाली जतिजति उक्लदै जान्छ, त्यतित्यति अनुभव वढ्दो रहेछ, हो त्यहि अनुभव सबैमाझँ पस्कन पाएको छु ।

४, आख्यानका तुलनामा कविताहरू कम पढिन्छन् भनिन्छ । पुस्तकाकार कृतिका रुपमा पनि आख्याननै धेरै आएका देखिन्छन् र साहित्यबजार पनि यिनैले चहल पहल गराउँछन् भनिन्छ । कविताले पाठकहरू मध्येबाट पनि पृथक पाठक खोज्छन् कि? कविनै कमजोर हुन कि? बिक्रीमा कविता सधैँ पछाडि किन होला? वा कविता मात्रै लेखेर बाँच्ने वातावरण किन छैन् ? यहाँ आफैँ पनि जिविकोपार्जनमा अर्कै व्यावसायमा हुनुहुन्छ ।

यो हाम्रो र्दुभाग्य नै मान्नु पर्छ, धेरैले भनेको सुन्छु नेपाली साहित्यमा कविता धेरै लेखिन्छ तर थोरै पढिन्छ । कविताका कृतिहरु धेरै प्रकाशनमा आएका पनि छन् । मलाई लाग्छ, मानवीय संवेदनालाई केन्द्रमा राखेर लेखिएका कविताहरु संसारमा धेरै पढिन्छन् । नारा र कुण्ठालाई त कसले पढ्ने ? वर्तमान समयमा कविताका कृतिहरु थोेरै बिक्लान तर, कविताका पाठक भने गम्भिर र धेरै छन् । त्यो नदेखिएको मात्र हो । अर्को कुरा कविता लेखेरै बाँच्न त हाम्रोमा कठिनै छ, केही कविहरु कविता बोकेर देशविदेशमा आफ्नो क्षमता देखाई रहेका पनि छन् । यहाँ आख्यानै लेखेर पनि बाँच्न सक्ने अवस्था छैन, तर हामी निराश पनि हुनु हुन्न । सकारात्मक सोच बोकेर कविता कर्ममा लागिरहनु पर्छ भन्ने मेरो धारणा छ । अनि, साहित्यले चुलो नबले पछि अन्य व्यवसाय त अगाल्नै पर्यो नि ?

५, एउटा नयाँ पाठक । उसले यति सजिलो भाषामा बुझोस् कि कविता किन पढ्ने ? उसले डोरम्याट किन पढ्नु पर्ला?

वास्तवमा कविता किन पढ्ने भन्ने प्रश्न नै जटिल छ । समाजको लागि लेखिएका कवितामार्फत समाज पढ्न सकिन्छ, विविध भूगोल, संस्कृति, रहनसहनका बारेमा लेखिका कविताले फरक संस्कृति फरक भूगोल तथा रहनसहनका बारेमा बुझ्न सकिन्छ, समग्रमा कविता पढेर आनन्द प्राप्त हुन्छ । एउटा कविको साधनासँग साक्षात्कार हुन सकिन्छ । र, कुरो डोरम्याटको कुरो छ, यस भित्र पनि पाठकले धेरै कुराको साक्षात्कार गर्न सक्छन् । तीन दशकभन्दा बढीको कविता यात्राको मेरो अनुभवले पनि यही भन्छ– मानवीय संवेदना छुने कविता यहाँ छन् । मैले कविता लेखेर ठूलै क्रान्ति गरेँ भन्ने पक्षमा पनि छैन । दुःखका भारहरुले थिचिरहँदा बोल्न सक्ने सामथ्र्य हुँदोरहेनछ । जब बोल्नु पर्नेरहेछ भन्ने ज्ञान भयो, अनि शब्दहरुमार्फत् प्रस्तुत भए आपसेआप । डोरम्याट पढ्दा पाठकहरुले यस्ता धेरै कुराहरुसँग साक्षात्कार गर्नसक्छन् । समय र पैसा पक्कै सदुपयोग हुनेछ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर