-समकालिन नेपाली काव्य र निबन्धमा मोमिलाको नाम हटाउने हो भने केही न केही अभाव खड्किएको महशुस हुन्छ । लेखन, सम्पादन, अध्यापन र संस्थागत कार्यहरूमा समेत उत्तिकै सक्रिय २०४४ मा ‘प्रतिक्षा फेरि चिताको’ शीर्षक कविता प्रकाशित भएको थियो । त्यसयता निरन्तर साहित्यकर्ममा सक्रिय मोमिला युवापुस्ताकी सशक्त प्रतिभा हुन् । अनेकौँ राष्ट्रिय अन्तराष्ट्रिय स्तरका पुरस्कार तथा मान–सम्मानद्वारा पुस्कृत तथा विभूषित भइसकेकी उनको ‘पैयु फुल्न थालेपछि’ कवितासङ्ग्रह (२०५२) उनको पहिलो प्रकाशित कृति हो । दोस्रो कृति जूनकीरीहरु ओर्लिरहेछन्(२०५५), तेस्रो कृति दुर्गम उचाईमा फूलको आँधी(२०६०) लगायत उनको दुई ओटा कविताकृति Selected Poem अङ्ग्रेजी संस्करण र भीमसेन थापाको सुसाइट नोट(२०७०) प्रकाशन भएका छन् ।

कवि/निबन्धकार मोमिलाको निबन्ध कृति ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ प्रकाशनको संघारमा रहेको छ । यसै कृति माथि सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र जवाफ ।

१. ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ निबन्ध सङ्ग्रहका लागि यहाँलाई शुभकामना । यो सङ्ग्रहको बारेमा छोटकरीमा परिचय गराइदिनुहोस् न, जुन पढेर पाठकलाई यस पुस्तक छनोटका लागि आफ्नो धारणा बनाउन सकून् ।

–  सर्वप्रथम त ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ निबन्ध-सङ्ग्रहका लागि दिनुभएको शुभकामनाका लागि हार्दिक धन्यवाद प्रिय कवि भाइ !  जहॅासम्म  पाठकका निम्ति यो पुस्तकका बारेमा भन्नुपर्दा मौसमी विषयभन्दा अलिक प…र सम्पूर्णमा जीवनको सेलिब्रेसन हो, अस्तित्वको सेलिब्रेसन हो ।  यो अस्तित्व-उत्सवमा मेरा सम्पूर्ण भावकहरूलाई हार्दिक निमन्त्रण गर्दछु !

२. बि.सं. २०५२ सालमा पहिलो कविता-सङ्ग्रह प्रकाशनपछि २०५३ सालमै संयुक्त निबन्ध-सङ्ग्रह र लगातार दुईओटा कविता-सङ्ग्रह प्रकाशन गरी २०६३मा पुनः “ईश्वरको अदालतमा आउटसाइडरको बयान” निबन्ध-सङ्ग्रह समेत प्रकाशन भएको थियो । फेरि २०७० सालमा “भीमसेन थापाको सुसाइड नोट” कृति आएपछि यो बीचमा लामो अन्तराल रह्यो पुस्तक आउन । यो अन्तराल किन?  यतिका अन्तरालपछि पुस्तककार रुपमा आउँदा लेखनमा र आफ्नो विचारमा के फरक पर्दो रहेछ?

– वि.सं. २०७३ मा निबन्ध-सङ्ग्रह प्रकाशनको योजना भए पनि प्राविधिक गडबडीले प्रकाशनमा ढिलाइ भइरहेको बेला भूकम्प र कोरोना दुवै जीवनको महाविसङ्गत पराकाष्ठासॅंगको साक्षात्कारले युद्ध लडिरहेको निरीह येद्धाजस्तो  दर्शक नभएर पात्रतामै रहनुपर्दा प्रथमतः जीवन सोच्नुभन्दा जीवन बॅाच्नुमा समयको रफ्तार बगेको प्रमाण हो- प्रकाशनको लामो अन्तराल ! यसमा लेखन र विचारबीच स्वाभाविक फरक पर्न जाँदो रहेछ ! किनकि लेखन एउटा बिन्दुमा अडिन्छ, र समयसॅंगै रङ्ग बदलिॅंदै बगिरहने जीवन सम्बद्ध विचारको रङ्ग पनि बदलिनु कुनै अनौठो कुरा होइन । यद्यपि वैचारिक आत्माको रङ्ग उस्तै हुन्छ भन्ने म ठान्दछु ।

३. प्रश्नहरू हरक‍ोहीसँग हुने गर्दछन् । प्रश्नहरूको प्रकार र ती प्रश्नहरूले अपेक्षा गर्ने जवाफको उचाइ पनि भिन्न-भिन्न होलान् । यहाँ एउटा सफल कवि, निबन्धकार कुशल सम्पादक पनि हुनुहुन्छ । एउटा साहित्यकारले आफ्नो साहित्यिक कृतिहरूमा प्रश्न उठाउने र उत्तर पनि दिनुपर्ने दायित्व कतिको रहला? नेपाली साहित्यकारहरूको साहित्य लेखन र उनीहरूले दिन सक्ने समाधानबीचमा तालमेल होला? प्रश्नहरू बाँकीनै रहे पनि उत्तर पनि त दिँदै जानुपर्छ नि हैन?

– साच्चै भन्ने हो भने उत्तरहरू भएर नै ती प्रश्नहरू भइदिन्छन् ! मात्र अन्तर्चक्षुले खोज्नुपर्छ भन्ने लाग्दछ । यसैले प्रश्न जति उचाइको हुन्छ उत्तर पनि त्यही उचाइमा जान्छ ।यस अर्थमा प्रश्नसॅंगै उत्तरको दायित्व त शाश्वत भएर गॅासिएको हुन्छ । यसमा कुनै शङ्का छैन ।जहाँसम्म नेपाली साहित्यकारहरूको साहित्य लेखन र उनीहरूले दिन सक्ने समाधानबीचमा तालमेलको सम्बन्धमा व्यक्तिअनुसार, समयअनुसार, स्थानअनुसार आवरण सत्यको रङ्ग फरक पर्छ भन्ने बुझ्नुपर्छ । फेरि पनि प्रश्नहरू त बाँकी नै रहन्छन् र उत्तरको अपेक्षा राख्नेसॅंग प्रश्नसॅंगै नत्थी भएर आएका उत्तर चिनेर इमान्दारिताका साथ खोज्ने चेतना, धैर्य, साहस एवम् प्रतिबद्धता त हुनै पर्छ भन्ने लाग्छ ।

४, आख्यानका तुलनामा निबन्ध, कविताहरू कम पढिन्छन् भनिन्छ । पुस्तकाकार कृतिका रूपमा पनि आख्यान नै धेरै आएका देखिन्छन् र साहित्यबजार पनि यिनैले चहल पहल गराउँछन् भनिन्छ । निबन्ध अनि कविताले पाठकहरूमध्येबाट पनि पृथक पाठक खोज्छन् कि? नेपाली निबन्ध अनि कविताले आफ्नो असली ताकत देखाउन नसेकेको हो कि? कि पाठकमाथिनै प्रश्न गर्नु पर्ने हो?

– मूल सन्दर्भ मेरो आउॅंदै गरेको नयाँ निबन्ध-सङ्ग्रहको भएकाले साहित्यको सबैभन्दा पुरानो विधा कविताको सन्दर्भमा यतिखेर म बोल्न चाहन्नॅं । र निबन्धका बारेमा बोल्नुपर्दा हो, कम पढिन्छन् । यसै त निबन्ध साहित्यकै सबैभन्दा कान्छो विधा; जसका बारेमा नेपालको सन्दर्भमै भन्नुपर्दा अघिदेखि नै विभिन्न शैक्षिक तहमै सानासाना बालबालिकालाई समेत सहज अर्थमा ‘निबन्ध लेख’ भनेर भन्ने गरिएको परम्परा भत्काउनु कहाँ सजिलो छ र ! फेरि नयाँ सोच्नुसॅंगै हरेकले एकचोटि पागल हुनु त छॅंदै छ ! यसैले प्रेम गरेर मात्र के गर्नु प्रेम ग्रहण गर्नुपर्नेले नगरिदिएपछि भन्ने मान्यता निबन्धमा लागू हुन्छ । जसरी देवकोटा, शङ्कर लामिछानेजस्ता स्रष्टाको निबन्ध परम्परा कहाँ सजिलै स्थापित भयो र ! यसैले निबन्धका सन्दर्भमा लेखक र पाठकबीच दुईतर्फी प्रेमको माहोलमा साचो अर्थमा निबन्धको ताकत देखिएला भन्ने ठान्दछु !

५. एउटा नयाँ पाठक । उसले यति सजिलो भाषामा बुझोस् कि कविता किन पढ्ने ? उसले निबन्ध किन पढ्ने ? कविता निबन्ध नपढ्दा उसले के छुटाउँछ? अझ यहाँको प्रकाशनको संघारमै रहेको कृति ‘प्रश्नहरू त बाँकीनै रहन्छन्’ नामक कृति उसले किन पढ्नुपर्ला?

– मलाई किन बुझ्नुपऱ्यो भन्ने कुरालाई पन्छाएर मलाई बुझ्न चाहनुहुन्छ भने देवकोटाले भनेजस्तै सच्चा श्रद्धाको आँखा लगाएर मेरा निबन्धका पङ्क्त्तिका बीचबीचमा पढिदिनुहुन हृदयतः अनुरोध गर्दछु । किनकि कविताको मात्र कुरा होइन, कविहृदयविना कुनै पनि विधागत सिर्जना गर्न नसकिने भएकाले र ललित निबन्ध विधामा त झन् केही हदसम्म कवित्व चेतको  हाबी नै हुने भएकाले कविता र निबन्धलाई मन पराउनु हात्ती र हात्तीछाप चप्पलजस्तै उस्तैउस्तै कुरा हुन् । यसैले एउटा  नयाँ पाठकले ललित निबन्ध पढ्दा कविता र निबन्ध दुवैको एकसाथ स्वाद ग्रहण गर्न सक्ने छन् भन्न चाहन्छु र यसमा जीवनको एक विशिष्ट रङ्ग पनि समाहित हुन्छ भन्न चाहन्छु ।
हुन त जीवनमा सबै कुरा छुट्छन्, सॅंगै लिएर जाने के त! आखिर प्रश्नहरू त बाँकी नै रहन्छन्…!
अन्त्यमा यतिखेर सॅंघारमै उभिइरहेको जीवनका विभिन्न रङ्गहरूमिश्रित विशेष रङगमा ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ ले सच्चा भावकका हृदयमा वास मागिरहेछन्!…!!…!!!

प्रतिक्रिया

सम्बन्धित खवर