–दुर्गा वनवासी
जेठो छोराको काखमाथि छ पार्थिव शरीर । थरर कामिरहेको छ ऊ, जोडले रुन पनि सकिरहेको छैन, अभिभावकत्व निर्वाह जो गर्नु छ सबैको । घोप्टिएका छन् श्रीमती, छोरी र बुहारी खूब विलौना गरेर मृत देहमाथि । इष्टमित्र, छिमेकीहरु कोही सम्झाउँदैछन्, कोही आँसु पुछिदिँदैछन्, कोही सुम्सुम्याउँदैछन्, कोही आफैँ सुँक्सुँकाउँदैछन् । म पालैपालो सबैलाई नरुन भन्छु, उनीहरु झनझन घात गरिरहेछन् ।
तुलसाको मठछेउ गोबरले लिपेको खालि भूईँमा सारिन्छ शरीर । बाक्लिन थालेका छन् छिमेकी र आफन्तहरु । कोही जिउ फालेर रुँदैछन्, कंकला शब्दहरुमा विलौना गाइरहेछन् । नाति, नातिनीहरु, भान्जाभान्जी, भाइभतिजा र आफन्तहरु थपिँदैछन् । एउटा रोएर थाक्न नपाउँदै अर्को आइपुग्छ, वरिपरि सबै शोकाकूल देखिन्छन् । म कराइरहेँछु– ’नरोओ न ए मेरा सन्तान हो ! घात नगर न यसरी ।’ अँहँ, सुन्दैनन्, रोइरहेछन् कोकोहोलो मच्चाएर ।
लगभग सन्ध्या समय भएकोले पार्थिव शरीरलाई भोलि मात्र घाट लैजाने निर्णय हुन्छ । रुँदारुँदै थाकेका छोराछोरी, बुहारी र आफन्तलाई खान लगिन्छ । बाध्यता छ– बाँच्नेहरुले खान पर्छ मन भए पनि, नभए पनि । कोही खाँदैछन्, कोही खाएजस्तो गर्दैछन्, कोही खानाभन्दा धेरै आँसु खाइरहेछन् ।
पुनः सबै जम्मा हुन्छन मृत देह वरिपरि । जेठी छोरी झिँगा धपाइरहेकी छे । कान्छी छोरी निर्निमेष हेरिरहेकी छे चिसिँदै र फुस्रिँदै गएको अनुहार बेलाबेलै भावविव्हल हुँदै । शायद सम्झिरहेकी होली– नातिले क्यानाडाबाट हजुरबाका लागि पठाइदिएको मोबाइल सुटुक्क आफैँले राखेर अर्को अलि सस्तो किनिदिएकी । ग्लानिबोधले नै त होला बेलाबेलै भक्कानिएकी त्यसरी ।
’नरो छोरी, मलाई यो कुरा पहिल्यै थाहा थियो । लोभ र मोहको वशिभूत हुन्छ मान्छे, मानवीय कमजोरी नै त हो यो । यसका लागि मैले तँलाई पहिल्यै क्षमा गरिसकेको छु ।’ उसको कानमा फुस्फुसाउँछु, ऊ झन हिक्क हिक्क गर्दै रुन थाल्छे ।
गोडापट्टि बसेकी श्रीमति र गोडा समातेरै बसेको कान्छो छोरो पनि निक्कै भावविव्हल भइरहेछन् । अष्ट्रेलियाबाट नातिनीले छुट्याएर पठाइदिएकी केही पकेटमनी दुई आमाछोराको मिलिभगतमा कटौति भएको थियो । आश्रित, रोगी बुढोलाई धेरै पैसाको के काम भनेरै त होला । त्यो पनि थाहा नपाए झैँ गरेथेँ । त्यही अपराधबोधले होला, अलि बढी नै भावुक बनाएको यी आमाछोरालाई । एउटा शाश्वत बिछोड कति सशक्त हुँदो रहेछ, महसूस गरिरहेँछु । दुबै आमाछोराका छेउमा गएर विस्तारै फुस्फुसाउँछु, कान्छी छोरीलाई जस्तै क्षमा गरिसकेको कुरा भन्छु, खै सुने कि सुनेनन्, स्थिति उही देख्छु ।
रुँदारुँदै थाकेकी सुगरकी रोगी जेठी छोरी र प्रेसरको रोगी जेठो छोरोलाई आराम गर्ने सुझावसहित कोठातिर लगिन्छ । रात छिप्पिँदै जान्छ, छिमेकीहरु पातलिँदै जान्छन् । १०/१२ जना तासे परम्परालाई बचाइरहेछन् । लुगा ओढेर अडेसिएकी कान्छी छोरी ढल्केकै ठाउँमा निदाउँछे । श्रीमति पनि गोडापट्टि उँघ्दाउँघ्दै निदाइछ । कान्छो छोराले गोडा समातेका हातहरु खुकुला हुन्छन्, ढल्केकै ठाउँमा निदाएछ । तास खेलेर निन्द्रा भगाइरहेकाहरु पनि थाकेछन्, २/४ जना घरतिर लाग्छन्, २/४ जना त्यहीँ पल्टिन्छन् । मृत शरीर छेउमा बालिएको दियो पनि तेल सकिएर निभ्न खोज्दैछ । तेल थप्नलाई लम्कन्छु, अँहँ, तेलको शीशी छुनै सक्दिन ।
भोलिपल्ट । घाट लैजाने तयारी हुँदैछ पार्थिव देहलाई । हिजोसम्मको बुबा, काका, हजुरबा, मामा, ससुरो, भिनाजु, ज्वाइँ इत्यादिबाट फगत लाशमा परिणत भएको शरीरमा फूलगुच्छा अर्पण गर्दैछन् इष्टमित्र, आफन्तहरु । कोही भक्कानिदैछन्, कोही ठीकठीकै छन्, कोही जबर्जस्ती रोएको या पिर परेको नाटक गर्न पनि सिपालु छन् । शंखनाद र मन्त्रोच्चारणसहित हिजोदेखि चिसिएको शरीरलाई सेतो कपडामा बेरी हरियो बाँसमाथि राखिन्छ, पुनः एकपल्ट कोकोहोलो र विलाप ।
हतारमा हिँडिरहेका मानिसहरु पनि छेउ लागेर बाटो दिइरहेछन् मलामीहरुलाई । कुनै काम गर्न गइरहेकाहरुको अनुहारमा आभा झल्किन्छ दाह संस्कार गर्न लगिएको मृत शरीर देख्दा शुभ साइत पर्ने विश्वासअनुसार । परिचित, अपरिचित बटुवाहरु परैबाट ढोगिरहेछन् शवलाई । विडम्बना ! अरुका शोकमा आफनो शुभ साइतको खुशी मिसाइरहेछन् मान्छेहरु ।
घाटमा अरु पनि आफन्त र शुभचिन्तकहरु भेला भएका छन्, आउने क्रम चलिरहेकै छ । कान्छो भाइ एक्लै रुखका फेदमा सुँक्सुकाइरहेको छ । सानै कुरामा निहुँ खोजेर २ वर्षदेखि पानी नै बारेर बसेको थियो, प्रतिबन्धित थिए उसका घरका सबै सदस्य भेटघाट र बोलचालका निम्ति । दशैँको टीकोसमेत वहिष्कार गरेको थियो, एकदिन मर्नुपर्छ भन्ने बिर्सिएथ्यो शायद । अहिले निकै शोकविव्हल भएको देख्दैछु ।
’नरो कान्छा, पछुतो नमान् । सबै छोडेर जानुपर्छ एकदिन सबैले । मलाई त लालच थिएन केहीको पनि । आमाको हातको त्यही एक तोला सुनका लागि किन पानी बार्नु पर्या थियो र ? आमालाई राम्रो स्याहारेर तेरै भाउजुले राखेकी थिई आमाको चिनोस्वरुप । त्यो पनि राम्रै मुखले मागेको भए त भइजान्थ्यो । स्वास्नीका लहैलहैमा लागेर पानी नै बारिस् ।’ सम्झाउँछु म छेउमा गएर । जुरुक्क उठेर आँखा पुछ्दै घाटतर्फ लाग्छ ऊ ।
सम्पूर्ण विधिपश्चात् शरीर चितामाथि राखिन्छ । श्रीमति बेहोशप्राय छे, छोरीहरु र कान्छो छोरो पनि त्यस्तै हालतमा छन् । सबैको अभिभावकत्व निर्वाह गर्दागर्दै थाकेछ क्यारे ठूलो छोरो पनि, दागबत्ती दिनासाथ भाउन्न भएर ढल्छ, मलामीहरु खोलाको पानी ल्याएर छम्कन्छन् । बौरिएपछि रुन थाल्छ ऊ डाँको छोडेर । अमीलो लाग्छ तरै पनि केहीबेर रुन दिन्छु । केहीछिन जोडले रोएपछि विस्तारै सामान्य हुँदै आउँछ ऊ तर पनि सुँक्सुकाहट बाँकी नै छ ।
’नरो जेठो, तैँले जीवनकालभरि मलाई कहिल्यै रुवाइनस्, दुखाइनस् । एउटा असल पुत्रको कर्तव्य पूर्ण निष्ठाका साथ पालन गरेको छस्, किन पिर गर्छस् लाटा ?’ उसको छेउमा बसेर सम्झाउँछु, ऊ झन हिक्क हिक्क गर्छ । मुसार्न खोज्छु तर स्पर्श गर्नै सक्तिन ।
शरीर जलिसकेछ चितामाथि । सबै फर्किन्छन् बचेखुचेको खरानीसमेत बगाएर ।
केश मुण्डन गरी धोती बेरेर परम्परा धानिरहेछन् छोराहरु । चोलो बिनाको सारी बेरी खुला चिसो कपालमा अझ शोकमग्न देखिन्छन् श्रीमती, छोरी र बुहारीहरु । आफन्त, इष्टमित्र र छिमेकीहरु व्यस्त छन् वस्तुभाउदेखिका सम्पूर्ण जिम्मेवारीहरु वहन गर्न । घरका सबै क्रियाकर्ममा बाँधिएपछि स्वतः कर्तव्यबोध भएको हुनुपर्छ । यही रहेछ ’जिउँदाको जन्ती र मर्दाको मलामी’ भनेको ।
करेसो जोडिएको छिमेकी भक्तबहादुर– ठूलो छोराको दौँतरी । खूबै मिल्थे दुई । बुबा गुमाइसकेकाले होला, मलाई अति नै श्रद्धा गर्थ्याे, बुबा नै भन्थ्यो र दशैँमा टीका थाप्न आउँथ्यो सपरिवार । सानो सिमाना विवादले गर्दा आँगनमा बार लगाएर टाढिएथ्यो बोलचालसमेत बन्द गरेर । म बिरामी हुँदा पनि आएको थिएन । भाँजो हाल्नेहरुको पनि कहाँ कमी हुन्छ र समाजमा ? ऊ पनि त एउटा साधारण मान्छे नै त थियो, मानवीय कमजोरीहरु भएको ।
अहिले देख्दैछु– वस्तुभाउ, अह्राइखटाइमा खूबै लागेको छ । उसको आफ्नो घरमा भन्दा बढी समय यता व्यतित भइरहेको छ । उसकी जहान पनि आउने, जानेहरुको खोजीखबरी, सत्कार तथा अरु व्यवस्थापनमा व्यस्त भएकी छ । असल छिमेकीको दायित्व सकुशल निर्वाह गरिरहेछन् दुबै । छिनमै यति सहृदयी र सहयोगी हुने मान्छे किन वैमनस्य पाल्छ सस्याना कुराहरुमा ? आखिर जानुपर्ने बाटो सबैको एउटै न हो !
तस्वीरअगाडि राखेको दियो निभ्न लागेछ । कान्छो भाइ तेल थप्छ र केहीबेर तस्वीर हेरिरहन्छ । टिल्पिल भरिन्छन् उसका आँखाका डिल । असैह्य हुन्छ मलाई, मुसार्न खोज्छु, सक्तिन । छेउमा बसेर सम्झाउँछु– ’जे हुनु थियो, भयो कान्छो, नरो अब ! दुईटा दशैँ वहिष्कार गरिथिस् त्यति सानो निहुँमा । अब त तैँले दुबै परिवारको अभिभावकत्व सम्हाल्नु पर्छ । तेरी भाउजु सोझी छे, केही जान्दिन । अब तैँले दह्रा खुट्टा टेक्नुपर्छ कान्छा !’
नभन्दै आँसु पुछ्दै उठेर उसैलाई बोलाइरहेका पण्डितजीसामु उपस्थित हुन्छ ऊ । शायद केही सामग्रीहरु आवश्यक परे होलान् पण्डितजीलाई ।
भौतिक शरीर छोडेर अदृश्य भएकाहरुसँग मान्छेलाई किन होला डर पनि लाग्दो रहेछ । शायद गरुड पुराणले प्रेत कल्पको वर्णन गरेकैले हो कि ? देख्दैछु– हिजोसम्म मरिहत्ते गर्ने नाति आज चर्पीको ढोका लगाउनसम्म डराइरहेछ । हरेक रात रामायण, महाभारतलगायत थुप्रै तिलस्मी कथाहरु सुन्दै निदाउँथ्यो । माया गर्दैन भनुँ भने आँखा पाकेका टमाटर झैँ बनाएथ्यो रोएर ।
’नडरा लाटा, म केही गर्दिन, बरु तेरो रक्षा नै गर्छु, शुभाशीष नै दिन्छु ।’ सान्त्वना दिन्छु म, ऊ झन छिटो पाइला चाल्दै मानिसका जमातभित्र मिसिन्छ । बच्चाको त के कुरा, गाउँका महिला अनि जवान नै पनि अलि अबेर त्यो पीपलको फेदमुनिको बाटो हिँड्न अलि हच्केका देखिन्छन् । त्यहाँ बसेर बाँसुरी बजाउन खूब रमाइलो लाग्थ्यो मलाई । अलेलि खस्याकखुसुक सुरु हुन्छ महिलामण्डलमा र विस्तारै पुरुष जमातमा पनि पुग्छ– पीपलको फेदमा बाँसुरी बजेको सुनियो रे ! फिस्स हाँस्छु– हरे, मान्छेको मन !
ए हुस्सु हो ! बाँसुरी बजाउन भौतिक अस्तित्व चाहिन्छ, कम्तीमा पनि ओठ र हात त हुनुपर्छ । चितामा खरानी भइसक्यो देह । बिना शरीर कसरी बजाऊँला म बाँसुरी ?
बाँचुन्जेल त रहेछ स्वामित्व पनि । हिजोसम्म बुबाको पलङ भनेर छोराहरु नै पनि गोडामुनि आएर बस्थे, पत्नी र नातिबाहेक कसैको पहुँच हुँदैनथ्यो मेरो विछ्यौनामा । देख्दैछु– तेर्सो परेर दुईटा बच्चा निदाएका छन्, शायद कुनै आफन्तका बच्चाहरु होलान् । एउटा बच्चाले त पिसाब पनि गरिसकेछ निन्द्रामै । विचरा, चिसो भइरहेको होला । उठाएर न्यानो पार्नु पर्यो भनेर कोशिश गर्छु, छुनै सक्तिन । शायद बच्चाकी आमा कामकाजमा व्यस्त होलिन् । पिसाबको चिसोले असजिलो भएर होला बच्चो ब्युँझेर रुन थाल्छ । बोक्न खोज्छु, फुल्याउन खोज्छु, सक्तिन । करीब २ मिनटपछि एक महिला दगुर्दै आएर बच्चो लैजान्छिन् ओछ्यानमा पिसाबको ओसिलो गन्ध त्यतिकै छाडेर ।
तेह्रौँ पनि सकिन्छ हेर्दाहेर्दै । आँखाहरु क्रमश ओभाना हुँदै जान्छन् । कर्मकाण्डका विधान सकी गाई, बाच्छासहितका दान दक्षिणा लिएर पुरोहितहरु विदा हुन्छन् । छिमेकी र आफन्तहरु फर्किन्छन् आफनै दैनिकीमा । कान्छो छोरो समवेदनाका ठेलीहरुलाई तह लगाउँदैछ, छोरीहरु घर फर्किन आतुर छन्, बुहारीहरु घरको सफाइमा तन्मय छन् । जेठो छोरो हरहिसाबमा घोत्लिएको छ । नातिनातिनाहरु स्कुल जान हतारिँदैछन् । सेतो सारी चोलोमा श्रृंगारविहीन श्रीमती झोक्राइरहेकी छ, टल्पल छन् आँखाहरु । शायद सोचिरहेकी होली लोग्नेबिनाको बाँकी जीवन–यात्राबारे । अरु सबै उपस्थितिहरुमाझ पनि केही फरक अवश्य परेको छ उसलाई । खैर, केही समयपछि त अभ्यस्त होली नै । कानैनेर पुगेर सम्झाउँछु– ’नरो ठूली अब ! यो त सृष्टिको रीति हो, अनिवार्य नियति हो विधानको । हाम्रो तीतोमीठो सहयात्रा यहीँसम्म रहेछ, चित्त बुझाउनु पर्छ । जिम्मेवार अनि कर्तव्यनिष्ठ छन् छोरा बुहारीहरु, तेरो राम्रै रेखदेख गर्लान् । बस्, अब अध्यात्मतिर केन्द्रित हुनु, पीडा कम हुन्छ ।’
मेरो कुरा सुने झैँ गरी चिसा परेली पुछ्न थाल्छे ऊ । जेठी बुहारी कालो चिया थमाउँछे । चियाको तात्तातो वाफसँग हराउँछे ठूली फेरि आफ्नै चिन्तनमा या हुन सक्छ विगतका सम्झनाहरुमा ।
एकपटक घर वरिपरि हेर्छु, वस्तुभाउ, कुकुर, बिराला चारैतिर दृष्टि लाउँछु । सबैतिर अनि सबैलाई धित मरुन्जेल हेर्छु अन्तिम पटक अनि म पनि अर्को यात्राको तयारीमा लाग्छु, यात्रा– शुन्यतिरको, यात्रा महाशुन्यको ।
- बस् ।
प्रतिक्रिया
-
४