भगवती बस्नेत नेपाली साहित्य र सञ्चारकर्ममा क्रियाशिल हुनुहुन्छ । प्राध्यापन सेवामा समेत संलग्न बस्नेतसँग वैदेशिक रोजगारीको अनुभव समेत छ । विभिन्न संघसंस्थामा समेत अनेकौँ भूमिकामा आवद्ध उहाँ कथा, कविता, गीत, गजल, मुक्तक आदीमा कलम चलाउनु हुन्छ ।
केही अघि उहाँको पाचौँ कृति विश्वम्भरा बजारमा आएको छ । यसै कृतिसँग सम्बन्धित भएर कविसँग सम्पादक जीवन खत्रीले सोधेका पाँच प्रश्न र उत्तर निम्नानुसार छ ।

१, विश्वम्भरा कविता संग्रहको बारेमा छोटकरीमा बताइदिनुस न ।

विश्वम्भरा मेरो पाँचौ कृति हो । कविता साहित्यको एक प्राचीन विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाईन्छ । कविताका विविध आयाम पछ्याउदै जाँदा शास्त्रीय छन्दप्रति पनि मोह बढ्दै गयो । कविताको मोहनीमा मोहित हुँदै जाँदा शास्त्रीय छन्द सिक्ने क्रममा थुप्रै कविता लेखिएछ । थुप्रै कविता मध्ये आफूलाई मन परेका, प्रकाशनयोग्य लागेका कविताहरूको सँगालो नै विश्वम्भरा हो । यसमा ५१ वटा कविता सङ्गृहित छन् । मेरो निजी भावनाहरू कविता मार्फत सार्वजनिक भएका छन् । अब सबैको भएको छ, आशा छ पाठक, समालोचक, समीक्षकहरूले यसको बारे अझ बढी बताउनु हुनेछ ।

२, यसअघि पनि यहाँको चार कृतिहरू प्रकाशित भएको थिए । पहिलो पुस्तकाकार कृतिपछि विश्वम्भरासम्म आईपुग्दा आफूमा, आफ्नो चेतनामा र सृजनामा के फरकपन भेट्नुभो ? यसले पाठकलाई प्राप्त हुने फरकपन के हुन सक्ला?

साहित्य लेखन निरन्तरताको साधना हो । जीवन छ र त साहित्य जन्मिएको छ । हरेक मानिसका आफ्ना आफ्नै सोच,विचार र चिन्तन हुन्छन् । कसको  ज्ञानको दायरा कति फराकिलो छ उसले गर्ने व्यवहारबाट थाहा हुन्छ । मान्छे अरुलाई एक औला देखाउँछ चार वटा औलाले आफैँलाई  सङ्केत गरिरहेको बिर्सन्छ । मलाई लाग्छ संसारमा सबैभन्दा ठुलो कुरा आफूले आफूलाई चिन्नु, जान्नु र बुझ्नु हो । आफूले आफैँलाई चिनेको खण्डमा र लेखनलाई निरन्तरता दिँदै परिमार्जित गर्दै   गयौ भने पक्कै  हिजोको भन्दा आज सुधार हुँदै जान्छ/जानेछ । जीवनलाई केन्द्र गरी हाम्रा कर्महरू, सपनाहरू ग्रह–उपग्रहझैँ घुमिरहन्छन् । त्यो घुमाइको  केन्द्रविन्दुको आफ्नै एउटा मोहनी छ । जब हामी झुक्दछौ र स्वतः त्यो झुकाव त्यो लगावले रचनाहरूलाई प्रभावित गरिरहेको हुन्छ । लेख्नेले आफ्नो विवेक चिन्तन प्रयोग गरेर लेखेको हुन्छ, बुझ्नेले पनि आफ्नो ज्ञानको दायरा अनुसार बुझ्दछ । मैले जाने सम्म पहिले भन्दा अलि सचेत भएर लेखेझैँ लाग्छ, पाठकलाई कस्तो लाग्छ भन्ने कुरा आउन बाँकी छ ।

३, तपाईँ वैदेशिक रोजगारीमा पनि जानु भएको । गीत गजल कविता र आख्यानमा समेत साधना गरीरहनु भएको साधक । प्राध्यापनमा पनि संलग्न । एक पत्रकार । विभिन्न संघसंस्थामा आवद्ध एक साहित्यसेवी/समाजसेवी । घरको जिम्मेवारी पनि होलान् । फरक फरक आयाममा हुने फरकपन र जीवन अनि साहित्य के रहेछ?

मान्छे एउटा,जीवन एक तर हामीले निभाउनु पर्ने भूमिका अनेक छन् । यिनै भूमिकाले गर्दा हामीले हाम्रो क्षमता बुझ्न सक्छौ । जीवनका अनेक पाटाहरु छ्न् । मानवीय, सामाजिक र  पारिवारिक  ।  बौद्धिकता,संवेदनशीलता र जिम्मेवारीहरु छ्न् । पढ्नुपर्ने,जागिर गर्नुपर्ने, घर व्यवहार सम्हाल्नु पर्ने, अनि आफ्नो आत्मीक सुखको लागि साहित्य लेख्नु पर्ने । यी सबै कामका लागि अलिकति परिवारले, अलिकति समाजले र धेरैजसो आफैंले निर्धारण गर्नु पर्ने हुन्छ । जीवनमा आफूले निभाउनु पर्ने हरेक भूमिकालाई स्वभाविक मान्ने कि अस्वभाविक, बोझ मान्ने कि ‘रोज’ ? कसरी लिने भन्ने कुरा अहम् हुन्छ । जीवनको फरक फरक आयामलाई भारी, बोझ र बाध्यताको रुपमा नहेरी अरुले जस्तोसुकै देखोस् या वास्तविकता नै किन नहोस तथापि त्यो पनि परिवर्तन हुने कुरा हो भन्ने सोचाइ राख्नुपर्छ । हाम्रो जीवनलाई  सुन्दर तरिकाले जिउने र यसलाई एउटा  अवसरको रुपमा लिदै उच्चतम विवेकको प्रयोग गरेर  बाँच्दां जीवन सुन्दर बन्न सक्छ । समयसँगै मन अझ परिपक्व हुँदै जान्छ । जीवन जति भोग्दै गयो त्यति बुझ्दै गइदो रहेछ ।  जीवन झन झन अर्थपूर्ण र मूल्यवान लाग्दै जाने रहेछ । मानिसका आ आफ्ना बुझाइ र भोगाइ हुन्छन् । यस्तो  फरकपन हुनु नै मान्छे हुनु हो । म आफूलाई विभिन्न भूमिकामा बाड्दा आफैँ रमाई रहेको हुन्छु । जीवन प्रतिको दृष्टिकोण, आदर्श, करुणा र मूल्यले मलाई डोर्याई रहेको  हुन्छ । हाम्रो जीवन हाम्रा विचारहरूबाट निर्देशित हुन्छ । सबैको जीवनको यात्रा असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, असफलताबाट सफलतातर्फ नै हो र हुनुपर्छ भन्ने लाग्छ । काम र जीवन जिन्दगीका महत्वपूर्ण कुरा हुन् ।  जीवन एउटा मिठो भ्रम हो । साहित्य जीवनको कसी हो, सिर्जनाको संसार हो । हाम्रो  सिङ्गै जीवन नै साहित्य हो  ।

४, लेखन बजारमा आख्यान धेरै बिक्छ र काव्य धेर सुनिन्छ । काव्य पनि व्यावसायिक हुन के के कुरामा सुधार हुनुपर्ला?

साहित्यका विविध विधाका आ आफ्नै पाठक हुन्छन् । काब्य बुझ्न बौद्धिक पाठकको अपेक्षा गरिन्छ । कविता एउटा प्राचीन र बौद्धिक विधा हो । यो लचिलो हुन्छ । यसमा खालि ठाउँ बेसी हुन्छ । त्यसैले पाठक या वाचकले आफूखुशी अर्थ्याउन सक्छन् ।  कविताभित्र ध्वनि हुन्छ, यसले आफैतिर आकर्षित गर्छ । कुनै पनि कार्यक्रममा आफ्नो उपस्थिति जनाउन कविले आख्यान नभएर कविता नै वाचन गरेका हुन्छन । अहिले टिकटमा मुक्त्तक , टिकटमा कविता पनि वाचन भैरहेको हामी पाउँछौ । निरन्तर कविता लेखिनु पर्छ, कवितामा सङ्गीत भरिनु पर्छ । कविता कन्सर्ट गरिनु पर्छ ।  पाठकहरू आकर्षित पार्न वाचन कलामा कविले आफूलाई निपूर्ण बनाउनु पर्छ ।  कविहरुले आफ्ना कविता सितैमा छाप्ने र सितैमा वाचन नगरी पारिश्रमिक लिनु पर्छ अनि मात्र कवितालाई ब्यबसायिक बनाउन सकिन्छ ।

५, हाल नेपालमै भए पनि यहाँ लामोसमय सम्म प्रवासमा हुनुहुन्थ्यो । यहाँ एक कुशल लेखक, साहित्यकार हुनुहुन्छ । नेपालमै बसेर लेख्ने वातावरण छ? त्यो वातावरण भएरै फर्किनुभएक‍ो हो कि सम्झौता ?

जीवनको अनेक भाग दौडमा दौडदा दौडदै कहिले घरदेश कहिले परदेशमा पुगे  । जहाँ पुगे पनि साहित्य कलालाई माया गरिरहे । लेख्ने वातावरण त प्रवासमा हुँदा बढी मिल्ने गर्थ्यो । घरदेशमा त धेरै भूमिका निभाउँदा निभाउँदै साहित्य ओझेलमा पर्ने रहेछ तर पनि साहित्य मेरो जीवनको एक अभिन्न अङ्ग हो । यसलाई  जसरी पनि सँगसँगै लिएर हिडेको छु । वातावरण अनुकूल नभए पनि अनुकुल बनाउने प्रयास गरिरहेछु  । जीवन नै एउटा सम्झौता हो । हरेक प्रतिकूलसमयसँग सम्झौता गर्दै जीवन नदी बगिरहेछ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर