धादिङकी काशिका अर्याल साहित्यवृत्तमा सृजना अर्याल अधिकारीको रूपमा परिचित छिन् । राजधानी बाहिर बसेर साहित्य सिर्जनामा साधनारत सृजनाले आफ्नो परिचय मूलत: छन्दकविका रूपमा स्थापित छिन् । आफ्ना रचनाहरूमार्फत देश, समाज र सिमान्तकृत समुदायको आवाज लेख्ने उनको रचनाको अर्को बलियो पक्ष नारी स्वर हो ।

नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङको सदस्य एवम् धादिङ सिर्जना प्रतिष्ठानकी उपाध्यक्ष समेत रहनुभएकी सृजना अन्य धेरै संघसंस्थामा आवद्ध हुनुहुन्छ । उहाँका सुनको पिँजडा छन्दकवितासङ्ग्रह (२०७६) र बोध अन्तर्बोध, छन्दकवितासङ्ग्रह (२०८०) विमोचनको तयारीमा छ । उहाँको विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यमबाट गजल तथा कविताहरू प्रकाशित एवम् प्रसारित छन् । थुप्रै राष्ट्रिय पुरस्कार पाएकी सृजनाको बिमोचन हुनै लागेक‍ो कविता कृति बोध अन्तर्बोधमाथि सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र उत्तर –

१, बोध अन्तर्बोध कविता संग्रहको बारेमा छोटकरीमा बताइदिनुस न ।

– धन्यवाद सेतोमाटो परिवारलाई । म आफू जन्मेको देश, हुर्केको परिवेश सानैदेखि आफ्नाहरूबाट पाएको प्रेरणा र गाउँ समाजमा सुनिने गरेका प्रचलित श्लोकहरूको प्रभावका कारण पनि हुनसक्छ मलाई सानै उमेरदेखि छन्दप्रति मोह बढ्दै गएको हो । पछि छन्दका बारेमा अध्ययन गर्दै जाँदा जति जति यसको मिठास र महत्त्वको बोध हुँदै गयो, मलाई छन्दभन्दा बहिर निस्किन मन लागेन । पछिल्लो समय छन्दमा साधना गर्ने र छन्दमा लेख्नेहरूको कमी भैराखेको अवस्थामा छन्द बचाउनका लागि मैले पनि मेरो तर्फबाट सकेसम्म गर्नुपर्छ भन्ने लाग्यो र छन्दमा नै साधना गर्न थालेँ । त्यसकै परिणाम हो बोध अन्तर्बोध । यो समाजका विभिन्न घटना परिघटनाहरूले जन्माएका भावनाहरूको सङ्ग्रह हो, जसलाई केही प्रचलित शास्त्रीय छन्दहरूको प्रयोग गरेर कविताको स्वरूपमा ढाल्ने प्रयत्न गरिएको छ।

२) यसअघि यहाँको कविता कृति सुनको पिँजडा प्रकाशित भएको थियो । त्यसपछि यो किताब आइपुग्दासम्मको समयमा यहाँलाई कविताको बारेमा थप बोध भएको कुरा के हो ? पाठकलाई के कुराको बोध होला ?

– छन्दकविताका सन्दर्भमा साधना केही हदसम्म कम भएको कुरालाई नकार्न सकिँदैन । पछिल्लो समयमा कतिपय छन्दमा लेख्नेहरूले गण, वर्ण या छन्द मिलाउनकै लागि कवितामा जबरजस्ती शब्दहरू लाद्ने गरेको पनि देखिन्छ । त्यसो गर्दा छन्दकविता कमजोर भएको देखिनु स्वभाविक पनि हो । मलाई पनि कतिपय अवस्थामा हामीले छन्दकविताका नाममा सिलोक लेखिरहेका छौँ कि जस्तो पनि लाग्छ र हामीमा परिष्कार जरूरी छ भन्ने कुराले घचघच्याइराखेको हुन्छ। यसैपनि छन्द लेख्नेहरूको सङ्ख्या कम भइराखेको अवस्थामा छन्दकविताको स्तरोन्नतिमा मेरो पनि केही भूमिका रहनुपर्छ र अहिले हामीमाझ भएको अभाव पुर्न सक्नुपर्छ भन्ने लागेर नै मैले छन्दकवितामा केही अध्ययन बढाउन थालेकी हुँ ।

सुनको पिँजडा मेरो पहिलो कवितासङ्ग्रह हो । मैले त्यसमा प्राय: समाजमा देखिने र भए-गरेका उत्पीडन, सङ्घर्ष, देश, परिस्थिति तथा घटना परिघटनाहरूलाई सकेसम्म समेट्ने प्रयास गरेकी हुँ । अहिलेको समयमा अर्थात् बोध अन्तर्बोधसम्म आइपुग्दा पनि लेख्ने त समाज नै हो, यही परिवेश नै हो । मात्रै समाजलाई हेर्ने र बुझ्ने दृष्टिकोण फरक भएको हुनसक्छ, जीवनबोध फरक किसिमले भएको हुनसक्छ । समाजका भोगाइहरूलाई छन्दका लयहरूमा उतारिरहँदा समाजको लय बिग्रिनुहुँदैन भन्ने कुरामा अझ बढी सचेत बनाएको छ । कवितालाई सरल र सहज हिसाबले आम पाठकमाझ पुर्‍याउने मेरो प्रयत्न हो । मेरा प्रिय पाठकहरूले पनि केही फरक अनुभूति गर्नुहुनेछ भन्ने आशा लिएकी छु ।

३) तपाईँ देश विदेश घुम्नु भएको मान्छे । कवितामा पनि लामो समयदेखि विशेष छन्दमा साधना गरिरहनु भएको कवि । छन्दमा लेख्ने र गद्यमा लेख्ने कविहरूमा खाडलजस्तो पनि देखिन्छ । छन्द र गद्य कविताबिचको फरकपन स्वरूप बाहेक के हो?

– प्रश्न अत्यन्त सान्दर्भिक लाग्यो । नेपाली कविताको क्षेत्रमा गद्यकविता र पद्यकविताका बिचमा खाडल भएको कुरालाई नकार्न सकिन्न । विगत लामो समयदेखि रहिआएको त्यो खाडललाई पुर्न हामीमा सचेतना आउनु जरूरी छ । विश्वबजारमा हेर्ने हो भनेपनि गद्य र पद्य दुवै साहित्यले बराबरी स्थान पाएको देखिन्छ ।उर्दू फारसी र हिन्दी साहित्यमा बहरमा लेखिएका गीत गजलले जुन स्थान पाएको छ, अरूले सायदै पाएका होलान् । त्यसैगरी पाश्चात्य साहित्यमा मिटरप्रधान कविताहरूको आफ्नै महत्त्व छ । त्यसैले काव्यका दुई धारबिचको दरार हाम्रो सोचको उपज हो भन्ने लाग्छ मलाई । गद्यसाहित्य विश्व साहित्यबजारमा आफ्नो उचाइ प्राप्त साहित्य हो भनिरहँदा पद्यसाहित्य हाम्रो परम्परा हो, चिनारी हो भन्ने कुरा पनि बिर्सिनु हुँदैन ।समयअनुसार दुवैले दुवैको अस्तित्त्व स्वीकार गर्न सक्नुपर्छ । सबैले सबैको पढ्नुपर्छ, सुन्नुपर्छ भन्ने लाग्छ । दुवैका आ-आफ्नै महत्त्व छन्, दुवैका आ-आफ्नै पाठक स्रोता छन् । हामीले एकले अर्कालाई बर्जित गर्ने परम्पराको विकास गर्ने हो भने नेपाली साहित्य सधैँ पछाडि नै परिरहने देख्छु म त । लेखनको स्वरूप फरक होला, संरचना फरक होला, साधनाको प्रकार फरक होला तर सबैमा हाम्रो भावना समेटिएको हुन्छ, हाम्रै कथाव्यथा समेटिएको हुन्छ । सबैमा आफ्नोपनको उस्तै सुगन्ध पाउँछु म ।

४) लेखन बजारमा कथा उपन्यास धेरै बिक्छ भन्छन् प्रकाशकहरू, कविताको उचाइ त छ तर बजार छैन् भनेर सुनिने यो समयमा तपाईँको किताबले के अपेक्षा गर्छ? बजारको यो मानक भत्काउन यो किताबको भूमिका कस्तो रहला?

– सङ्ख्याको आधारमा हेर्ने हो भने, कविताका पाठक थोरै होलान् तर स्रोता धेरै छन् । गीत कविता गजल आदि गेयात्मक हुने भएकाले पनि सुन्नेहरूको सङ्ख्या बढी हुनु स्वभाविक हो । अझ गद्यकविताका तुलनामा पद्यकविता र गजलका स्रोता बढी हुने गर्दछन् । बजारमा हल्ला भएजसरी कविताका पाठक हुँदै नभएका भने होइनन्, तुलनात्मक रूपमा कम भएका हुन् भन्ने लाग्छ । म आफू छन्दमा कलम चलाउने भएको हिसाबले पनि के लाग्छ भने छन्दकवितासम्बन्धी आधारभूत कुराहरूको विषयमा जानकारी नभएका कारण पनि छन्दकविताका पाठक कम भएको हुनसक्छ । तर कविताका किताब बिक्दैनन् या प्रकाशक भेटिन्नन् भन्ने कुरा तथ्यहीन होजस्तो लाग्छ । हामीले हाम्रो किताब कति बिक्छ भन्ने भन्दा पनि समाजलाई के दिन सकिन्छ भन्ने कुरामा सचेत रहन सक्यौँ भने पुग्छजस्तो लाग्छ । पछिल्लो समयमा कविता लेखेरै स्थापित हुनुभएका र आफ्नो जीवन चलाइरहनुभएका कविहरू पनि हुनुहुन्छ, त्यो हेर्दा कविताको भविष्य उज्यालो नै देख्छु म त । मैले मेरो नयाँ कृति बोध अन्तर्बोधमा छन्द र त्यसको संरचनाका बारेमा पनि थोरै जानकारी दिने प्रयास गरेकी छु । यसले मेरा पाठकलाई कविता बुझ्न र लय हालेर पढ्न पनि धेरै हदसम्म सहज हुनेछ भन्ने आशा लिएकी छु । साथै यसले छन्द सिक्न चाहनेलाई पनि केही हदसम्म सहयोग गर्नेछ भन्ने लागेको छ ।

५) छन्द कवितामा यसै पनि वार्णिक मात्रा मिलाउन पर्ने दबाब छदैँछ । यसो हुँदा भाव पक्ष कमजोर हुन सक्ने कुरा पनि हुँदो हो । फेरि विश्व काव्य समाजमा छन्दको कविता अनुवाद गर्न मुश्किल हुने कुरा पनि अनुवादकहरू यताकता बताउँछन् । खासमा छन्द कविता के हो ? विश्व काव्य बजारमाको यसको स्थान के हो ? यहाँको किताबले समग्र काव्यप्रेमी पाठकलाई कसरी सम्बोधन गर्छ होला ?

– छन्द कविताका लागि लामो साधना आवश्यक पर्छ । शब्दको गाम्भीर्यलाई ध्यानमा राख्दै वर्णहरू पनि मिलाउनुपर्ने हुँदा अन्य रचनाको तुलनामा केही जटिल त हुने नै भयो । कतिपय शब्द चाहेको ठाउँमा चाहेजसरी प्रयोग गर्न सकिँदैन र वैकल्पिक शब्दको प्रयोग गर्नुपर्ने हुन्छ । अझ कतिपय अवस्थामा लेख्न मन लागेको विषय लेख्न मन लागेको छन्दमा नै नमिलेर छन्द नै परिवर्तन गरेर लेख्नुपर्ने पनि हुन्छ । तर छन्दमा लेखिएकै कारण भावपक्ष कमजोर हुन्छ भन्नेमा म सहमत छैन । हाम्रा सम्पूर्ण धार्मिक ग्रन्थहरूमा हेर्नुस् अथवा महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतका कविताहरू हेर्नुस् ती कहीँकतै कमजोर देखिँदैनन् । पछिल्लो समयमा पनि धेरैजना छन्दकविहरू हुनुहुन्छ जसका कविता पढ्दा/सुन्दा मन आनन्दित हुन्छ । छन्द कविता अनुवाद गर्न गाह्रो हुन्छ भन्ने सवालमा यदाकदा सुनेकी त छु तर त्यो विषयमा म उति जानकार छैन । छन्दकवितालाई कसरी विश्वबजारमा पुर्‍याउने भन्ने विषयमा अनुवादकहरूले पनि सोचिरहनुभएकै होला ।

अन्त्यमा, बोध अन्तर्बोध मेरो देस्रो कविताकृति हो । यसमा सकेसम्म मैले हाम्रो समाज, देश र परिवेश समेट्ने कोसिस गरेकी छु, अघिल्लो कृतिभन्दा केही फरक गर्ने कोसिस गरेकी छु ।आशा छ, यसले समस्त काव्यप्रेमी काव्यअनुरागी पाठकवृन्दलाई निराश बनाउनेछैन । किताब पढिसकेपछि पाठकवर्गबाट आउने सबैखाले प्रतिक्रियालाई उहाँहरूको आशीर्वाद सम्झेर शिरोपर गर्ने नै छु ।

***

प्रतिक्रिया

सम्बन्धित खवर