–  दीपा मग्राती

एकाइसाैँ शताब्दीको
यो गोलो चर्खामा पनि
मगजभरि डर, भय, त्राससङ्गै
शंङ्का, उपशंङ्काबीच
पिंजडामा कोचिएको चरा जस्तै
मनका अनगिन्ती पीडा र छ्टपटीलाई जबर्जस्ति थुनेर
रङ्गमन्चको अभिनयमा
आकाशभन्दा फराकिलो
नदीभन्दा गहिरो प्रेमलाई अँगालेर
दुई मुट्ठी सास फेरिरहेकी छिन् माया वि.क.की आमा ।
तर कहाँ भुल्न सक्छिन्?
छोरी मायाको भित्री वस्त्रहरु बुट्यानमा अल्झिएको ,
अनि  पर एकान्त कुनाको मधुँरो आवाज
“नाइँ , बचाओ….”  उनको हृदयविदारक चित्कारहरु ।

नारी…..
जसले विधुवा भनी माग्नु परेको छ
छोरो खाएको आरोप उनैले खप्नु परेको छ
आफू बाँच्नुको सबैभन्दा ठूलो दसी
आफ्नै सिन्दुर आफै पुछ्ने दुस्साहस कसको हुन्छ ?
जीवनको मीठो सङ्गीत सुसेल्ने हातको चुरा
झर्यामझुरुम फुटाईमाग्ने रहर कसको हुन्छ ?

बलेको आगो ताप्ने दुनियाँ
अरुको पिडामा उत्सव मनाउँछ
भन्छ “त्यो बाटोमुनिको फूल हो,
अछुतले छुँदा पानी बिटुलो हुन्छ ”
तर उनको जवानी लोभलाग्दो र चोखो हुन्छ
यस्तै यस्तै कुण्ठित सेहेँ र भ्रम पालेर बाँचेको छ समाज ।

तर पनि
धौली कान्छिहरु
चुपचाप सुन्छिन् तिरस्कार
सहन्छिन् सम्भ्रान्त वर्गको बहिस्कार
भोग्छिन् जवानी माथिको पापी नजर
मानौँ, उनी पत्थर हुन्
घन र छिनोको आक्रमण मानिरहनुपर्छ
उनी निरीह पशु जस्तै  हुन्
जो भाकलको नाममा बलीको बोको हुनुपर्छ ।

सर्कीनी कान्छीको
भोगाइले हद नाघेको छ
छानो चुहेर पोखरी बनेको छ
कुवामाथिको एकाधिकारले काकाकुल बनेको छ ज्यान
बालीघरेले बाली नदिएर भोकको गीत गाइरहेका छन् नानीहरू
हेपाई र दलनले सीमारेखा जब पार गर्छ,
दम्भ र शोषणले चुलिन्छ्न महिमत्ता साँढेहरु
त्यस्तालाई वहसमा राख्न
– भुईंचालो आउँछ
– सुनामी आउँछ
– कोभिड आउँछ
– भोकमरी आउँछ
सजिलो छैन यहाँ मान्छे भएर बाँच्न
त्यसैले नै आमाको पाठेघरबाट रुँदै
जन्मिएको हुनुपर्छ मान्छे ।

वर्षौपछि बल्ल,
माया बि.क.कि आमा, धौली माइली
र मिजार्नी कान्छीले पनि एक तमास सोंचेको हुनुपर्छ
अर्को जन्ममा म पनि आँधी हुरी भएर जन्मिन पाँउ
ता कि मेरो एक झोँक्काले
यो दुनियाँको जम्मै जम्मै
असमानताहरुलाई बढार्न सकोस्
जसरी इन्द्रेणी समाजमा
प्रत्येक रङको उत्तिकै महत्व होस् ।

***

प्रतिक्रिया

सम्बन्धित खवर