-नकुल पौडेल

गजल १,
नदीलाई नजिकबाट केवल बगरले बुझ्छ ।
जसरी छोरीलाई आफ्नो माईतिघरले बुझ्छ ।

एउटै कुरा हजार पटक भन्दा बुझ्दैनौं हामी,
हजार कुरा एकैपटकमा पत्थरले बुझ्छ ।

तपाईं जरुर प्रेममा धोका खाएको मान्छे हो,
एउटा डाक्टरको अक्षर अर्को डाक्टरले बुझ्छ।

जहर समेत नक्कली परेर मर्न पाएन बिचरा,
यो त  शहरतिरको कुरा हो शहरले बुझ्छ ।

कमसेकम तिमीले मलाई बुझ्न नसके पनि,
तिम्रो तस्वीरले बुझ्छ तिम्रो मफलरले बुझ्छ ।

गजल २,
यो नसोच्नु उसले जीवनभर प्यार गरिरहन्छ ।
कसले चोरको  घरमा चौकिदार  गरिरहन्छ ।

मनले ढुवानी  खर्च दिए पनि नदिए पनि,
आँखाले आँसुको ओसार–पसार गरिरहन्छ ।

गाउँमा  राखेका बा–आमालाई  फोन गर्दैन,
बाटामा राखेका ढुङ्गालाई नमस्कार गरिरहन्छ।

कहिल्यै  एक किनारको हुन  सक्दैन नदी,
नदीले एक किनार अर्को किनार गरिरहन्छ ।

आज कोठामै बिर्सिएर आएछु तिम्रो तस्वीर,
अब नपुग्ने बेलासम्म  ईन्तजार गरिरहन्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर