-सागर तामाङ
विचारका नीला आकाशहरुमा
स्वतन्त्र उडिदिन्छ यो मन_चेतनाका ताराहरु भेट्न
फर्किँदा
सँगै लिएर आउँछ
भावनाहरुको क्षितिजबाट एक मुठी मुस्कान
र
माँगेर ल्याउँछ
उन्मुक्त रहरहरुको बादलसित बिछोडको एक अञ्जुली आँसु
दुवैलाई मिसाएर
रोपिदिन्छ आफ्नै मझेरीको डिलमा
समावेशी सोंचहरुको एउटा पारिजात ।
मलाई थाहै नदिएर
सुटुक्क उडिदिन्छ यो मन
र
छोएर आउँछ
आफ्नै हिम्मत र साहसका अग्ला-अग्ला पहाडहरु
त्यै पहाडको छातीबाट टिपेर ल्याउँछ
मेरो देशको सान बोकेर फुलिरहेको एउटा गुराँस
र
मेरो हातमा थमाउँदै सोध्छ_
यो गुराँस र तिम्रो मुटुको रङ्ग एउटै हैन र ?
यदि फरक छैन भने
यो गुराँस फुल्ने पहाड र तिमी उभिएको माटो एउटै हो।
***
प्रतिक्रिया
-
४