-राजेश भट्टराई

परिवार विपन्न थियो।विपन्न नै भएपनि बाउ रक्स्याहा थियो।कलेजोको बिरामी, डाक्टरले रक्सी छोड्न भन्दा पनि मानेन र अन्तिममा रक्सी खाई खाई मर्यो।
अब आमा छोरा मात्र रहे।आमाले कहिले ज्यामी काम गरेर त कहिले फुटपाथमा सेल रोटी बनाई बेचेर छोरालाई हुर्काउन, पढाउन थालिन।छोरो गतिलो निस्क्यो।ज्ञानी थियो,मिहिनेत गरेर पढ्थ्यो।राम्रो नम्बर ल्याएर पास हुन्थ्यो।एस इ ई पनि राम्रो नम्बर ल्याएर पास भएर कलेज भर्ना भयो।नाम थियो, अर्जुन।
कलेजमा उ सँगै पढ्ने एउटी केटी थिई, आकांक्षा।एकदम चलाख थिई।राम्ररी पढ्ने मान्छे ठानेर अर्जुन सँग नजिकिएकी थिई।उ सँग पढ्ने आइडिया र सुत्र प्राप्त गर्थी।तर मध्यमवर्गीय परिवारकी थिई।भलै पहिला विपन्न परिवारकै किन नहोस।उसको बाउले इमान्दारीता पुर्वक कठोर मिहिनेत गरेर विपन्नतालाई मध्यम वर्ग सम्म पुर्याएको थियो र पहिला विपन्नतामा हुँदा धेरै दुःख पाएको हुनाले अब दुःख नपरोस् भन्ने चाहान्थी।
पढाइमा धेरै सहयोग पाउने स्वार्थले नजिकिएको भएपनि नजिकिँदा नजिकिँदा उ अर्जुनलाई मन पराउन थाली।अर्जुनको शिल स्वभाव आनीबानी र मिहिनेतबाट धेरै प्रभावित भई र एकदिन भनी।’अर्जुन म तिमीलाई एकदमै मन पराउँछु, हाम्रो यो साथीको सम्बन्ध यतिकै नरहोस्। जीवन साथीको रुपमा परिणत होस।’अर्जुनले आफ्नो पारिवारिक अवस्था बताउदै ‘अहिले यसरी नसोची ठन्डा दिमागले राम्ररी विचार गर अनि पछि कुरा गरौला’भन्यो।
उसले भने झै केही दिन लगाएर सोच्दै मनमनै भनी।’गरिब भएर के भो र? ट्यालेन्ट छ, मिहिनेती छ, पछि कमाइहाल्छ नि। हामी पनि पहिला गरीब थियौ’। केही दिनपछि भनी।’मलाई धन होइन, मन चाहिएको हो’।अर्जुनले ‘पछि धोका नदिनु’ भन्दै स्विकार्यो।
समय बितिरहेको थियो।यही बीचमा उसलाई माग्न एउटा धनी परिवारको केटा आयो।बाउआमाले दिने विचार गरे।आकांक्षाले आफु एकजना सँग प्रेममा रहेको धोका दिन नसक्ने बताई।को केटा? कस्तो केटा? भनेर सोध्दा सबै यथार्थ बताई।बाउआमाले पहिलाको आफुहरुको गरीबीको इतिहास बताउँदै सम्झाए।उसलाई पनि हो जस्तो लाग्यो।
उसले धोका दिएपछि अर्जुनलाई गहिरो चोट पर्यो।पीडा भुल्न रक्सी खान थाल्यो।आमाले छोराको यस्तो अवस्थाले आफु माथि ठुलो बज्रपात परेको ठानिन।’बुढेसकालको सहारा छोरो, यस्तो भयो।बाउ जस्तै बन्ने भो।मेरो फुटेको भाग्य’ भन्दै आफैलाई धिक्कार्दै धेरै रुन थालिन।छिमेकीले उसलाई सम्झाउँदै ‘केटी भनेको अरु पनि पाइन्छ तर आमा पाइदैन। आमालाई नरुवाउनु पाप लाग्छ’ भन्दै सम्झाए।त्यसपछि उ बिस्तारै बिस्तारै सम्हालियो र पछि ठीक भयो।
तर यता आकांक्षालाई बिहे पछि अरु सुख त सबै भयो तर तिन बर्ष सम्म पनि बच्चा भएन।जाँच गर्दा श्रीमानको विर्यमा शुक्रकीट नै नभएको पत्ता लाग्यो।डाक्टरले उसको श्रीमानलाई भने ‘तपाईबाट बच्चा हुदैन अरु नै दाता खोजेर उसको विर्य तपाईको श्रीमतीको पाठेघरमा हालेर बच्चा बसाल्न सक्छौ’।
‘कस्को विर्य’ श्रीमानले सोधे।
‘कस्को हो, यसै भन्न सकिदैन,दातालाई पनि कसलाई दिने हो भन्दैनौ’डाक्टरले उत्तर दिए। अरु केही उपाय नभएपछि त्यही गर्ने निर्णय भयो।
अस्पतालले दाताको विर्य उसको पाठेघरमा हालिदिए।सफल भयो। गर्भवती भइ।नौ महिना पछि अस्पतालमा बच्चा जन्मियो।बच्चा देखेर उ झसंग भई:-‘अनुहार काट्टीकुट्टी अर्जुन सँग मिल्थ्यो’।

समाप्त।

सैनामैना 11,रुपन्देही
हाल भरतपुर चितवन

प्रतिक्रिया

सम्बन्धित खवर