– बिकास आचार्य

विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीतिका शिखर व्यक्तित्व हुन् । राजनीतिसँगै साहित्यिक क्षेत्रमा पनि उनको स्थान उच्च छ । उनी आफूलाई राजनीतिमा प्रजातन्त्रवादी र साहित्यमा अराजकतावादी हुँ भन्दथे । नेपाली साहित्य आकाशमा यौनमनोविज्ञानमा कलम चलाउने कथाकारहरूमध्ये उनी अग्रणी हुन् ।

यिनै विश्वेश्वरप्रसाद कोइरालाको प्रसिद्ध यौनमनोवैज्ञानिक कथा हो, ‘कर्णेलको घोडा’ । त्यसमा उन्नाइस वर्षकी कर्णेल्नी आफ्नो पैँतालिस वर्षका कर्णेलले माया प्रदर्शन गरेर महङ्गा उपहार दिए पनि खुसी नभएको बरू कर्णेलले तबेलामा बाँधेर राखेको घोडाको सेवामा खुसी भएको कथा छ । यसै सिलसिलामा एक दिन दुवै जना तबेलामा पुग्छन् । घोडाले कर्णेललाई रुखो व्यवहार गर्छ भने कर्णेल्नीप्रति सरल व्यवहारसहित अपनत्व प्रदर्शन गर्छ । कर्णेल्नी पनि मायाले घोडालाई मुसार्छिन्, सुमसुमाउँछिन् । धेरै अघिदेखि घोडाप्रति आफ्नी दुलहीको माया देखेर इर्ष्याले मुर्मुरिएका कर्णेलले रिस थाम्न सक्दैनन् । उनी आफूले भिरेको पेस्तोल झिकेर घोडाको हत्या गरिदिन्छन् । यो देखेर कर्णेल्नी पनि बेहोस भएर ढल्छिन् । प्रस्तुत छ त्यसपछिको कथा ।

===

कर्णेलले आफ्नी दुलही र घोडालाई त्यतिकै छाडेर पेस्तोलको धुवाँ मुखले फुक्दै तबेलाबाहिर लागे ।

त्यहाँबाट हिँड्नुअघि उनले एकपटक बडो घृणाले त्यो सेतो घोडालाई हेरे । घोडाको पेटबाट अझै पनि रातो रक्त बगी नै रहेको थियो । निष्प्राण भइसकेको, कुनै बखत उनलाई प्यारो लाग्ने त्यो घोडाको आँखा विस्मयले ट्वाँ परेर उनलाई नै हेरेर गिज्याइरहेका थिए । मानौँ, भनिरहेछ – तिम्रो पुरुष तत्त्वले कर्णेल्नीलाई खुसी राख्न सकेनौ तर मलाई भने पुरुषार्थ देखायौ । पहिले मलाई निर्घात पिट्यौ, त्यसपछि गोली हानेर मार्यौ । तिमी नामर्द हौ, म अबोध जनावरप्रति तिमीमा अथाह ईर्ष्या छ ।

उता कर्णेलले नै मायाले ल्याइदिएका शृङ्गारका सामाग्रीहरूले धपक्क बलेकी नवयौवना अर्थात् कर्णेल्नी अचेत भएर त्यही बलिष्ठ घोडाको समानान्तर लडिरहेकी थिइन् । घोडाको पेटबाट बगेको रगतले तबेलाको भुइँमा आहाल बनिसकेको थियो । बाहिरबाट छिरेको घामको किरण त्यो रगतमा परावर्तन भएर हो या किन हो ? कर्णेल्नीको मुहार पनि अत्यधिक रातो देखिएको थियो । अचेतन भए पनि उनको श्वासप्रश्वास तीव्र गतिमा चलिरहेको थियो । वक्षहरू सास फेरेको रफ्तारसँगै क्रमशः तल-माथि गरिरहेका थिए । शरीरमा अरू कुनै चाल थिएन ।

मृत र अचेत दुवै प्राणीहरूलाई त्यतिकै छाडेर कर्णेल अघि नै तबेलाबाट बाहिर निस्किसकेका थिए ।

अचेत रहेकी कर्णेल्नी सुषुप्त अवस्थामा नै भूतकालको त्यो खण्डमा पुगिन् जब भर्खरै मात्र उनको रजस्वला सुरु भएको थियो । पुट्ठा बढ्न थालेको थियो भने छाती लजाएर उठ्ने कोसिस गर्न थालेको थियो । गोरी, चिट्ट परेकी चौध वर्षमात्र टेकेकी उनी आफ्नो उमेरभन्दा निकै ठुली देखिन थालेकी थिइन् । उनकी हजुरआमाले ‘तँ जतिको सुन्दरी केटी वरपरको तीनगाउँमा पनि कोही छैनन्’ भन्दा उनी सर्माएर भाग्थिन् । ऐना हेरेर आफैँ मग्न हुन्थिन् । आफैँलाई सुम्सुमाउँथिन् ।

गाँउमा उनी कतै आउ जाउ गर्दा उमेर पुगेका सबै पुरुषका नयनहरूले उनैलाई पछ्याएका हुन्थे, जसको आभासले उनलाई कताकता काउकुती लाग्न थालेको थियो । विपरीत लिङ्गीप्रतिको आकर्षणसँग बिस्तारै उनको परिचय हुँदैथ्यो ।

त्यही बेला पल्लो गाउँमा पनि भर्खरै अठार वर्ष लागेको एउटा कालो कालो वर्णको युवक थियो । किशोरी अर्थात् भविष्यकी कर्णेल्नीप्रति उसको माया बसेको कुरा उसकै क्रियाकलापहरूमा स्पष्ट झल्किन्थ्यो । उनी जता जता जान्थिन् ती युवा त्यतै पुगेका हुन्थे । पानी पँधेरो होस् या गाउँमा कसैले लगाएको सत्यनारायणको पूजा, अर्कै गाउँको भए पनि ती युवा यतै रात बिताइदिन्थे । उसको मनमा  किशोरी मात्र बसेकी थिइन् । उसको रात-दिनको भोक, प्यास र निद्रा किशोरीले उडाइदिएकी थिइन् । उसको दिन किशोरीलाई एक नजर हेर्ने र रात किशोरीको मायालु सपना देख्ने गरेर बितिरहेको थियो ।

समय यसरी नै बितिरहेको थियो । बिस्तारै किशोरीलाई पनि युवाको आफूप्रतिको आकर्षणको आभास हुन थालेको थियो । सायद, उमेर नै त्यस्तै हो कि, उनलाई पनि आफ्नो मनमा ती युवक पसेको पत्तै भएन । युवाप्रति मनमा बिजारोपण भएको मायाको बिज अङ्कुरित भए पनि त्योबेलाको समय र समाजका कारण झाँगिन पाएको थिएन । उनलाई पनि ती युवक मन पर्न थालेको थियो । अठार वर्षे लक्काजवानको त्यो सुगठित शरीर, चिटिक्क पारेर कोरिएको जुल्फी कपाल, मिलाएर लगाएको सफा लबेदा सुरुवाल, समग्रमा भन्नु पर्दा युवाको त्यो रूपले किशोरी लट्ठ भइसकेकी थिइन् । युवाको मोहनीमा मग्न भएकी तिनी सधैँ त्यही आकर्षणको मदले मस्त रहन थालेकी थिइन् ।

एक दिनको कुरा हो । उनी घरमाथिको रायोबारी काटेर साहिँला काकाको घर जाँदै थिइन् । उनको हातमा काकीलाई लगिदिएको केराको बुङ्गोको अचारको बटुको थियो । काकीलाई असाध्यै मन पर्ने त्यो अचार दिएर उता के मिठो पाकेको छ त्यो ल्याउँछु भन्ने कल्पनामा हिँडिरहेकी किशोरीले काकाको घरको बाहिर तगारोको छेउमा ती युवालाई देखिन् । उनको मन झसङ्ग भयो । सास एक तमासले बढेर आयो । आँख चिम्म गरेर तगारो पार गरेर आँगनमा पुगिन् ।

काकी भान्छामा नै थिइन् । उनले लगेको अचारको बटुका काकीलाई दिएर आँगनतिर फर्केर हेरिन् । तगारोको छेउछाउ अहिले कोही थिएन । काकीले ‘एकछिन बस्, खसीको मासु पाक्न लागेको छ’ भन्दाभन्दै उनी फर्कन लागिन् । काकीले पकाएको केही मिठो तरकारी आफ्नो घर ल्याउने अघिको चाहना त्यागेर सकेसम्म चाँडो उनी घर फर्कन चाहन्थिन् । ‘होस् काकी, म घर गइहाल्छु । तरकारी चुलामाथि छ । फेरि ढिलो  गरे डढ्छ ।’, भनेर उनी आँगनमा ओर्लिन् ।

वरिपरि कोही थिएन । घाँटी तन्काएर उनले तगारो बाहिर नजर दौडाइन् । छेउछाउ, अगाडि-पछाडि कोही थिएन । उनी एकैपटक दौडेर रायोबारी पुगिन् । बाटो बारीको बिचबाट गएको थियो । मल, पानी र स्याहारले सप्रेर आधा मान्छे उचाइ भएको रायोको सागबारीमा पोहोर दशैँमा पिताजीले किनिदिएको हरियो जामा लगाएकी उनलाई परबाट हेर्दा कसैले साग हो कि मान्छे ठम्याउन सक्दैन थियो । बारीको बिचमा पुगेपछि कसैले उनलाई अचानक हात समाती झड्काएर तान्यो । आत्तिएकी उनलाई आफू जोडसँग पछारिएको जस्तो लाग्यो । उनले निमेषभर होसहवास गुमाइन् ।

सम्हालिँदा उनले आफूलाई तिनै युवकको बलिष्ठ भुजामा पाइन् । दुवै जनाको मनमा सुषुप्त अवस्थामा रहेको बेग एक्कासि विस्फोटको रूपमा फुस्कियो । किशोरीले मनलाई नियन्त्रण गर्न सकिनन् । उनी तरुलको लताजस्तो भएर युवामा बेरिइन् । उनको मनमा अङ्कुरित भएको प्रीतले अठार वर्षे बलिष्ठ युवाको देहलाई थाङ्ग्राको रूपमा पाएको थियो । यो क्षण केवल सानो समयको अंशमा मात्र सीमित भयो । उनले अत्तालिएर असिनपसिन भएको शरिर युवाको अँगालोबाट छुटाउन खोजिन् । ठिक यसै बखत ती  युवाले अप्रत्याशित रूपमा उनको रक्तिम गालामा आफ्नो तातो ओठ जोडेर मायाको निम्तो दिएको थियो ।

त्यो रात ठुलो वर्षा भएको थियो । पानी परेको भयानक आवाजले चौध वर्षकी किशोरीलाई खुब डर लागेको थियो । प्रकृति भने खुसी भएकी थिइन् । उनी वर्षामा निथ्रुक्क भिजेकी थिइन् । त्यही चिसोसँगै उनी ब्युँझिएकी थिइन् । र, त्यही रात उनी किशोरीबाट युवती बनिन् ।

आज त्यो घटना भएको झण्डै पाँच वर्ष भइसकेको थियो । गाउँकी ती युवती सहरकी कर्णेल्नी भइसकेकी थिइन् ।

अघि चेतना गुमाएकी कर्णेल्नी आफ्नो गालामा चिसो अनुभूति भएकाले ब्युँझिइन् । हातले चिसो पदार्थ छाम्दा च्याप च्याप लागेको हुनाले उनले आँखा उघारेर हेरिन् । रातो रगत देखेपछि उनी त्रसित भएर उठिन् । आफूले माया गरेर सेवा गर्दै आएको घोडालाई मृत देखेर उनी अधैर्य भइन् । टोलाएर धेरै बेर मृत घोडालाई एकोहोरो हेरिरहिन् । मनमा अनेक कुरा खेले । पुनः एक्लो महसुस भएपछि उनको धीरताको बाँध फेरि फुट्यो । एक्कासि त्यो घोडाको मृत शरीरलाई गम्लङ्ग अँगालो मारेर कुनै लहराजस्तो बेरिइन् । उनको मनले गाँउका ती बलिष्ठ युवकलाई सम्झिरह्यो ।

आज पनि ठूलो वर्षा भयो । तर आज प्रकृतिले आफ्नो भयनकता देखाएन, मात्र कर्णेल्नीको नयन बर्सिरह्यो ।

===

घोडा मरेको दिनदेखि कर्णेल्नीलाई कर्णेलप्रति घृणा जागेको थियो । माया त उनलाई पतिको कहिल्यै लाग्दै लागेन । अझ आफ्नो प्रिय घोडाको हत्यारा सम्झेर उनी कर्णेलदेखि टाढा रहन थालिन् । प्रत्यक्ष तिरष्कार गर्न थालिन् ।

दिन यसरी बित्दै गयो । कर्णेलले पत्नी फकाउन र माया दर्शाउन अनेक उपाय गरे । धेरै लुगाफाटा, श्रृङ्गारका सामाग्री र किमती उपहार ल्याइदिए । कर्णेल्नीले हेर्दै हेरिनन् । दुलाहा दुलही एकआपसबाट टाढा हुँदै गए ।

आजित भएका कर्णेल आखिर मदिराको शरणमा पुगे । बिस्तारै उनले मदिरा हैन मदिराले चैँ उनलाई पिउन थाल्यो । रक्सीसँगको मात्र सामिप्यताले कालान्तरमा उनी ओच्छ्यान परे । क्षयले उनको शरीर छियाछिया हुन थाल्यो । जान्ने वैद्य र कविराज मात्र हैन, कलकत्तादेखि झिकाएको बङ्गाली डाक्टरले पनि हार खाए । कर्णेलको यस्तो अन्तिम अवस्था हुँदा पनि कर्णेल्नीको मन भने फर्केन । कर्णेलप्रति दयाभाव जाग्रित भएन् ।

रातको अन्तिम प्रहर भएको हुँदो हो । कर्णेल्नी आफ्नो शयनकक्षमा निदाएकी थिइन् । कर्णेलको हिजो बिहानदेखि वाक्य बन्द भएको थियो । नाडीको चाल पनि धेरै धिमा थियो  । अब तिनी केही दिनको पाहुनामात्र हुन भन्ने उनले निर्क्यौल गरेकी थिइन् । बाँच्ने कुनै उपाय बाँकी थिएन । रातको यही निशब्दतालाई तोड्दै कसैले जोडजोडले श्रीरामको नाम लिएको आवाजले उनको निद्रा भङ्ग भयो । राम नाम जपेको निरन्तर आवाजले उनलाई कर्णेलले संसारबाट बिदा लिएको बुझ्न कठिन थिएन । त्यतिखेरै कसैले उनको कोठाको ढोका ढकढकायो । उनको मुहारमा एउटा कुटिल मुस्कान आएर क्षणमै विलुप्त भयो ।

कर्णेलको काजकिरिया वैदिक सनातनी विधिअनुसार सम्पन्न गरियो ।

यसको केही दिनमै कर्णेल्नी हराइन् । पूरा सहर र माइती गाँउ कहीँ पनि उनी भेटिइनन् । कहीँ कतै उनको  अत्तोपत्तो लागेन ।

कर्णेल मरेको दुई वर्षपछि उनका कान्छा भाइ कलकत्ता पुगेका थिए । नेपाली टोलामा बेलुका घुम्दै गर्दा उनले कर्णेल्नी भाउजूलाई एउटा युवकसँग नारिएर हिँडेको देखे । कान्छाले भाउजूलाई प्रष्टसँग चिने पनि उनीसँग हिँड्ने कालो कालो वर्णको, बलिष्ठ शरीरवाला युवकलाई चिन्न सकेनन् । हाँस्दै बोल्दै हिँडेको त्यो जोडी देब्रेतिरको एउटा गल्ली प्रवेश गरेसँगै भिडमा विलुप्त भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर