कवि घनश्याम अस्तित्व युवापुस्तामा उज्यालो नाम हो । स्वर्गद्वारी ५, प्यूठानका उनी शिक्षण पेशामा आवद्ध छन् । कविता, निबन्ध, कथामा आफ्नो कलम चलाउने उनको पहिलो कृति चिहानमाथि महल बनाइरहेको मान्छे (कवितासंग्रह) भर्खरै बजारमा आएको छ । यसै कृतिमाथि सम्पादक जीवन खत्रीले कविलाई सोधेका पाँच प्रश्न र उत्तर ।

१, चिहानमाथि महल बनाइरहेको मान्छे कविता संग्रहको बारेमा छोटकरीमा बताइदिनुस न ।

”चिहानमाथि महल बनाइरहेको मान्छे” मेरो पहिलो कवितासंग्रह हो । पछिल्लो दशकमा मैले लेखेका कविताहरु मध्येबाट साढे पाँच दर्जन कविताहरु यसमा संग्रहित छन् । जीवन, समय र समाजसंगको अन्र्तक्रियाका उपज यी कविताहरु कुनै आँसु हुन् भने कुनै आक्रोश हुन् । कुनै कविताहरु घाउ हुन् भने कुनै कविताहरु मलहम हुन् । मैले बाँचे भोगेको समय र जीवनको निर्मम आलोचना र प्रश्नहरु हुन यी कविताहरु । पुस्तक पाठकहरुकै हातमा पुग्न लागेकाले यो भन्दा बढी आफै नबोलु, नलेखु कि !

२, कविहरू राजनीतिप्रति पनि उत्तिकै सचेत छन् । तपाईँ आफैँ पनि शिक्षण सेवा र राजनीतिप्रति सक्रिय सहभागिता जनाउन चाहनु भएको कुरा पाठकलाई अवगत छ । आजको समयमा चिहानमाथि महल बनाउने मान्छे को होरु त्यो महल बनाउनेका प्रति तपाईँहरूको भूमिका के होरु कविता कृतिले कसरी सम्बोधन गर्छ ?

कविता लेख्नु नै आफैँमा एक किसिमको राजनीति हो । यही दुनियामा बाँचिरहेको मान्छेले लेख्ने कुरा पनि यही दुनियाको हो । उ बाँचको समय र भोगेको जीवन हो । विचार भन्दा पर केही हुन सक्दैन । मान्छेको हरेक अभिव्यक्तिले कुनै न कुनै विचारको प्रतिनिधित्व गर्छ । विचार मात्रै पनि होइन, व्यवहारले पनि । जस्तो, एउटा मानिस हातमा थाली बोकेर मन्दिर गइरहेको छ । योबाट प्रष्ट हुन्छ, उसको इश्वरप्रतिको दृष्टिकोण, संसारप्रतिको दृष्टिकोण । म आफू भएको दावी गर्दैन, तर हरेक कवि आफू बाँचिरहेको समयप्रति सचेत र गम्भिर बन्नुपर्छ ।
प्रश्नमा अर्को महत्वपूर्ण विषय के उठाउनु भयो भने चिहानमाथि महल बनाइरहेका मान्छेहरु को हुन्? आजको यो पुँजीवादी अर्थतन्त्र या व्यवस्थाले पृथ्वीलाई चिहानमा परिणत गरिसक्यो । हामीहरु प्रकृति या पृथ्वी सिध्याएर समृद्धिको महल ठडाइरहेका छौ । पृथ्वीमा बाँच्ने अन्य जीवजन्तुप्रति मान्छे कहिल्यै गम्भीर भएन । ती मानिसहरु जो आज दुनियाको नेतृत्व गर्छन्, उनीहरु नै चिहानमाथि महल बनाइरहेका मान्छेहरु हुन् । म कविका रुपमा त्यसरी महल बनाउनेहरुको हिस्सेदार होइन, विरुद्धमा उभिन खोजेको हुँ । अर्को पुस्तालाई ठूलाठूला महल होइन, सग्लो पृथ्वी हस्तान्तरण गर्नुपर्छ भन्न खोजेको हुँ ।

३, लेखन बजारमा कथा उपन्यास धेरै बिक्छ भन्छन् प्रकाशकहरू, कविताको उचाइ त छ तर बजार छैन् भनेर सुनिने यो समयमा तपाईँको किताबले के अपेक्षा गर्छ ? बजारको यो मानक भत्काउन यो किताबको भूमिका कस्तो रहला?

मलाई केही कुनै कुराको चिन्ता हो भने तपाईले भने झैं कविताको उचाइको चिन्ता हो, बजारको होइन । बजारमा आउने हजारौ उपन्यास र कथाहरु मध्ये पनि सबै किताबहरु कहाँ बिक्छन् र? सुन्दर कविता कृति हजार बिक्दा सयौं आख्यानका किताबहरु सयप्रति पनि नबिकेको तथ्य हामीसंग छैन र? जुन विधाको पुस्तक हो त्यो विधाको मूल्य जोगाउन सक्ने कुनै पनि पुस्तकले मात्रै बजार लिने हो, कविता या कथाले होइन । अर्को कुरा हजार लेखकहरु भएको भिडमा मुश्किलले २५–३० कविहरु हुन्छन् । उपभोक्ताको संख्याको आधारमा वस्तुको उपभोग हुने हो । र, यो स्मरण रहोस्, लेखक भनिनेहरु सबै लेखकहरु होइनन् । कवि भनिनेहरु सबै कविहरु होइनन् । मानक भत्काउने भन्ने सन्दर्भमा म केही लेख्न, बोल्न चाहन्न ।

४, तपाईँ काठमाण्डौ बाहिर बसेर लेख्नु हुन्छ । काठमाण्डौ बाहिर मोफसल भन्ने चलन पुरानै हो । हुन त सामाजिक सञ्जालले त्यो शब्दलाई तोड्दै छ । तपाईँले मोफसलको महशुस गर्नु परेको छ । अब के हुनुपर्ला ?

आजको दिनमा मोफसल र राजधानी भन्ने भेद लगभग सकियो । राजधानी बाहिरका लेखकहरुले नै होला राजधानीलाई राजधानी बनाएको । मान्छेहरु राजधानीमा लेख्नकालागि बसेका होइनन्, सहज जीवन र सपनाकालागि बसेका हुन् । राजधानीले राजधानी बाहिरकोलाई नचिन्ने होइन, नचिनेको अभिनय मात्रै गर्ने हो । हिंजो असल साहित्य र पत्रिका पढ्न पनि काठमाण्डु बस्न अनिवार्य थियो । तर आजको दिनमा म गोठालो गएर अनलाइन अडर गरेर पुस्तक प्रकाशीत भएको अर्को दिन म सहजै पुस्तक प्राप्त गर्छु । आज त म काठमाण्डु बस्नुका बढी जटिलताहरु देख्छु ।

५, किताबका अलवा थुप्रै माध्यम छन्, पाठकलाई । पढ्नै मन गर्ने पाठकले पनि बिभिन्न स्रोतबाट प्राप्त गर्न सक्छन् । पाठकले किताब किन पढ्नेरु र झन् तपाईँकै किताब किनरु पढ्ने पाठकले तिरेको मूल्य असुली होला?

किताव पढ्नै पर्ने जवर्जस्त व्यवस्था कतै छ र? के सबैले पढिरहेका छन् र? कोर्सबुक बाहिरका पुस्तक पढ्ने सय जनालाई सोध्दा मुश्किलले १२–१५ जना भेटिएलान् । खाना किन खान्छौ हामी? भोक मेटाउन । पुस्तक किन पढ्ने? अध्ययनको भोक मेटाउन । मान्छेले आज लगानी गरिरहेको कुन कुराबाट असुली पाइरहेछ? लिपिस्टिक, पाउडर वा मदिरा कुनैबाट? कसैलाई ३५० रुपैया तिरेर मेरो किताब किन्दै गर्दा एउटा मात्रै कविताले पनि क्षतिपूर्ति भएको महशुस होला या कसैलाई सिंगो किताब नै अर्थहिन लाग्न सक्छ । मूल्य भन्ने कुरा मान्छेले आफ्नै रुचिमा खन्याउने हो, वस्तुमा होइन ।

प्रतिक्रिया

सम्बन्धित खवर