– दलवीर सिंह बराइली ‘घायल’

गजल १
के के साथै लान्छौ भन कात्रोले छोपिएको बेला
खाली हात हुन्छौं हामी बाँसमा बोकिएको बेला ।

बाँचुन्जेल जो जो राम्रो कामले चिनिन्छन् मान्छे
पुन्य बाँकी रहन्छ त्यो चितामा पोलिएको बेला ।

सक्छौ यहाँ झुक्याउँन दुनियाँलाई पक्कै पनि
यमराजलाई के दिन्छौ जवाफ सोधिएको बेला ।

भगवान एकै हुन्छन् अल्लाह ईश नाम फरक हो
पाप धर्म छुट्टिनेछन् स्वर्गमा जोखिएको बेला ।

‘घायल’लाई हतार छ दुःखीको सेवा गर्नलाई
यमराज म भेटिन्न है मलाई खोजिएको बेला ।

गजल २
एकान्तमा धोको फेरि रुन पाए हुन्थ्यो
मनका सारा पिर व्यथा धुन पाए हुन्थ्यो

आफुलाई हात मुख जोड्न गाह्रो भा’छ
तिमी भन्छ्यौ गलाभरी सुन पाए हुन्थ्यो ।

कोही धनी बन्न खोज्छन् कोही ठुलो बन्न
मेरो इच्छा राम्रो मान्छे हुन पाए हुन्थ्यो ।

नियतिको काँडा बिझ्छ जहाँ टेके पनि
जिन्दगीको लक्ष्यलाई छुन पाए हुन्थ्यो ।

अंध्यारोमा डुबेका छन् मेरा दिनरात
संधै शितल ज्योति दिने जून पाए हुन्थ्यो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर