कवि तथा पत्रकार प्रकाश गुरागाईं एक साहित्य र पत्रकारितामा परिचित नाम हो । हाल उकालो डटकममा आबद्ध गुरागाँईको खुट्टामा श्रीपेच कविता सङ्ग्रह प्रकाशित छ ।
पछिल्लो जङ्क्सन पिपलबोट गैर्हआख्यान प्रकाशनमा ल्याएका उनले यसै कृतिमाथि पहिचान पुरस्कार प्राप्त गरे । यही किताबको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीले गुरागाईंलाई सोधेका पाँच प्रश्न र जवाफ:

१, जङ्कसन पिपलबोटले पहिचान पुरस्कार पायो । बधाई छ । कस्तो महसुस गरिरहनु छ?

पुरस्कार पाउँदा खुशी हुनु स्वभाविक हो। यसले मलाई मेरो लेखनमा प्रोत्साहन मिलेको छ। तर कोही पनि लेखकले पुरस्कारै पाउँछु भनेर पुस्तक लेख्छन् जस्तो लाग्दैन। आफ्नो रुचि, अध्ययन, भावना र संयोगले किताब लेखिन्छन्। समय र पैसा लगानी हुन्छ। लेखकले पाउने सन्तुष्टि नै हो। तर कुनै पुरस्कारले त्यो सन्तुष्टिलाई दोब्बर बनाउँछ। यद्यपि, पुरस्कार प्राविधिक कुरा हो। वर्षभरि प्रकाशित पुस्तकमध्ये पुरस्कार पाउने मात्र राम्रो भन्ने चाहिँ हुँदैन। पाठकको रुचि जेमा हुन्छ उसका लागि त्यही पुस्तक राम्रो हुन्छ भन्ने लाग्छ।

२, किताबको नामसँगै कभरमा नया सडकको कथा लेखिएको छ, किताबका बारेमा अलि बिस्तृत रुपमा बताईदिनुहोस् न । कस्तो खालको किताब हो?

यो पुस्तक गैरआख्यान हो। यसले नयाँ सडकसँग नेपालमा शुरू भएको भौतिक, सामाजिक र राजनीतिक इतिहासबारे बोल्छ। भूगोलको पहिचानलाई उठाएको छ। राजनीतिक परिवर्तनमा स्थानीय नेवार समुदायको योगदान, नेवार समुदायको संस्कृतिलाई पनि बोल्छ। मैले इतिहास भन्नका लागि पिपलबोट धाउने साहित्यकारहरुको सहारा लिएको छु। यो पुस्तक भनेको हाम्रो साहित्य, राजनीति, समाजको परिवर्तन र भौतिक विकास कसरी नयाँ सडकबाट शुरू भएर त्यही बाटो कसरी यहाँसम्म आयो भन्ने कथा हो। नेपाल आधुनिक विकासको शुरूआत नै नयाँ सडकबाट भएको हो।

३, पत्रकारितामा एउटा परिचय बनाएको पत्रकार, कविता लेखिरहने एउटा कविलाई के चिज भन्न सक्नुभएन र यो किताबको आवश्यक पर्यो?

कविता भावनाहरूको आवेग हो। कविताले बिम्बमा बोल्छ। पत्रकारिता ताजा घटनाहरूको कथा हो। तर गैरआख्यान न बिम्बले मात्र बोल्ने विषय हो, न त ताजा घटना मात्र हो। गैरआख्यानलाई फरक शैलीमा भन्न सकिन्छ। यसले इतिहास,समाज, भूगोल, राजनीति, विज्ञान वा अरु कुनै विषय भन्न सक्छ। तर जङ्क्सन पिपलबोट भने मेरो पत्रकारिताकै उपज हो। पत्रकारिताका क्रममा नयाँ सडक पिपलबोटका अनेक कथा र किस्साका फिचर पढिन्थ्यो। आफैँले पनि त्यस्ता फिचर पढेँ। जस्तो, पहिलोपटक भएको पुस्तक विमोचनको फिचर म आफैँले पनि गरेको थिएँ। यसरी पिपलबोट एउटा रहस्यजस्तो हुन थाल्यो। अनि मलाई त्यो इतिहास खोतल्ने हुटहुटी भएर पुस्तक लेखेँ। तर यो पुस्तक अझै पनि समग्र हो भन्ने लाग्दैन। पिपलबोटबारे नलेखिएका घटना अझ कति छन् भन्ने लाग्छ।

४, समय परिवर्तनशिल छ । किताबका बिकल्पमा धेरै कुराहरू छन् अब र यसपछिको समयमा किताबको भविष्य के होला?

किताबको भविष्य किताब नै हो। कुन स्वरुपको किताब हो भन्ने मात्र फरक कुरा हो। अब कागजकै किताब किनेर त्यसको सुगन्धसहित पढ्ने जमाना नहुनसक्छ। ईबुक आइरहेकै छन्। सामाजिक सञ्जाल पनि मलाई त पुस्तक जस्तै लाग्छन्। यस्ता नयाँ भर्सनले भौतिक पुस्तक विस्थापित हुनसक्छन्।

५, जङ्कसन पिपलबोट पाठकले पढ्न छुटाए भने के चिज छुट्छ?

पढ्न छुटाउँदा छुटिहाल्ने त केही छैन। सबै पुस्तक सबैले कहाँ पढ्छन् र! तर पढ्ने पाठकले चाहिँ नेपालको राजनीति, समाज, साहित्यको मूलबाटो बुझ्न सक्नुहुन्छ। आधुनिक विकास कहाँबाट कसरी शुरू भयो र यहाँसम्म आइपुग्यो भन्ने बुझ्न सक्नुहुन्छ। त्यसबेलाका साहित्यकारहरुको मूल प्रवृत्ति र स्वभाव बुझ्न सक्नुहुन्छ। यो शासकको होइन, जनताको इतिहास हो।

***

प्रतिक्रिया

सम्बन्धित खवर