
– तेजबहादुर गुरुङ
मुक्तक १
न कसैको केही कुरा सुन्छ एउटा वर्ग
न कसैको मन रुँदा रुन्छ एउटा वर्ग
कैंयौं वर्गलाई असह्य पीडा पर्दा पनि
खुशीले हाँसीरहेको हुन्छ एउटा वर्ग।
मुक्तक २
चौबीसै घण्टा भातै खानुपर्ने भाते हुन्छन् कोही
गास बास ठेगान नभएका खाते हुन्छन् कोही
जस्तो भन्यो त्यस्तै रोजीरोजी कुरै नबुझीकन
त्यसै हाँसी राख्ने कोदाली पाते दाँते हुन्छन् कोही
मुक्तक ३
कसैले कसैलाई मान्छे नगन्दैमा किन पो रुन्थेँ र
आफ्नै भनाउँदाहरू ठालु बन्दैमा किन पो रुन्थेँ र
म रुँदा कसैको मन रुन्छ भन्ने थाहा पाएको भए
जाबो मेरो सानो मन रोयो भन्दैमा किन पो रुन्थेँ र?
मुक्तक ४
छिनमै सत्यानास हुन्छ उसको फुटानी किन लेख्थे
सत्य लेखेर गर्नु पर्थ्यो त्यो शिरै कटानी किन लेख्थे
लेखिन्थ्यो महाकाव्य पनि राजा महाराजाहरू भए
ती गरिब गुरुवाहरूको कथा कहानी किन लेख्थे?
मुक्तक ५
एका दुई दिलदार हुन्छन् भएको बाँडेर खान्छन्
कसैले पाए भेट्टाएसम्म अर्काको फाँडेर खान्छन्
अर्काको नखाएसम्म चित्त बुझ्दैन लोभीपापीको
मिली नै राखे पनि बीचमा पसेर भाँडेर खान्छन्।
***
प्रतिक्रिया
-
४