-महाकवि लक्ष्मीप्रसाद देवकोटा

विकासको सिद्धान्तअनुसार कुनै जाति ओरालो लागिरहेछन्, कोही उकालो लागिरहेछन् । कसैलाई खिइनु छ कसैलाई फुल्नु र फैलनु छ । व्यासजीको सिंह आजकलको भारत वर्षमा गर्जन गर्दैन। बाघको हुकुम चलिरहेछ । त्यस्तै भाषाको देशमा लबजको दशा हुन्छ। कोही कोही शब्दहरू दुब्लापातला भएका छन्, तिनीहरूको प्राचीन महत्त्व उडेको छ ज्यादा पुरानो टकमा खिया लाग्दछ । ‘पण्डित’ र ‘गुरु’ भन्ने लबजमा केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै ‘भलादमी’ भन्ने शब्दमा पनि अर्थको यति अपभ्रंश भएको छ कि भलादमीपनले भडक र पोसाकसँग नाता जोडिसक्यों भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर विज्ञापन छाप्न लाग्यो। खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्, घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका भलादमी अतीतका अँध्यारा कोठरीमा छन्, रङ्ग र रेसमका भलादमी काठमाडौंका गल्लीमा खुसबू उडाइरहेछन् । जमाना रङ्ग बदलिन्छ ।

नोटको भाउ बढेको भए तापनि आजकल भलादमीपन सस्तो मौलमा पाइन्छ । भलादमीपनलाई सूचीकार र मारवाडीले बिक्री गरिरहेछन्। तिमी भलादमी बन्न चाहन्छौ भने सीधासाधा मानिसको कोरापनलाई दर्जीकहाँ गएर काटछाँट गरिमाग दुई-चार रुपियाँ बढाइदेऊ तब तिमी कुदिएको पानीदार हिरा बन्दछौ। छाँट मिलेको कोट पहिरेर, एक छरितो बढी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुमचुरुम आवाजमा फुर्तिलो कदम बढाऊ तब गल्लीको कुकुरले पनि तिमीलाई चिन्दछ । तिम्रो भलादमीपन स्वीकार गरेर तिमीउपर भुवन आउँदैन । चोरीको शहकाले सम्बोधन गर्नु भलादमीको अपमान हो भन्ने उसले पनि जानेको छ । सफलताजस्तो हौसला दिने केही छैन । तिमी छन् फुर्तिलो कदम बढाउँछौ । समाजमा तिम्रो भलादमीपनलाई ‘हजुर’ ले गजुर लगाउँछ । जति काटछाँट गरिएको हुन्छ, उति फुर्ती लम्बिएको हुन्छ । त्यसमा चस्मा चढायी भने त बिचरो दुनियाँ तिम्रा नजरको के सामना गरोस् ।
विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्छ । भलादगीको प्रमाणपत्र सधै उसका शरीरउपर विज्ञापन जाहेरी गर्दछ । पोसाक मात्र पहिला पास हो । त्यसमा पनि रेसमी रुमालको फूलदार फर्काइ र टोपीको कर्काइले पहिलो श्रेणीमा उत्तीर्ण भएको जनाउँछ। कपालको छाँट र जुगाको कटाइले दोस्रो परीक्षाको परिचय दिन्छ । फेरि आँखीभौँको मसिनो डोराले, ओठ र गालाको फिक्का हलुका लालीको सुस्त चढाइले उत्तम श्रेणी जनाउँछ । सबको शिखर, एउटा सौन्दर्यवर्धक कोठी र अत्तरको हरहराउँदो खुसबुले सडकमा हिँड्नेहरूको नाक र नजरमा आक्रमण गरेको हुनुपर्दछ । यसमा पनि विशिष्टता हिँडाइको कला, लच्काइ, हाउभाउ, हास्य र बोलीमा निर्भर रहन्छ ।

उच्च दर्जामा पुगेपछि विशेष गुणहरू सबैसँग हुन्छन्। त्यस्तै कोही भलादमीहरू नआएको भकभकेपन तिन्छन्। गुलाबको जस्तो भलादमीको पनि ढड्गको रग रहनुपर्दछ। साधारण जनताबाट भेद जनाउनलाई मलादमीको हाड नभएको जिब्रो बोलचालमा वैज्ञानिक तवरले लटपटिन्छ। यस्तो भकभकाउनु पनि एउटा शोभा बढाउने अलङ्कार हो। कोही भलादमीहरू चेहराको अनौठो ढड्ग निकाल्दछन्। कसैको रेसमी रुमाल फिकेर रुघा नलागेको नाक पुछिरहने बानी हुन्छ, यो पनि रवाफको एक काइदा हो, दुनियाँको नजरलाई लोभ्याउने रेसमी कलक हो। कोही भनादमीने ग्रामोफोनबाट हाँसो उतारेका हुन्छन् र सभ्य पाश्चात्य हाँसोको अप्राकृतिक रूप धारण गरेका हुन्छन् । कसैको हाँसो कलकत्ताको सडकबाट ल्याएको हुन्छ। ओठ लम्याएर सुनले बाँधिएको एउटा दाँतले निकालेको मिठो मुस्कान सहकको शिष्टाचार बन्दछ। कोही भलादमीहरूले असाधारण नम्रता लिएका हुन्छन्, विनयको बोझाले भोटेनीको कानमा चक्कीले जस्तै यिनीहरूलाई शोभा दिन्छ। कोही बोलक्कड हुन्छन् । बकवकोपाध्यायको सर्टिफिकेट विश्वविद्यालयले कुनै दिन निकाल्ने छ । कोही वडा गफी हुन्छन्। कलकत्ता र बम्बई उनीहरूका हावाखोरी थिए । कसैलाई आफ्ना कुरा माथि पार्ने प्रभुत्व अन्तत तर कोही हुन्छन् बड़ा बुझक्कड, सुकरातको गम्भीर भाव, रवीन्द्र बाबूको चेहराको उडान, उनकै आकृतिमा बसेको हुन्छ। बहुत कम बोल्दखन, दुनियाँले उनीहरूलाई तौलन सक्तैन ।

आकर्षण शक्तिको सिद्धान्त भलादमीउपर घट्नछ भलादमीको नजिकमा एउटा नदेखिने चुम्बकले तान्दछ । जबसम्म तिमी भलादमीहरूको छायामा रहन्छौ तबसम्म तिमी आफूलाई मानिस भन्न दोधारमा रहन्छौ। तिम्रो आदर या प्रशंसा उनीतर्फ खिचिएको हुन्छ । उनका गफलाई तिमी सफेद सत्य भनी ठान्दछौ। फेरि उनीहरूको मोहनीबाट पचास गज दूर नभईकन तिमीलाई साँचो कुरा उल्किंदैन अफ यस्तो शक्तिले स्त्रीजातिका उपर ज्यादा काम गर्दछ। आकर्षण शक्तिको नियमअनुसार भिन्न वस्तुहरू परस्पर खिचिन्छन् ।

प्रशंसा प्रेमको जिउंदी आकार भलादमी हो । हामी अरूलाई आफ्ना पुजारी बनाउन चाहन्छौं। यो भाव भलादमीमा सबभन्दा चर्को तबरले देखिन्छ। दुनियाँको नजर नभए भलादमीपनको दरकार थिएन। पूजा गर्दा हामी देवतालाई सिंगार्दछौं, भलादमी आफैलाई सिंगार्दछ, आफै आसन जमाउँछ, लोकप्रियता र प्रभुत्वको कला भलादमीले स्वभावैले लिएर आएको हुन्छ । मानिसको देखावटी चातुर्य भलादमीको प्रतिभा हो भलादमीपन चरित्रको एउटा विचित्र प्रदर्शनी हो ।

भलादमीको दुनियाँ बाहिरी देखावटमा हुन्छ भलादमी र फुखा सिद्ध मनोवैज्ञानिकका दुई छेउमा रहेका हुन्छन्। पहिलाको दृष्टिगोचर दुनियाँसँग सम्बन्ध रहन्छ, पछिल्लाको जगत् आँखाको पहुँच पार हुन्छ। एउटाले चर्मचक्षुको हद देखाउँछ । अर्काले मनका आँखाको सीमा देखाउँछ। एउटालाई अर्को पागलजस्तो हुन्छ । यसलाई वस्त्रजस्तो ठुलो चमत्कार केही छैन, उसलाई परिधानको बेपर्वाही हुन्छ । एउटा भन्छ, ‘हेर, रमाइलो दुनियाँ जीवनको आनन्द कहाँ छ ? खानु, पिउनु, हाँस्नु, मोज उडाउनु मानिसकै जुनीको अधिकार हो।” अर्को भन्छ, ‘दुनियाँ रडमगाइरहेछ। म दुइटै चमत्कार देख्तछु- ताराङ्कित आकाशको महिमा र भित्रका नैतिक नियमको विभूति।” यी दुईको सधैँको झगडा छ, भलादमी भौतिकवादको प्रतिनिधि हो, महात्मा अध्यात्मवादको वाङ्मुख हो । सत्य बीचैमा रहन्छ भन्दछन् ।

भलादमीका अरू किसिमका सूक्ष्म रूपहरू छन् । जसको नजर आफूबाहिर छ, भलादमी भनेको त्यही हो। बोकेपन सबै भलादमीको चिह्न हो । साहित्यका क्षेत्रमा पनि यस्ता भलादमी हुन्छन्। जब तिमी लोकप्रियता र देखावटमा लाग्दछी, तिमी बोके कवि या बोके लेखक बन्दछौ। विचार आत्मा हो, शब्द शरीर हो, अलङ्कारादि वस्त्रभूषाहरू हुन् । जब तिमी शब्द र अलङ्कारका पछि दगुर्दछौ तब तिमी साहित्यिक भलादमी बन्दछौ। जनताको आधुनिक रुचिले तिमीलाई शिर चढाउँछ तर फूछा बाबाका छातीमुनि पनि विचित्र सूदगार रहेको हुन्छ। यो भित्रको वैचित्र्य, त्यो बाहिरको। तर भलादमी जति रद्गीचङ्गी भए पनि नगा सिद्धको चेहरामा भित्रबाट निस्किएको ज्योति नै प्रभावपूर्ण हुन्छ भलादमी तिमी प्रसिद्ध हुन हतपताउँछी पैसाजस्तै नाम पनि सच्चा तवरले कमाउनुपर्दछ तर तिमीलाई प्रशंसा प्रेमले मात्र कर्म क्षेत्रमा ल्याउँछ । रङ्गीचङ्गी भडकले आउँछौ, तिमी हृदयमा आसन जमाउदैनौ, आँखा मात्र तिरमिन्याउँछौ। भित्र हेर्न छाडेर बाहिरको विचार गर्नासाथ तिमी साहित्य देशमा गल्लीको बोके भलादमी बनिहाल्दछौ। काँचको चस्माको ठाउँमा तिमी किताबका मा चढाओौला, पाउडरको सट्टा तिमी कालो चरित्रको चेहरामा सफेद लगाऔला लालीको बदला तिमी नक्कली रङ्ग रचाऔंला ।

त्यस्तै अरू क्षेत्रहरूमा पनि भलादमीहरू छन् । चित्तशुद्धिभन्दा शरीरशुद्धिको विचार राख्ने पुजारी, भावभन्दा शब्द याद गर्ने पाठक, मानिसको हितभन्दा आफ्नो नामको ध्यान राख्ने सुधारक, मासु खाएर सहभावको कविता लेख्ने कवि, बुझाउनभन्दा हात लगाउन जान्ने शिक्षक, गर्नभन्दा बोल्न जाने नोकर, अर्काको लेखमा हँसी उडाएर कलम सुताउने पाठक यी एक एक किसिमका एक से एक भलादमी हुन् ।

निबन्धकार परिचय:

लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६-२०१६) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले कविता काव्य, निबन्ध, नाटक र कथा, उपन्यासको सिर्जना गरेका छन्। उनी स्वच्छन्दतावादी साहित्यकार हुन् । उनका सिर्जनामा मानवताबाद, देशभक्ति, प्रकृतिचित्रण र क्रान्तिकारी प्रगतिशील चेतनाका साथै मानव जीवनका विकृति र विसङ्गतिप्रतिको व्यङ्ग्य पनि पाइन्छ । लक्ष्मी निबन्धसङ्ग्रह र दाडिमको खनेर उनका निबन्धसङ्ग्रहहरू हुन्। उनले मुनामदन, कुञ्जिनी, राजकुमार प्रभाकर, मायाबिनी ससजस्ता खण्डकाव्य र शाकुन्तल, सुलोचना, प्रमिथसजस्ता महाकाव्य पनि लेखेका छन्। निबन्धकारका रूपमा आत्मपरकता उनको मुख्य पहिचान हो। जीवनजगत्का विभिन्न विषयलाई आधार बनाएर उनले आफ्ना मनोभान तथा विचारहरूको सुन्दर संयोजन गरी अत्यन्त उत्कृष्ट निवनाहरू रचेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर