युवा साहित्यकार सयपत्री थुलुङ नेपाली साहित्यमा चिरपरिचित नाम हो।केहि बर्ष अघि १ गजल संग्रह प्रकाशित गरेकी उनको ‘गाउँ फर्किरहेको परदेशी’ कविता संग्रह बजारमा आएको छ।यसै संग्रहको सेरोफेरोमा रहेर कवि थुलुङसँग सम्पादक जीवन खत्रीले सोधेका पाँच प्रश्न :

१, गाउँ फर्किरहेको परदेशी कस्तो खालको किताब हो? यसमा कस्ता कविताहरू समावेश छन्?

– ‘गाउँ फर्किरहेको परदेशी’ कृति प्रवासी नेपाली मनहरूको देश प्रतिको मोहको दस्तावेज हो जस्तो लाग्छ । जसमा प्रवाशबाट देश फर्किरहदाको हर्षित अनुभव र अनुभुतीहरुको मान चित्र छ । यसका साथै गाउँघरको स्नेह , देशप्रेम , नारी आवाज , परदेशको विडम्बना र माया प्रेम आदि छन् ।

२, जापानमा हुनुहुन्थ्यो, पैसा फल्ने र टिप्ने देशमा पुगेर पनि कविता टिप्नु भएछ? खासमा के रहेछ कविता?

-कविता भन्नू त अनेकौ परिस्थितिहरूले मनमा दन्किरहने भावनाको ज्वाला हो जस्तो लाग्छ । जब अमुर्त सपनाहरू सजाउदै आफ्नै रहरहरूलाई धरौटी राखेर म एयरपोर्टको बाटो भएर जापान पुगेँ । देश प्रतिको प्रेम, गाउँ घर प्रतिको सम्झना, संघर्षका आयामहरु , आफन्त र परिवारको सम्झना यी यस्तै उल्झनहरुको आबेगमा सायद थाहै नपाई कविता टिपे होला । प्रवाशमा पैसा फल्नु र कविता फल्नु फरक पाटो अनि पैसा टिप्नु र कविता टिप्नु फरक पाटो हो । यधपि यति भन्न सकियो कि पैसा टिप्न पसिनाको धारा बगाउदा- बगाउदै भावनारूपि थकानहरू विसाउने क्रममा कविता टिपियो ।

३, तपाईँ कविता किन लेख्नुहुन्छ? सङ्ग्रहमा समावेश कुनै कविताको पृष्ठभूमि सम्झिनु हुन्छ कि?

कविता लेख्न कारण चाहिदैन जब जीवन भोगाइमा कारण कारक भएर उभिन्छ तब कविता जन्मिन्छ। लेख्छु भनेर कविता लेखेको भन्दा नि नलेखेर धर नदिएका मन भित्र दन्किएका जीवन भोगाइका ज्वाला हरु ले मलाई खरानी नबनाएको भए भन्ने प्रश्न आफै संग छ । प्रवाशी बनेपछि आफन्त, गाउँघर र देशको सम्झनाले तानिरहदा नै कविताका पृष्ठभूमीहरू तयार भएको हो । यस्तै पृष्ठभुमीहरूको सग्लो रूप नै यो कृति हो भन्ने लाग्छ ।

४, किताबका अलवा थुप्रै माध्यम छन्, पाठकलाई । पढ्नै मन गर्ने पाठकले पनि बिभिन्न स्रोतबाट प्राप्त गर्न सक्छन् । किताब किन? र झन् तपाईँकै किताब किन?

किताब एउटा यस्तो दस्तावेज हो , जहाँ कोरिएका शब्दहरु एउटा मिठो इतिहास भएर युगौयग रहिरहन्छ । आजकलको डिजिटल समयमा जुनसुकै माध्यमबाट पनि पाठकले पढ्न सक्ने व्यवस्था छ तर पनि किताब नै किन त भन्दा धेरैजसो पाठकहरू अन्य माध्यमबाट भन्दा किताब नै पढेर मात्र सन्तुष्ट हुन्छन् किताब पढिरहदा मिल्ने स्वाद अन्य स्रोतहरूले दिन सक्दैन । अतः किताब नै पाठकको लागि दिर्घकालीन र सर्वप्रिय माध्यम हो । मैले लेखिरहदा मेरो भोगाई मात्र नभएर हरेक व्यक्तिहरूले भोगीरहेका तितो यथार्थलाई स्पर्श गरेर कविताहरु सृजना गरेकि छु जून कविताहरू कसैको लागि प्रेरणाको स्रोत बन्न सक्छ , कसैको लागि पिडाको मलम बन्न सक्छ , कसैको लागि खुशीको कारण पनि बन्न सक्नेछ यसर्थ मेरो कविताहरु किताब मार्फत नै पाठकको लागि ल्याएकि हुँ ।

५, देश बसेर लेख्दा र परदेशमा बसेर लेख्दाको फरकपन के हुँदो रहेछ?

लेखनमा रमाईरहनेलाई देश र परदेशको भुगोलले त्यति फरक पक्कै पार्दैन । तर जब हामी नेपालीपन बोकेर नेपाली मनहरू देश भन्दा पर रहन्छौ तब देश प्रति प्रेमको आयतन यति फराकिलो भएर फैलिदो रहेछ नि देश बाहिर बसेर देश सम्झिदा त अन्जान मुस्कानहरु फैलदो रहेछ । देश भित्र बसेर लेख्नु भन्दा देश बाहिर बसेर लेखिरहदा शब्द थुङ्गाहरू आफैमा देशप्रेमको खातिर फक्रदो रहेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर