फूलजत्तिकै नरम र सुन्दर कविता लेख्ने कवि प्रकाश रम्घाली पछिल्लो समय असाध्यै रुचाईएका कवि हुन् । तनहुँमा जन्मेका उनी हाल काठमाण्डौ बस्छन् । नेपाली सेनाको जागिरबाट सेवा निवृत उनी कविता लेखनमा क्रियाशिल छन् ।

उनको कविता सङ्ग्रह साँझको सङ्गत केहीदिन अघिमात्र बजारमा आईपुगेको छ । यसै कृतिमा आधारित रहेर कविसँग सम्पादक   जीवन खत्रीले सोधका पाँच प्रश्न ।

१, साँझको सङ्गत कस्तो खालको किताब हो ? कसरी जुराउनु भयो यो नाम ?

—साँझको सङ्गतमा मेरा वरिपरिका दृष्य र घटना छन् । मैले बाँचेको समय छ । प्राप्त सुखानुभूतिहरू छन् । देश छ । समाज छ । नवीन दृष्टिकोणहरू छन् । केही जिज्ञासु सपनाहरू पनि छन् । पाठकलाई आफ्नो रोमाञ्चित बिगततर्फ फर्काउने र प्रेमको संघारमा फूल लिएर उभिएको हार्दिक मानिस छ— कवितामा । बेचैनी र त्राणका बीच आनन्दको खोजी छ । कविताको नाम मैले केही बर्ष अघि नै जुराएको थिएँ । साँझको समय मलाई बढी हार्दिक र प्रिय लाग्छ । मेरो किशोर वयका अघिकत्तम समयहरू साँझको सङ्गतमा बिते । यस कारण म साँझसँग गहिरो प्रेममा थिएँ । यो नाम त्ससैको परिणाम थियो ।

२, तपाईँ नौनीजस्तै नरम कविता लेख्ने कवि भनेर चिनिनु हुन्छ । कस्ता कस्ता कविताहरू समावेश छन् यो कृतिमा?

—मलाई के लाग्छ भने, कवितामा स्वभाव रिफ्लेक्ट हुन्छ । म अलि लजालु छु र अन्तरमूखी पनि छु । कुनै लजालु युवतिले मुस्कुराएको क्षणजस्तो शब्दहरूको मोहकताले अथवा कठोर हुन नसकेका मेरा कोमल शब्दहरू माथिको धारणा हुन सक्छ यो । के कस्ता कविताहरू समावेश छन् भन्ने कुरा छ । म कविताको लामो बाटो हिँडे । कविता लेखनको यात्रामा बिविध बिषयले भेटहरू दिएका छन् मलाई । खासमा म एक मौरी थिएँ । मानिसको सुन्दर हृदयमा फुलेका फूलहरूलाई चुमेर मानिसकै स्वाद दिने प्रयत्न गरेको छु यस सङ्ग्रहमा ।

३,साँझको सङ्गतमा समावेश भएका कविताहरू लेखनका लागि यहाँले टिप्नु भएको बिषयहरू मध्येबाट केही प्रसङ्ग सम्झिन मिल्छ कि?

—कवितामा मानिसको उपस्थिति केन्द्रमा हुनुपर्छ । मानिसकै बीचबाट कविताहरू ओहोर/दोहोर हुन्छन् । प्रत्येक मानिस एक भब्य कविता हो । मानिससँगै हुन्छन् कोमल र हार्दिक वाणीहरू । सुष्मानुभूतिको लेन्सबाट मानिसका जीवनलाई हेर्दा त्यसमा एक विचित्र ईमेज पैदा हुन्छ । त्यस्तो तस्वीरले कवितामा धेरै ठाउँ ओगट्न सक्छ । यस्तै एक घटनाबाट प्रेरित भएर मैले “कोही कोही मानिसको मायामा…” लेखेको थिएँ ।

४, सम्भवत तपाईँको यो कृति पहिलो होला । धेरै कविहरू कविता लेख्न थालेको छोटो समयमै किताब निकाल्न दौडिरहेका देखिन्छन् । तपाईँ त यो मामलामा उल्टो देखिनु भयो किन होला?

—एक असल कविले आफ्नो धैर्य र धारणा गुमाउनु हुन्न । कविताको विशिष्टतालाई धोका दिने र पाठकलाई छल गर्ने मेरो मनसाय कहिल्यै रहेन । म आफ्नो कविताप्रतिको निष्ठालाई जहिल्यै जोगाउन चाहन्थेँ । मेरो हकमा ढिला हुनुको सच्चाई पनि यहीँ नै थियो ।

५, केही अघिसम्म तपाईँ नेपाली सेनामा सेवारत हुनुहुन्थ्यो, हुन त सेनामा हुनेहरू पनि साहित्यमा उत्तिकै बिशिष्ट प्रतिभाहरू छन्, तपाईँलाई चाहिँ कसरी यतातर्फ चाख बस्यो । साँझको सङ्गत आउनुसम्म कसरी सम्झिनु हुन्छ?

—कविता, जीवनप्रति फर्कने एक सुन्दर आँखीझ्याल पनि हो भन्ने लाग्न थालेको छ अहिले । कठोर पेशामा थिएँ । त्यो कठोर भनेको पेशा थियो । म सधैँ हृदयलाई पुज्थेँ । समवेदनाहरू उभ्याउथेँ । आफ्ना बिगतहरूलाई सम्झिएर धन्यवाद भन्न मन लाग्छ । सैनिक जीवनबाट मैले अनुशासित शब्दहरूको निर्माण गरेँ । शब्दहरूको जोगार्ड गर्न र त्यसको प्रतिष्ठापना गर्न पनि त्यहीबाट सिकेँ । त्यत्रो ठूलो समुहले बोल्दा पनि एउटै मानिसले बोलेजस्तो सुनिन्छ । त्यत्रो फौज हिँड्दा एकै मानिसले हिँडेजस्तो देखिन्छ । सायद यहीँ सम्मोहनले मलाई तानेको हुनुपर्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर