– आनन्द श्रेष्ठ

गजल १,
लगाएर अत्तर शरीर मग्मगायो
थियो घाटमा लाश फर्केर आयो

म आएँ नभन्दै छिऱ्यो पीर दिलमा
त्यही पीरले जिन्दगी यो नचायो

कठै ! जिन्दगीले रुझाएछ फेरि
नभिज्नू भनेको भिजेरै बितायो

थियो ऊ लुटेरा नजर चोर्न जान्ने
उधार्यो नजरले, नजरले लुटायो

कसैको चरित्रै हुने रै’छ यस्तो
यता के सुनायो उता के सुनायो

सिकेको छु “आनन्द”ले बॉच्न आफै
न चोर्नै सिकायो, न तोड्नै सिकायो ।

गजल २
प्रियालाई आफ्नै रोगले अत्ति नै गर्छ कि ! भन्ने चिन्ता छ
मलाई भने उनको आँखाबाट आँसु झर्छ कि ! भन्ने चिन्ता छ

जनता भोकले सडकमा हामी यता छौं भनेका भनेकैछन्
नेतालाई चुनाव चिन्ह अरूलाई नै पर्छ कि ! भन्ने चिन्ता छ ।

पशुपति छन् र लामो सास फेर्दै बाँचिरहेको छ मेरो देश
राजनीति देखेर भगवानको बासै सर्छ कि ! भन्ने चिन्ता छ

उसले उसलाई र उसले उसलाई छिमेकीको दलाल भनेर आरोप लगाए
मलाई भने कतै दुवैको छिमेकमा घर छ कि ! भन्ने चिन्ता छ

एउटै दलमा सत्ता र प्रतिपक्ष भएपछि अरू के बाँकी रह्यो र !
यो गणतन्त्र पनि सत्र साल झैं मर्छ कि ! भन्ने चिन्ता छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर