-कृष्णकला भण्डारी

मुक्तक १
चप्पल चुँड्दा भुन्टी जमाई पैतालाहरू छेक्ने मै हुँ
बटौलीको नुन   बोकेर  ल्याएका  बाबा  देख्ने मै हुँ
भन्छ मेरै पुत्र  आज   ल्याप्टप  बिना कामै चल्दैन
हत्केलामा काफल निचोरी कलम भरेर लेख्ने मै हुँ ।

मुक्तक २
बोल्न त के गाह्रो छ र गर्न गाह्रो छ
बाँच्न त के गाह्रो छ र मर्न गाह्रो छ
ढुङ्गा मुढा पल्टाउदै बग्ने जिन्दगीमा
पौडी खेल्न जाने पनि तर्न गाह्रो छ ।

मुक्तक ३
परदेशबाट फर्क अब देश बनाऔँ प्रिय
हिमाल, पहाड अनि हाम्रै मधेस बनाऔँ प्रिय
तिम्रै तातो रगत र पसिनाले परदेश बन्यो
अब आफ्नै जन्मभूमि बिशेष बनाऔँ प्रिय

मुक्तक ४
सोझोलाई समाजले बाङ्गै हुन सिकाउँछ
खुट्टा तान्छ भाँच्छ र अपाङ्गै हुन सिकाउँछ
पुरै छोपे पाखे भन्छ छोटा लाए खुबै हेर्छ
च्यातिएकै लुगा बेच्छ नाङ्गै हुन सिकाउँछ।

मुक्तक ५
जस्तो संस्कार पायो सन्तान त्यस्तै बन्न सिक्छ
वजनदार भयो भने शब्द पनि बिक्छ
कडा हुन्छ दाँत तर बेलैमाथी झर्छ
जिभ्रो नरम हुन्छ र त सधैंभरि टिक्छ ।
***

प्रतिक्रिया

सम्बन्धित खवर