✍️ जीवन खत्री

युवा लेखक भेषराज बुढाथोकी खप्तड छेडेदह गाउँपालिका डोगडी, बाजुरामा जन्मिएका हुन् । उनी हाल बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत छन्। कविता, गजल, कविता विधामा पनि कलम चलाउने उनको विभिन्न पत्रपत्रिकामा फुटकर रचना प्रकाशित भएको छ । हाल उनले ‘छुटेपछि’ उनको पहिलो कृति (अडियो बुक) बजारमा ल्याएका छन्। सोही अडियो बुक ‘छुटेपछि’को सेरोफेरोमा रहेर कथाकार भेषराज बुढाथोकीलाई सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न यस्ता छन् :

प्रश्न एक : छुटेपछि (अडियो बुक) अलि भिन्न खालको किताब (अडियोमा मात्र) लाग्यो । यो कस्तो खालको किताब हो । किन अडियोमा किताब ल्याउनु भयो, मसी, कागज जोगाउन कि प्रविधिको प्रयोग गर्न ?

हो, यो अडियो बुक, तपाईँले भन्नु भए जस्तै ‘भिन्न खाले’ नै छ । बजारको व्यापारी समेत आफ्नो व्यापार अरूको भन्दा भिन्न होस् भन्ने चाहन्छ । चोकको होटेल वाला साहुजी पनि आफ्नो होटेलमा पाकेका परिकार अरूको भन्दा भिन्न होउन् भन्ने चाहन्छन् । चियावाला दाई पनि आफ्नो दोकानको चियाको स्वाद अरूको भन्दा भिन्न होस् भन्ने चाहन्छन् । त्यस्तै लेखकहरू पनि प्रायः आफूलाई अरुभन्दा भिन्न भइयोस् भन्ने नै चाहन्छन् । आफूले लेखेको चिज अरूको भन्दा भिन्न होस् भन्ने नै चाहन्छन् ।

यो एउटा अडियोको प्याकेज हो । एउटा सङ्ग्रहित श्रव्य सामाग्री हो । यसमा केही कथा र केही संस्मरणहरू सङ्ग्रहित छन् ।

यसरी प्रकाशित गरेर कागज र मसी जोगाएको होइन । यसको मतलब ‘कागज र मसी’ नजोगाउदैमा लेखक नभईहाल्ने पनि होइन होला । यसलाई कागज र मसी जोगाएको भन्दा पनि प्रविधिलाई आत्मसात गरेर आजको ‘डिजिटल युवा’लाई डिजिटल प्रविधि मार्फत किताब श्रवण गराइएको साँचो हो। अतः मूलः यसरी प्रकाशन गर्नुको उद्देश्य प्रविधिको प्रयोग गरेर, आफूलाई थप परिष्कृत गरेर आफू भित्रको चिज प्रस्फुटन गर्नु नै हो । जुन इमान्नदार प्रयास मैले गरेँ।

प्रश्न दुई : केही पाठकको गुनासो थियो, यो अडियो बुकको केही कथाहरू हामीले पत्रिका र अनलाइनतिर पनि पढिसकेका थियौँ । अडियो सुन्ने श्रोता र पढ्ने पाठक फरक हुन्छन् भनेर नयाँ प्रयोग गर्नुभएको हो ?

उपन्यास भइदिएको भए सबै ‘भर्जिन कथा’, सबै ‘भर्जिन सिलसिला’ हुन्थ्यो होला । यो एउटा आख्यान हो । अघि नै भनेँ, यसमा केही कथा र केही संस्मरण छन् । त्यसैले तिनीहरू मध्य केही पाठकले पढेको हुनु , केही कथा अगाडि नै प्रकाशित भएको हुनु, खासै नौलो मलाई लागेन । तपाईँले भने जस्तो सुन्ने श्रोता र पढ्ने पाठक फरक हुन्छन् । कोही टक्क कानमा एयर पड र एयर फोन लाउँदै सुन्न मन पराउँछन् । कोही नयाँ किताबको बासना लिँदै, शब्द र वाक्यसँग साक्षात्कार गर्दै पढ्न मन पराउँछन् । मान्छे फरक फरक भएपछि रुचि पनि फरक फरक भइहाल्ने भयो ।

प्रश्न तीन : यो अडियो बुकको बिक्री बितरण निश्चित अवधिका लागि मात्र रहेछ । किन यस्तो ? बिस्तृतमा बताइदिनुस न ।

अनलाइनको माध्यमबाट हुने प्रायः चिजहरू निश्चित समयका लागि हुन्छन् । जस्तो नयाँ पासपोर्ट बनाउन पर्यो भने अनलाइन फर्ममा दिईएको डेटमै पुग्नुपर्छ । त्यसको लागि निश्चित समय सीमा तोकिएको हुन्छ । ठिक यही नै कारण हो भनेर त भन्दिनँ । तर किन्नेहरूले वा किन्न मन हुनेहरूले त्यही तोकिएको समय सीमा भित्र किनी सक्छन् । सुनी सक्छन् । नकिन्नेहरू, नसुन्नेहरूलाई जहिल्यै उपलब्ध गराउँदा पनि सुन्दैनन् । किन्दैनन्।

हामी नेपालीहरूको पठन संस्कृति निकै साँघुरो छ । झन् अडियो)बुकको बजार एकदमै सानो छ । ुनगन्य मात्राु मा छ भन्दा पनि हुन्छ । अनि यस्तो बजारमा सधैँ एउटै चिज उपलब्ध गराउन मलाई चाहिँ खास मज्जा लागेन । त्यसैले केही दिनमा यसको बिक्री वितरण बन्द हुनेछ । बन्द गर्दैछु ।

प्रश्न चार : यो अडियोबुक पाठकले किन सुन्नुपर्छ ? नसुनेमा के छुट्छ ? तपाईँले स्वयम् पाठक भएर सुन्नुभयो ? सुन्नु भएको भए तपाईँ भित्रको पाठक सन्तुष्ट भयो ?

यो अडियो–बुक भित्र प्रायः पात्र र इभेन्टहरू यथार्थ छन्। ती समाजबाट टपक्क टिपेर ल्याइएका हुन् । काल्पनिक पात्र र इभेन्ट निकै कम छन् । ती पात्र , ती इभेन्टले समाज बोल्छन् वा समाजको केही भाग बोक्छन् भन्ने मलाई लाग्छ। सुन्ने श्रोताले वा पाठकले अडियो–बुक भित्र धेरै ठाउँ ऊ आफूलाई पाउनेछ । ऊ ‘आफू नै हुँ कि त यो पात्र’ भन्ने सोच्न बाध्य हुनेछ । त्यहाँ बाल्यकाल छ । छुटी हिँडेकी प्रेमिकालाई लेखिएको पत्र छ । त्यहाँ गाउँको एक सर्वसाधारण मास्टरका सपना, उसले बाँचेको परिवार, भोगेको युग कस्तो हुँदो हो भन्ने कुरा छ । लेखकले परदेशमा बाँचेको समय, टेकेको भूगोल कस्तो छ भन्ने कुराको वर्णन छ । यसैले यो पुस्तक सुन्नुपर्छ भन्ने म ठान्दछु ।

नसुनेमा आफ्नो छुटेको बाल्यकालसँग फेरि भेट हुने संयोग छुट्छ । गाउँ छुट्छ । प्रकृतिको काखमा खेल्दै ,हिँड्दै, लड्दै ,उठ्दै गाउँमा बाँचेको ‘समय’ छुट्छ । छुटी जानेहरूका फरक प्रेरक प्रसङ्ग छुट्छन् । अन्तः मीठो चिज छुट्छ ।

म आफू पाठक भएर सुन्दा म भित्रको पाठक आंशिक सन्तुष्ट भयो । आफूले लेखेको कुरा वा आफूले भनेको कथा, आफैँलाई खत्रा सायदै कम मान्छेलाई लाग्छ होला । मैले कस्तो लेख्न सकेँ वा कस्तो लेखेँ, मैले कस्तो कथा भनेँ, मैले पाठकलाई भन्न खोजेको कुरा उसको दिमागमा घुस्यो कि नाई, त्यो त पाठकले भन्ने कुरा हो । यहाँहरूले भन्ने कुरा हो । सुन्ने र पढ्नेहरूले भन्ने कुरा हो ।

प्रश्न पाँच : हुन त अडियो किताबको प्रयोग नौलो हैन तर पनि यस्ता प्रयोगले किताबको भविष्य के होला ? तपाईँको श्रोता पाठकले पाना पल्टाउँदै किताब पढ्न कहिले पाउँछन् ?

अडियो-बुकको प्रयोग नौलो होइन भन्नुभो । वास्तवमा विश्व साहित्य बजारमा त यो यहाँले भने जस्तै त्यति नौलो नहोला । तर नेपाली साहित्य बजारमा त यो नयाँ चिज नै हो । मलाई था’ छैन, पैसा तिरेर अडियो सुन्ने कुरा नेपालमा पुरानो हो भन्ने कुरा । बरु युट्युबतिर खोज्दा अडियो-बुकहरू फेला पर्छन् । ती त निःशुल्क हुन् नि । पैसा तिरेर अडियो किन्नु नयाँ हो भन्ने मलाई लाग्छ । म भन्दा अगाडि एक/दुई जनाले त्यो प्रयोग गरे । मैले त्यसैलाई निरन्तरता दिएको हुँ ।

यस्तो प्रयोगले किताबको भविष्य के होला भन्नुभाछ । यो प्रश्न मलाई भन्दा पनि ती चलेका प्रकाशनगृह वा प्रकाशकलाई सोध्नू-जसले आफ्ना भान्छा कोठा वरीपरीका लेखक बाहेक अरूलाई लेखक ठान्दैनन्, आफ्नो ‘किचन क्याबिनेटका सदस्य’ बाहेक अरूको किताब छाप्दैनन् । नयाँ वा युवाले पनि लेख्न सक्छ भन्ने नसोची सधैँ चलेकै लेखकको वरीपरी रहेर चलेको लेखकले जे लेखे पनि बिक्छ भन्ने सोच्छन् । त्यस्ता प्रकाशन गृह र तीनका मालिकलाई सोध्दा यो प्रश्नको सही जवाफ आउला ।

ढिलो चाँडो मेरो किताब आउँछ । ‘किताब निकाल्न र सन्तान जन्माउन’ हतार गर्नुहुन्न भन्ने कुरामा म सचेत छु । कामहरू भइरहेका छन् । तपाईँको हातमा अबका केही बर्षमा पुस्तक पुग्ला नै । पुस्तक पुगेपछि पाना पल्टाएर, नयाँ किताबको बासना सुँघेर पढ्न त पाइने नै भयो नि ।

प्रतिक्रिया

सम्बन्धित खवर