✍️ निर्मल आग्रह

युवापुस्तामा लोकप्रिय कवि अभय श्रेष्ठ चिनाई रहने पर्ने नाम हैन् । अखबारी लेखन, सक्रिय पत्रकारिता र सम्पादन साथै सामाजिक सञ्जालमासेमत समाज परिवर्तनका लागि उत्तिकै सक्रिय श्रेष्ठक‍ो यस अघि एक कविता र एक गजल सङ्ग्रह प्रकाशित भैसकेका छन् । हालसालै बजारमा आउन लागेको उनक‍ो कविता कृति ‘लहना र तीर’ तेस्र‍ो सन्तान हो । यसै कृति ‘लहना र तीर’को सन्दर्भमा सेतोमाटोका सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र उनको जवाफ प्रस्तुत छः

प्रश्न एक : ‘लहना र तीर’ कस्तो किताब हो ? यो नामले के अर्थ दिन्छ ? कसरी जुराउनु भयो ?

‘लहना र तीर’ मेरो नयाँ कविता संग्रह । १८ वर्षपछि निस्कन लागेको यो मेरो तेस्रो कविता कृति हो । यसअघि २०६२ मा ‘कायाकल्प’ कविता संग्रह र २०६० सालमा ‘फूलबिनाको शाखा’ गजल संग्रह प्रकाशित भएको थियो ।

‘लहना’को अर्थ नेपालभाषामा सभ्यता हो । हाम्रा रैथाने सभ्यताहरूमाथि तीर बर्सिरहेको अर्थमा यो शीर्षक जुरेको हो । शीर्षक जुराउन मैले धेरै टाउको दुःखाउनु प¥यो । किताब निस्कनु वर्षौंअघिदेखि शीर्षकमा राय बुझ्ने नाममा सामाजिक सञ्जालमा हल्ला मच्चाउने र ध्यान खिच्ने प्रयास मलाई उचित लागेन । जतिलाई सोधेँ, तिनीहरूले मैले प्रस्ताव गर्न खोजेको नाममा अझै नयाँ केही खोज्नु भनिरहे, तर आफैले केही सुझाएनन् । त्यसपछि मैले सोध्नै छाडिदिएँ र झन्डै तीन वर्ष लगाएर यो नाम जुराएँ ।

किताबमा चार खण्ड छन्, ‘बागी कवि’, ‘पण्डित र नगरबधू’, ‘अस्मिताको गीत’ र ‘लहनामा सूर्योदय’ । पहिलोमा ‘सन्देह’ लगायत समसामयिक वैचारिक कविता छन्, दोस्रोमा ‘आमाको उत्तरदान’ लगायत महिला अस्मितामा केन्द्रित कविता । तेस्रोमा ‘मानचित्र’ लगायत उत्पीडितको पहिचानको संघर्ष र चौथोमा ‘सहृदय गणिकाको प्रेममा’ लगायत एन्टी–कन्फर्मिस्ट कविता छन् । मेरो यो संग्रह आलोचकहरूमा समर्पित छ ।

प्रश्न दुई : अखबारहरूमा साहित्यिक लेखन, फुटकर रचना प्रकाशन, सम्पादन, पत्रकारितामा क्रियाशिल र खेती किसानीमासमेत रमाई रहेको साहित्यकार अभय श्रेष्ठलाई ‘लहना र तीर’ पुस्तककै रूपमा प्रकाशन गर्नुपर्ने किन ? त्यस्तो के कारण आइलाग्यो ?

सम्पादन, पत्रकारिता र अखबारमा साहित्यिसम्बन्धी मेरा टिप्पणीमूलक लेख मेरो पेसाकै काम हुन् । खासमा त्यसलाई मेरो सिर्जनात्मक लेखनसँग नजोड्दा हुन्छ । खेती–किसानी मेरो पारिवारिक पेसा हो । यसलाई म व्यवसायभन्दा पनि आन्दोलन भन्न रुचाउँछु । म जैविक किसिमले खेती गर्न चाहन्छु, परम्परागत बिउ जोगाउन चाहन्छु । त्यसका अनेक चुनौती छन् । आत्मनिर्भर उत्पादन प्रणाली साम्राज्यवादविरुद्ध लड्ने सबैभन्दा बलियो हतियार हो भन्ने विश्वासका साथ म खेती गर्छु ।

अँ, यीभन्दा पनि महत्त्वपूर्ण कुरा, लेख्नु मेरा लागि सास फेर्नुजत्तिकै महत्त्वपूर्ण छ । मसँग भन्नुपर्ने कुरा धेरै छन् । बोलेर म ती कुरा राम्ररी अभिव्यक्त गर्न सक्दिनँ । लेखेर नै आफ्ना कुरा सबैभन्दा राम्ररी अभिव्यक्त गर्न सक्छु । एक्लिँदै, उपेक्षित हुँदै र दुर्घटनाग्रस्त हुँदै गएको सत्य, न्याय र इमानलाई बचाउन संसारलाई मैले केही सन्देश दिनु छ । कुलदेवताझैँ पुजिँदै आएको धूर्ततासँग लड्न पनि संसारलाई मैले आफ्नो कुरा भन्नु छ । कर्णसँग धनुर्विद्या थियो । महाभारत युद्धमा पूरा इमानका साथ उनले एक्लै लडे । अर्जुनसँग धनुर्विद्याका अतिरिक्त कृष्णको पनि साथ थियो । आखिर कृष्णकै छलनीतिले कर्ण मारिए । कर्ण यहाँ एक प्रतीक हुन्, एक उदाहरण मात्र हुन् ।

तपाईं कर्णको ठाउँमा सुदाम, लोहासुुर, शम्बूक, अजित मिजार वा नवराज विकलाई पनि राख्न सक्नुहुन्छ । मलाई धर्मयुद्धको नकाव धारण गरेर छल गर्ने कृष्ण होइन, मृत्युकै मूल्यमा पनि इमान र नैतिकता नत्याग्ने कर्णहरूप्रतिको प्रेमबारे बताउनु छ ।

कविता सिर्जना मेरो अभिव्यक्तिको सबैभन्दा प्रिय माध्यम हो । ‘लहना र तीर’मार्फत संसारलाई मैले आफ्नो फरक सन्देश सुनाउनु छ ।

प्रश्न तीन : ‘लहना र तीर’मा समावेश भएका कविताहरू लेखनका लागि यहाँले टिप्नु भएको बिषयहरूमध्येबाट केही प्रसङ्ग सम्झिन मिल्छ कि ?

कविता भन्नु नै अनुद्घाटित सत्यलाई उद्घाटन गर्नु र त्यसलाई शिल्पयुक्त भाषामा भन्नु हो । यस्ता धेरै प्रसंग छन् । नेपालका अधिकांश ठाउँमा, काठमाडौँमा हुने अधिकांश कविताका कार्यक्रम खासमा विनिमय, ऐँचोपैँचो, लेनदेनहरू नै हुन् । एकपल्ट युवाहरू आफूलाई मन पर्ने बुढा कविका कविता वाचन गर्छन् । कसरी छान्ने, कसलाई छान्ने भन्ने प्रक्रिया सबैलाई थाहा छ । अनि अर्कोपल्ट बुढा पुस्ताले त्यसरी नै वाचन गर्ने कार्यक्रम राखिन्छ । यो उदाहरण मात्रै हो । हरेकजसो कार्यक्रममा यही आफन्तवाद, मित्रवादले काम गर्छ । यस उत्सवमा मलाई राख, अर्कोमा तिमीलाई म छुटाउँदिनँ भन्ने सूत्रले काम गर्छ । कुनै कुनै संस्थाको कार्यक्रममा भने आयोजकको खुसामद गर्नेले बाहेक अरूले कहिल्यै ठाउँ पाउँदैन । कविता, साहित्यजस्तो नितान्त आत्मीय अभिव्यक्ति दिने विधामा समेत यस्तो गरिन्छ भने ठूलो स्टारडम हुने क्षेत्रमा, व्यवसायमा केसम्म होला, अनुमान गर्दैमा कहाली लाग्छ । यस्तो देख्दा मलाई लाग्यो, अब कविता लेखेर मात्र, राम्रो कविता लेखेर मात्र नपुग्ने भयो, तपाईं कवि हुन समेत कोही ठूला मान्छेको आशीर्वाद चाहिने, ठूला अखबारको टेको चाहिने भयो । कस्तो परिहासजनक स्थिति ! यो त सत्यलाई नै साक्षी चाहिने स्थिति हो । त्यसपछि नै मैले लेखेको हुँ–
अब सत्यलाई पनि
सावित हुन साक्षी चाहिन्छ
घामलाई घाम हुन
जूनलाई जून हुन
र, आकाशलाई आकाश हुन साक्षी चाहिन्छ ।

राजनीतिक दलहरू, कार्यकर्ताहरू अनावश्यक रूपमा आक्रोश र ऊर्जा खर्च गर्छन् । जब आवश्यक पर्छ तिनीहरूसँग त्यो ऊर्जा नै हुँदैन । यो स्थितिले मलाई अर्को कविता लेख्न प्रेरित ग-यो ।

सन् २००० मा मणिपुरको राजधानी इम्फालमा थांगजम मनोरमा नामकी क्रान्तिकारी युवतीको बलात्कार र हत्याविरुद्ध प्रबुद्ध महिलाहरूले सेनाको क्याम्पअगाडि उभिएर भने, अत्याचारी सेना हो, सक्छौ भने हामीलाई पनि बलात्कार गर । अमेरिकी युवायुवतीले नांगो जुलुस प्रदर्शन गर्दै तत्कालीन राष्ट्रपति सिनियर जर्ज बुसलाई सोधे, ‘नांगोपनको सीमान्त के हो बुस महोदय ?’ मलाई लाग्यो, ग्लामरका नाममा नागिने स्टार युवती र यी जुलुसमा आकाश–जमिनको अन्तर छ । त्यसमा पृथक विचार र सुन्दर कविता छ । त्यही पृष्ठभूमिमा मैले लेखेको थिएँ, ‘हतियार’ कविता । यस्ता धेरै प्रसङ्ग छन् ।

प्रश्न चार यहाँ एक गम्भीर पाठक र अध्येता पनि हुनुहुन्छ । पौराणिक मिथकका साथै नेपाली साहित्य र यसका अलवा विदेशी साहित्य समेत अध्ययन गर्नु भएको छ । आजसम्म तेस्तो के कुरा लेखिन बाँकी रहेछ जुन चिज यो किताबमा दिनुभएको छ । भन्न मिल्छ ?

सिर्जना भनेकै स्वरूपमा संसारका कुनै पनि कुराबाट पृथक् हुनु हो । सिर्जना परम्परामै पूरै नयाँ भन्नेचाहिँ केही हुँदैन । मेरो कविताको मुख्य स्वर जडता, थोत्रा परम्परा र अन्धताको विरोध अनि सत्यसँग साक्षात्कार हो । सुन्दरताभन्दा पनि माथि केही हुन्छ भने त्यो सत्य हो ।

जनसाधारणले एकथरी सोचिरहेको हुन्छ, चलिरहेको जडतामाथि नै गौरवगान गरिरहेको हुन्छ, मेरा कविताले पाठकलाई फरक तरिकाले सोच्न प्रेरित गर्छ । अन्तिम सत्य भन्ने केही हुँदैन । कविको चेत आलोचनात्मक हुन्छ । कवितामार्फत सर्वप्रथम म आत्मआलोचना गर्छु । त्यसपछि मात्र समाजतिर औँला तेस्र्याउन मलाई नैतिक हक हुन्छ । मेरो कविताले आफैमाथि समेत सन्देह गर्न प्रेरित गर्छ । म अविरल गर्छु सन्देह आफ्नै ब्रह्ममाथि पनि जसरी माटोले हरेक पटक गर्छ आफ्नै गर्भमा रोपिएको सत्वीजको परीक्षा ।

प्रश्न पाँच आजका पाठकहरूसँग किताबको विकल्पमा धेरै कुराहरू छन् । ती विकल्पबाट किताब नै पढ्नु पर्ने कारण के हुन सक्ला ? अझ लहना र तीर पाठकले किन पढ्नु पर्ला ?

आज पाठकका हातमा जे जे छन् ती किताबका विकल्प होइनन् । खग्रास ग्रहणले चन्द्रमालाई छोपेजस्तै तिनले किताबलाई ओझेल पारेका मात्र हुन् । किताबको विकल्प किताब बाहेक अरू हुनै सक्दैन । बजारमा त त्यही बिक्छ जुन सस्तो र सुलभ हुन्छ । सर्वसाधारण सय जना युवालाई तपाईं उनीहरूको गोप्यता कायम गर्दै एकतिर सत्यजित रेको सर्वश्रेष्ठ फिल्म ‘पाथेर पाञ्चाली’ र अर्कातिर अश्लील फिल्ममध्ये एउटा रोज्न लगाउनुस्, ९५ जनाले अश्लील फिल्म रोज्छन् । यसको अर्थ ‘पाथेर पाञ्चाली’को विकल्प अश्लील फिल्म भन्ने त होइन नि ! किताबका हकमा, मेरा कविताका हकमा पनि यही कुरा लागु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर