✍️ जीवन खत्री

 

सुमिना बिभिन्न विभेदका विरुद्धमा आफ्ना अक्षरहरू मार्फत आवाज उठाई रहने कवि हुन् । बिभिन्न अखबर र सामाजिक सञ्जालमा लेख, रचना तथा कविता लेखिरहने उनको ‘बागी स्त्रीको आत्मकथा’ पहिलो कविता कृति हो । उनै कवि सुमिनासँग उनको कविता कृतिसँग सम्बन्धित रहेर सेतोमाटोका सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न:

प्रश्न एक : ‘बागी स्त्रीको आत्मकथा’ कस्तो खालको किताब हो ? पाठकले किन पढ्नु पर्छ यो पुस्तक ?

यो एउटा बागी कविताहरूको संग्रह हो । जसमा अधिकतम मात्रमा प्रतिरोधी चेतनाका कविताहरू समावेस गरिएका छन् । साहित्यलाई कला र दिल बहलाउने मनोरञ्जनको श्रोत भन्दा अल्लि परबाट आजको समाज विचार र मुद्दाहरूलाई पनि कलामा खोज्ने र पढ्न रुचाउने पाठकले यो पुस्तक पढ्नुपर्छ भन्ने मलाई लाग्छ । खासगरी त्यो पुस्ता जो परिवर्तनप्रेमी छ ।

हिजोको समाजले स्थापित गरेका मानक परंरागत मूल्य मान्यताहरू अन्तिम सत्य होइनन् समयसँगै यी परिवर्तन हुन्छन् र हुनुपर्छ भन्ने मान्यता राख्ने इतिहासलाई उल्ट्याएर हेर्न सक्ने आलोचनात्मक चेतनासहितका पाठकले यो पुस्तक अवस्य पढ्नुहुन्छ भन्नेमा म विश्वस्त नै छु ।

प्रश्न दुई : अखबार र सामाजिक सञ्जालतिर हरेक बिभेदका बिरुद्ध बागी आवाज बुलन्द गर्ने कवि यसपटक किताबको रूपमा आउँदै हुनुहुन्छ ? किताबको नाम समेत त्यस्तै न्वारन गर्नुभएको छ । यो पुस्तकले समाजमा हुने बिभेद बिशेषत स्त्रीहरू र उनीहरूको अप्ठ्याराहरूलाई कसरी समेटेको छ ?

मैले अघि पनि भनिसकेँ यो प्रतिरोधी कविताहरूको सङ्गालो हो र त्यसैकारण मलाई यो पुस्तकको नाम पनि प्रतिरोधी प्रकारको हुनुपर्छ भन्ने लागेको हो । सँग्रह भित्रका कविताहरूको प्रतिनिधित्व गर्न सक्ने अलि काव्यात्मक र बिम्बात्मक नाम खोज्न र सोच्नको लागि मैले केही समय र मेहनत खर्च गरेँ । तर पछि मात्रै थाहा भयो कि मैले खोजिरहेको नाम किताब भित्रै रहेछ ‘बागी स्त्रीको आत्मकथा’। अन्ततः यसलाइ नै पुस्तकको नाम राख्ने निर्णय गरियो ।

यो समग्रमा स्त्री साहित्य मात्रै होइन, पुस्तकभित्र सबैखाले कविताहरू समावेश छन् । तर, कवि स्वयं आफैँ पनि महिला भएको कारण केही प्रतिनिधि कविताहरूले महिलाको आवाज अवश्य बोलेका छन् , त्यो स्वभाविक पनि हो ।

किनकी त्यस्ता मुद्दाका केही कविताहरू मैले देखेर भोगेर कल्पना गरेर मात्रै नभएर आफै त्यो परिवेशसँग बाँचेर पनि लेखेकी छु ! त्यसैले ती जीवन्त छन् भन्ने लाग्छ । अनुभुती भन्दा अनुभव जीवन्त हुन्छ । कविताहरूमा पितृसत्ताले महिला तप्कामाथि गरेको अत्याचार त्यसको पनि चरमोत्कर्ष र हाम्रो समाजको सामाजिक सांस्कृतिक राजनैतिक र आर्थिक अवस्थितिमा महिलाको स्थान खोज्दै यो सत्ता संरचना माथिको असन्तुष्टि प्रश्न र विद्रोहलाई पङ्तिबद्व गरिएको छ !

प्रश्न तीन : आज पनि नेपाली समाज पितृसत्ताकै अवधारणामा चलिरहेको छ । नेपाली महिलाहरूको अवस्थालाई यहाँले कसरी नियाल्नु भएको छ ? कविता लेखनका लागि यहाँले टिप्नु भएको बिषयहरू मध्येबाट यहाँले देख्नु भएका केही प्रसङ्ग सम्झिन मिल्छ कि ?

हाम्रो समाज पितृसत्तात्मक छ भन्ने कुरा त सर्वविधितै छ ! त्यसका दृश्यहरू हाम्रै वरिपरि छन् । घर देखि समाज सडक र सत्ता सबैतिर पितृसत्ताका बाछिटाहरूमात्रै होइन धक्काहरू नै हामीले महसुस गर्छौँ । नेपाली महिलाको अवस्थाको कुरा गर्दा यसलाई एकै सब्दमा र एकै अवस्थामा अर्थ्याउन सकिँदैन । पितृसत्तात्मक सामाजिक संरचनाका कारण सबै तह तप्का जात र सम्प्रदायका महिलाहरू शोषणमा त छँदै छन् । तर यसको प्रकार फरक छ कम या बेसी घनत्व छ।

ग्रामीण भेगका निम्न महिला आज पनि सामन्ती पितृसत्ताको चपेटामा छन्, सहरी भेगका मध्यम र सम्भ्रान्त वर्गका महिलाहरूलाई पुँजीवादीले छोएको छ उनीहरू आफ्नो सापेक्षतामा केही स्वतन्त्रता महसुस गर्न सक्छन् । हामीले बिर्सनै नहुने कुरा वर्ग समाजमा महिलाको पनि वर्ग हुने हुँदा वर्ग अनुसारकै शोषणको स्वरूप र घनत्व छ।

ब्राह्मण उच्च जातिय र उच्च वर्गीय महिलाहरूले भोग्ने पिडाको प्रकार फरक छ । दलित निम्न वर्गका गरिखाने महिलाले भोग्ने पीडा त्यसको तुलनामा अझै असह्य र निर्मम प्रकारको छ । उनीहरू दोहोरो तेहेरो शोषणको चपेटामा पर्न बाध्य छन् । यस पुस्तकमा पनि वर्ग पक्षधरता र वर्ग अनुसारकै आवाज स्पष्ट महसुस गर्न सकिन्छ ।

कविता मलाई अत्यन्तै मन पर्ने बिधा हो बिद्यार्थी जीवनकालमा पनि मैले केही कविता कोरेकी छु । सुरु सुरुमा कविता रहरको बिधा थियो पछि बिस्तारै यसरी आदत बन्दै गयो कि हप्ता दस दिन कविता नलेख्दा मैले सपनामा कविता लेख्न थाल्थेँ । एउटा कविता छ (एउटा आव्हान) शिर्षकको । जून म सपनामा लेखेकी थिएँ ।

सपनाको कवितामा आएको भावनालाई साभार गरेर बिहान उठेर अक्षरहरू भरेँ । यद्यपि त्यो कविता मैले यस सँग्रहमा समावेश गरेकी छैन । पछि बिस्तारै कविता लेखन रहर आदत भन्दा पनि आवस्यकता जस्तै बन्यो । समाजमा घटित घटनाक्रमहरूले मलाई साँच्चिकै छुन्छ, म छोइन्छु ।

कतिपय घटनाहरूले अत्यन्तै पीडा हुन्छ संवेदनामा नराम्रोसँग हिर्काउछ । मनमा असन्तुष्टि मडारिन्छ ,मस्तिष्क अस्थिर बेचैन हुनथाल्छ तव म कविता लेख्न थाल्छु । पछिल्लो समय समाजसँगको मेरो अन्तरक्रिया नै कविता बन्यो । समाजमा घटिट घटनाक्रमहरूको प्रतिक्रिया स्वरुप मैले कविता लेखेँ ! जहाँ दुख वेदना आक्रोश उद्वेलन विद्रोह भेटिन्छ ! मेरा कविताहरू अन्याय अत्याचारको चरम रेखाबाट जन्मिएका हुन् । यहि नै मैले कविता लेख्ने र कविताको निम्ति देखेका विषय बस्तुहरू हुन् ।

प्रश्न चार : नेपाली समाजमा बागी आवाज कमजोर भएको कि ? बिभेदको शृङ्खला बढेको ? कि परिवर्तनलाई सहजै स्वीर्कान नसकेको ? तपाईँको कविताको बिषय यो भन्दा पर पनि छ होला किताबमा ? केही बताईदिनुस् न ।

नेपाली समाज पञ्चायत राणाशासन राजतन्त्र हुँदै अहिले संघीय लोकतन्त्रको अभ्यास गरिरहेको छ । यस बिचमा ठूला ठूला विद्रोहहरू भए । जनआन्दोलनहरू भए र आंशिक परिवर्तनहरू पनि भित्रिए ! आज हामीले अभ्यास गरिरहेको लोकतन्त्र पनि जनताले पूर्णतया प्रत्याभूत गर्न पाइरहेका छैनन् । जनताका दुःख उस्तै छन् ।

समाज आज पनि लोकतान्त्रिक मूल्य मान्यता बिपरित पुराना थुप्रै अलिखित नियमद्वारा चलिरहेको छ । त्यसको विरुद्धमा समाजका अनेक खालका बिद्रोहहरू त जन्मिरहेकै छन् । जहाँ असमानता छ थिचोमिचो छ शोषण यातना छ त्यहाँ बिद्रोहले अवस्य जन्म लिन्छ यो नियमसम्बत कुरा नै हो ।

नेपाली समाजमा पनि असमानता दलन र दमन छ त्यसैले यहाँ बागी आवाज कमजोर भन्न मिल्दैन । रह्यो विभेदको शृङ्खला बढेको कुरा , विभेद आजको आजै एकाएक बढेको होइन यो त हजारौँ वर्षदेखि पुस्तान्तरण गरिएको हो । बरु हिजोको समाजमा विभेदलाई पनि पम्परागत नियमसुत्रद्वारा जायज र मान्य ठहर गरिन्थ्यो । अथवा जो विभेदमा थिए उनिहरूको चेतनालाई हाइज्याक गरेर विभेदको बोध नै हुन नदिने परिपाटी निर्माण गरिन्थ्यो । अथवा नियतिवाद र भाग्यबादको माध्यमबाट विभेदलाई पनि सहर्ष ग्रहण गर्न बाध्य पारिन्थ्यो । तर, आज त्यो अवस्था छैन । मान्छेले विभेद बुझ्ने भएको छ । त्यसैले हिजोको समाजको तुलनामा आज विभेद विरुद्धको विद्रोह तिब्र भएर आएको कारण हामीलाई विभेद बढेको हो कि भन्ने महसुस भएको हो । खासमा विभेद बढेको होइन बरु प्रतिरोधको चेतना र बागी आवाजमा वृद्धि भएको हो ।

मान्छेले परिवर्तन सहजै स्वीकार गर्न नसकेका हुन् कि भन्ने प्रश्नमाचैँ म के भन्न चाहन्छु भने धेरैलाई लाग्छ समाज ठिक छ एउटा लयमा चलेको छ । त्यो लय भित्रका उछाल र तरँगहरूलाई महसुस गर्न नसक्ने जमात हाम्रो समाजमा ठूलै छ । उनीहरूलाई लाग्छ यो समाजको लय भङ्ग गरिनुहुन्न ढुङ्गा हिर्काएर तरँग निम्त्याउनु हुन्न । तर वास्तवमा यो समाज लयमा नभएर थुप्रै उतारचढावमा असन्तुलनमा चलेको हुन्छ । ती असन्तुलनहरूको प्रत्यक्ष मारमा जहिलेपनि भुँइको तप्का परिरहेको हुन्छ । जसको निम्ति परिवर्तन अनिवार्य आवश्यकता हुन्छ ।

मान्छेले परिवर्तन स्वीकार गरे पनि नगरेपनी परिवर्तन समाजको अनिवार्य सर्त नै हो त्यो त हुन्छ । परिवर्तनको रफ्तार कहिलेकाही थामिन सक्छ तर सधैँको निम्ति रोकिन सम्भव छैन । यस्तै विषय बस्तुको अतिरिक्त मेरा कवितामा एकाध प्रेम वियोग जस्ता मानवीय भावनाको झल्को पनि भेटिनेछ ।

प्रश्न पाँच : आजका पाठकहरूसँग किताबको विकल्पमा धेरै कुराहरू छन्, ती विकल्पबाट किताब पठनमा तान्ने गरि लेखकले के गर्नुपर्ला ? यो पुस्तकमा केके गर्नु भएको छ ?

प्रबिधिको उल्लेख्य विकासको कारण आजका पाठकसँग पुस्तकको अतिरिक्त थुप्रै बैकल्पिक माध्यमहरू छन् । यद्यपि, पुस्तक पठनको अनुभुति अलि बेग्लै हुनेगर्छ । मेरो सन्दर्भमा जति नै गुगल पिडिएफ पढेपनि पठनको प्यास तब मेटिन्छ जब म अक्षर अक्षरमा कोर्दै अन्डरलाइन लगाउदै पुस्तक पढ्न थाल्छु । अझ मैले त ईन्टरनेटमा भएका अत्यन्तै महत्त्वपूर्ण सामाग्री प्रिन्ट गरेर पढ्ने संग्रह गर्ने गरिरहेकी हुन्छु । यस्तै म जस्तै पुस्तकका पाठक पनि हुनुहुन्छ होला ।

आज पनि विश्वमा महत्त्वपूर्ण कन्टेन्टमा लेखिएका पुस्तकहरू पढिएकै छन् । पुस्तकालयहरू निर्माण भै रहेकै छन् । चलिरहेकै छन् । बरु अन्य माध्यममा भुलेको पाठकलाई तान्ने गरि पुस्तक लेखनमा ध्यान दिन जरुरी छ । लेखकहरू पुस्तक निर्माण गर्नुभन्दा पनि पुस्तकको विषय बस्तुको स्तरियतामा ध्यान दिएर उत्कृष्ट पुस्तक लेख्न सके ती पुस्तक अवश्य पढिन्छन् भन्ने लाग्छ ।

बरु समस्या त आजको नया पुस्तामा पठन संस्कृति नै कमजोर भै रहेको छ । आजको नयाँ पुस्ता टिकटकमा दुई मिनेटको भिडियोमा रमाइरहेको छ। त्यो मोहबाट तानेर पठन संस्कृतिमा प्रवेश गराउनु निकै चुनौतीपूर्ण र जटिल काम भएको छ। यसलाई ध्यानमा राख्दै पठन संस्कृतिको विकासमा गम्भीरतापूर्वक काम गर्नै पर्ने देखिन्छ । नयाँ पुस्तासम्न पुग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर