✍️ योगेन्द्र तिमिल्सिना

 

बिहानको आठ बज्नै लागेको थियो । अनुराधा मेडिकल खुल्ने तरखरमा थियो । रातभर पानी परेकोले विहान चिसो र धमिलो थियो । मेडिकलको ढोका खोलेर बाहिरपट्टि ज्ञानु सफाइको काम गर्दै थिइन् । मेडिकलसँग जोडिएको अगाडिको सडकमा मोटरसाइकलहरू बेतोडले हुइँकिन थालिसकेका थिए । बस, कार, र मोटरसाइकलको चर्को हर्नले वातावरण निकै प्रदूषित भैरहेको थियो । पैदल यात्रीलाई बाटो काट्न सकस थियो । यस्तै समयमा एकजना बाइस/पच्चीसकी युवती मेडिकलको ढोकामा आएर ज्ञानुलाई सोधिन्, अनुराधा दिदी हुनुहुन्छ ?

ज्ञानुले भनिन्, हुनुहुन्छ, भित्र आएर एकछिन बस्नुहोस् । ती महिला भित्र पसेर बेञ्चमा बसिन् । अनुराधा दिदी माथिल्लो तल्लामा बस्दिरहिछन् । केही बेर पर्खेपछि उनी तल झरिन् र बाहिर निस्किन् । अनुराधालाई देख्ने बित्तिकै ती महिला जुरुक्क उठिन् र उनीतिर फर्केर भनिन्, दिदी, म सुई दिन आएकी । उनले गर्भ निरोधक इन्जेक्सनको कुरा गरेकी थिइन् ।

अनुराधाले भनिन्, स्वास्थ्य परीक्षण नगरी यस्तो सुई दिनु हुँदैन । भरे बेलुका डाक्टरको पालो छ, तपाईं आउनु होस् र डाक्टर साहबले जे सल्लाह दिनु हुन्छ, त्यसै गरौँला, हुन्न बैनी ?

मेडिकल बाहिरपट्टि सडक छेउमा एकजना अट्ठाइस–तीस वर्षको पुरुष उनलाई पर्खेर बसिरहेको रहेछ । त्यस पुरुषलाई भेट्न उनी बाहिर निस्किइन् । उनले त्यस पुरुषलाई आफु नजिकै आउन संकेत गरिन् । उ नजिकै आएपछि साउती गरेझैँ उनले कानमा केही कुरा भनिन् । त्यस पुरुषले पनि उनलाई विस्तारै केही कुरा भन्यो । त्यसपछि ती महिला फर्केर फेरि अनुराधा दिदीतर्फ आइन् । उनले सुई दिन अनुराधा दिदीलाई कर गरिरहिन् । उनले ज्यादै कर गरेपछि अनुराधाले उनलाई सम्झाउने प्रयास गरिन् ।

फेरि ती महिलाले भनिन्, त्यसो भए चक्की खान दिनुहोस् न त ।
अनुराधाले सोधिन्, तपाईं पर सरेको कति दिन भयो ?
उनले भनिन्, वेला हुन लागेको छ । एक दुई दिन बाँकी छ ।
ए त्यसो भए पर सरेको चार दिनपछि आउनुहोस् ।

अनुराधाले फेरि दोहोर्याइन्, पिल्सले महिलाहरूको स्वास्थ्यमा विभिन्न प्रकारले नकारात्मक असर पुर्याउँछ । पिल्स प्रयोग गर्नु भनेको महिलाको प्राकृतिक नियमको प्रतिकूल हो । यसले गर्भाधान गराउन सक्ने महिलाहरूको स्वाभाविक प्रक्रियालाई निषेध गर्ने हार्मोन पैदा गराउँछ । त्यसैले यसको प्रयोग गर्दा होसियारी अपनाउनु पर्दछ ।

सबै महिलाहरूलाई एउटै खालको गर्भ निरोधक औषधी उपयुक्त नहुन सक्छ । औषधी मिलेन भने महिलाको मासिक चक्र अनियमित हुन्छ । अल्छि लाग्न सक्छ । रक्तस्राव हुन सक्छ । कसै कसैलाई वाकवाकी लाग्न थाल्छ । मनमा दिग्दारी बढ्छ । छाती दुख्न थाल्छ आदि आदि । त्यसैले स्वास्थ्य परीक्षण गरेर मात्र औषधी खानु पर्दछ ।

आफुले भनेका केही कुरा पनि अनुराधाले नमानेपछि उनले भनिन्, उहाँ बाहिर काम गर्नुहुन्छ, विदामा आउनु भएको छ, भोलि बिहानै जानुहुन्छ । त्यसकारण पो गर्भ रोक्ने औषधी आवश्यक परेको हो।

अनुराधाले भनिन्, त्यसो भए उहाँलाई आज कन्डोम प्रयोग गर्न भन्नुहोस् । त्यसो गरेमा केही समस्या पर्दैन । परिवार नियोजनका अरु साधन प्रयोग गर्नु अघि स्वास्थ्य परीक्षण गराउनै पर्ने हुन्छ । त्यसपछि ती महिलाले जोड गरिनन्, आफ्नो चित्त नबुझेको भाव प्रकट गरी केही नभनी मेडिकलबाट उनी फर्किन् ।

उनीहरू दुबैको सम्बन्ध अन्यथा नभई पति र पत्नीको नै रहेछ । उनीहरु घर फर्के । अनुराधा दिदीले दिएको सल्लाह अनुसारनै सम्पर्क राखौं भनी श्रीमतीले गरेको अनुरोध श्रीमान्ले मानेनन् । उनले आफुलाई सन्तुष्टी नहुने तर्क राखे । आखिर ती महिलाको केही जोड चलेन ।

भोलिपल्ट विहानै उनका पति घरबाट बस यात्राको एक बिसाउनी पछि दुई दिनको पैदल बाटो हिंड्नु पर्ने टाढाको जिल्लाको आफ्नो कार्यस्थलतर्फ लागे । वास्तवमा उनी प्रहरी जवान भएको हुँदा तुरुन्तै उनले विदा पाउने अवस्था हुन्नथ्यो । घरमा ससाना दुइटा केटाकेटी थिए । उनको निम्न आयस्तरकोे जागिरबाट ती केटाकेटी हुर्काउन र पढाउन नै सकस थियो ती प्रहरी जवान दम्पतीलाई ।

त्यसैले आकस्मिक गर्भाधानबाट सावधान रहनका लागि उनीहरू गर्भ निरोधक उपचारको निम्ति अनुराधा मेडिकल पुगेका थिए । आफ्नो कमजोर आर्थिक अवस्थाले गर्दा डाक्टरको परीक्षण शुल्क बचाउने लोभले पनि तुरुन्तै स्वास्थ्य परीक्षण गराउन उनीहरु राजी भएका थिएनन् ।

आफ्नो पति घरबाट बिदा भएको दुई चार दिनमा नै उनी पर सर्नु पर्ने थियो, तर एक महिना बितिसक्दा पनि उनी पर सरिनन् । फेरि हतारिंदै ती महिला अनुराधा मेडिकल पुगिन् । अनुराधा दिदीले ती महिलालाई एउटा खालि सिसी दिँदै मेडिकलमा पिसाव जचाउँन ल्याउनु भनी सल्लाह दिइन् ।

भोलिपल्ट विहान सिसीमा पिसाब लिएर उनी आइन् र त्यो सिसी मेडिकलमा दिइन् । त्यहाँ उनको नाम लेख्नुपर्ने भयो । उनको नाम जसोदा सोलाङकी र उमेर २४ वर्ष रहेछ । त्यसको रिपोर्ट लिन जसोदा भोलिपल्ट आइन् । उनको पिसाबको परीक्षणबाट उनी गर्भवती भएको देखियो ।

अब उनलाई एकप्रकारको मानसिक तनाव भयो । जसोदाले आफ्नो सबै कथा अनुराधालाई सुनाइन र ससाना बच्चाहरू भएकाले गर्भ पतन गराउने सल्लाह अनुराधासँग मागिन् । अनुराधाले उनलाई श्रीमानसँग सल्लाह गरेर सँगै आउनु पर्छ भनिन् । उनी खिन्न भएर घर फर्किइन् । एक दिनको श्रीमानको गल्तीले यस्तो समस्या भयो भन्ने लाग्यो उनलाई ।

उनले श्रीमानलाई फोन गरेर खबर गरिन् र विदा मिलाएर आउनु भनिन् । श्रीमानले भने, “ड्युटी छोड्न अहिले मिल्दैन, अब दशैँ लागेपछि जसरी भए पनि विदा मिलाएर आउँला । अहिले विदा मिल्दैन । दशैँसम्म त अझै चार÷पाँच महिना कुर्नु पर्ने थियो ।” जसोदा बडो अप्ठ्यारोमा परिन् । उनलाई लाग्यो, लोग्ने मानिसहरू किन यस्तो कुरामा गम्भीर हुन नसकेका होलान् । मेरो दुःख मात्र होइन, परिवारको सुख पनि त हेर्नुपर्ने हो ।

अनुराधा फेरि आशाको बोझ बोकेर अनुराधा मेडिकल पुगिन् । उनले आफ्ना सबै कुरा अनुराधा दिदीलाई भनिन् । दिदी म साह्रै आत्तिएकी छु, श्रीमान् कहिले आउने हुन्न पक्का छैन, आशा गरेर बसिरहुँ भने काम बिग्रन सक्छ, के गर्ने होला, कसो गर्ने होला ?

अनुराधाले भनिन्, आत्तिनु पर्दैन बैनी, गर्भ पतन गराउन सकिन्छ, तर जति छिटो गराउन सकिन्छ त्यति राम्रो र सुरक्षित हुन्छ । तिम्रा श्रीमान् एकपटक आए, धेरै राम्रो हुने थियो । सरकारी अस्पतालहरूमा गर्भपतन निःशुल्क हुन्छ, तर औषधीहरू किन्नुपर्ने अवस्थामा केही रकम पनि आवश्यक पर्न सक्छ । त्यसमा पनि धन्दा नमान त्यस्तै परे आवश्यक रकम म आफैँ हालिदिउँला, तिम्रा श्रीमान् आएपछि मलाई दिए हुन्छ ।

जसोदाले जिज्ञासा राखिन्, कहाँ जानु पर्छ दिदी गर्भपतन गराउन ? सरकारी अस्पतालमा जहाँ गए पनि हुन्छ । हामी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली जाउँला नि, म तिमीलाई सँगै लिएर जाउँला अनि सँगै लिएर आउँला ।

कहिले गरौँ त दिदी यो काम ?
बाह्र हप्ताभित्र गर्दा गर्भपतन सुरक्षित हुन्छ, तर त्यति पर किन जाने, हामी चार, पाँच हप्ताभित्रै जाउँन, हुन्न ? अनुराधासँग यति कुरा भएपछि त्यस दिन जसोदा घर फर्किन् । घरमा जम्मा चार जनाको परिवार थियो, ४ वर्ष पुगेकी छोरी र २ वर्षको छोरा थिए, अरु कोही पनि थिएन । छोरी नजिकैको स्कूल जान थालेकी थिई । ओरिपरि छिमेकीहरू त्यति गतिला थिएनन् ।

छिमेकका बुढाबुढीहरू यस्तो कर्म गर्नु अपराध हो भन्ने खालका थिए । उनीहरूलाई यो कुरा सुनाउनै भएन । उनीहरूलाई भनी हाल्यो भने उनीहरूले अनेक अनर्गल प्रचार नगर्लान् भन्न सकिन्न । त्यसकारण अस्पताल जाने दिन निश्चित भएपछि आफ्नै दिदी मंगलीलाई सुटुक्क बोलाउने र आवश्यक परे एक दुई दिन घरमा नानीहरूको रेखदेख गर्न अनुरोध गर्ने विचार गरिन् ।

जसोदाका भिनाजु निजी सुरक्षा गार्ड खटाउने कम्पनीमा काम गर्थे । उनी सज्जन मानिस थिए, उनले यस्ता कुराहरु बुझेका थिए । जसोदा दिदीका घर गइन् र सबै बेलिविस्तार लाइन् । मंगलीले खुशीसाथ त्यस कुराको स्वीकृति दिइन् ।

जसोदा फेरि अनुराधा दिदीकहाँ गइन् र गर्भपतनको मिति तय गरी घर फर्किन् । घर पुगेपछि आफ्नो भविष्य सफल भएको अनुभूत गरी खुशीले गदगद् हुँदै उनले दुइटा छोरा र छोरीलाई दुईतिर काखमा राखी बेस्मारी सुम्सुम्याइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर